detail-img

महिलाहरू अब सुखी, समृद्ध र सुरक्षित समाज निर्माणका लागि अगाडि बढ्नुपर्छः अध्यक्ष ओली 

१६ जेठ (२०८१), काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब महिलाहरू देश बनाउन तथा भेदभाव र पक्षपातरहित समाज निर्माणका लागि जागरुक भई मैदानमा उत्रनुपर्ने बताउनुभएको छ । 
नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रद्वारा आज यहाँ आयोजित दुई दिने राष्ट्रिय महिला भेलाको उद्घाटन समारोहमा  सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै पनि हिसावले भेदभाव र पक्षपात नभएको समाज निर्माणका लागि महिलालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले महिला अधिकारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि त्यत्तिमा सन्तुष्ट हुने अवस्था नरहेको भन्दै सबै नेपाली सुखी, समृद्ध, सुरक्षित र सम्मानित हुने समाज निर्माणका लागि लाग्नुपर्ने बताउनुभयो । 
उहाँले जेठ १६ महिला अधिकारका दृष्टिले महत्वपूर्ण उपलब्धि हासिल गरेको दिन भएकाले राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउने गरिएको बताउँदै २०६३ जेठ १६ गते प्रतिनिधि सभाबाट पारित महिला अधिकारसम्बन्धी चार बुँदे सङ्कल्प प्रस्तावले भविष्य कता जाने भन्ने पनि दिशा निर्देश गरेको बताउनुभयो । 
अध्यक्ष ओलीले एमालेलाई ध्वस्त बनाउन खोजिएको बेलामा महिला र युवाहरू पार्टीको झण्डा बोकेर अग्रमोर्चामा उत्रिएको विगत स्मरण गर्दै पार्टीलाई बचाउन महिला, युवा र नयाँ पिंढीको असाधारण भूमिका रहेको बताउनुभयो । 
नेकपा (एमाले) निर्णायक राष्ट्रिय शक्ति नबन्दासम्म यो जागरुकता, सजगता र सक्रियतालाई निरन्तरता दिन आग्रह गर्दै अध्यक्ष ओलीले भन्नुभयो– तपाईंहरूको सक्रियता, वैचारिक स्पष्टता र दृढ अडानलाई म सलाम भन्न चाहन्छु, सम्मान गर्न चाहन्छु । 
नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरेपछि कसैले पराजित गर्न नसक्ने र एमाले नेपालको राष्ट्रिय स्वाभिमानको झण्डालाई माथि उठाएर समाजमा सुशासन दिँदै विकासलाई गति दिन सक्षम हुने विश्वास अध्यक्ष ओलीले व्यक्त गर्नुभयो । 
उहाँले एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नेहरू नै आज टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो ।   
नेपालमा महिला सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि प्राप्त भएको बताउँदै अध्यक्ष ओलीले कुन अवस्था पार गरेर हामी अहिलेको अवस्थामा आयौं भन्ने थाहा नहुनेहरूले ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन’ भन्ने गरेको बताउनुभयो । 
सामाजिक न्याय र समानताको आन्दोलनमा नेकपा (एमाले)ले नेतृत्व गर्दै आएको बताउँदै अध्यक्ष ओलीले महिला अधिकारको आन्दोलन महिलाको मात्र नभई पुरुष र सिङ्गो समाजको आन्दोलन भएकोमा जोड दिनुभयो । 
‘सबै क्षेत्रमा महिला सहभागिताबाट खुशी छौं तर सन्तुष्ट र सुखी भएका छैनौं’ चर्चा गर्दै उहाँले भन्नुभयो– हाम्रा आकाङ्क्षाहरू पूरा भइसकेका छैनन् त्यसैले उपलब्धिबाट सन्तुष्ट भइसकेका छैनौं, पूर्ण सन्तुष्ट हुनका लागि अनवरत गन्तव्यमा लागिरहने छौं ।  
अध्यक्ष ओलीले साना–साना सहकारीको  प्रवर्द्धन र उद्यमशीलताको विकास गर्दै समृद्धिमा अगाडि बढ्न भेलामा सहभागी महिला नेतृहरूलाई आग्रह गर्नुभयो । उहाँले हरेक महिलाले केही न केही नयाँ उत्पादन गरेमा नेपालीहरू स्वावलम्बी बन्न सक्ने बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– लगानी धेरै नगरेर पनि उद्यमशीलता बढाउन सकिन्छ । महिला आन्दोलनको एउटा अभिष्ट यो पनि हो । उहाँले नियममा बस्ने सहकारीमा कुनै समस्या नभएको र ठगहरू प्रवेश गरेका केही ठूला सहकारी सङ्कटग्रस्त भएको बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– अहिले सहकारीमा गैर सहकारीवालाहरू, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी बदनाम भएका छन् । समस्याग्रस्त,सङ्कटग्रस्त छन् तर, साच्चैका सहकारीहरू सङ्कटग्रस्त हुँदैनन्, छैनन् । सरकारीको नियम पालना गरेर अगाडि बढ्नुपर्छ, कुनै समस्या हुँदैन ।
राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर आयोजना गरिएको राष्ट्रिय महिला भेलाको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । 
भेलालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिला आन्दोलनले महिला अधिकारका क्षेत्रका धेरै उपलब्धि हासिल गरेको चर्चा गर्दै कतिपय विषयहरू कार्यान्वयनमा अझै कमजोरी रहेको बताउनुभयो । 
उहाँले महिला अधिकारका लागि योगदान गर्नुभएका अग्रजहरूप्रति सम्मान प्रकट गर्नुभयो । 
उद्घाटन समारोहमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले स्वागत मन्तव्य राख्नुका साथै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।
अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्रा हमालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कार्यपत्र तयारी समितिका संयोजक विद्या भट्टराईले भेलामा छलफल गरिने ‘महिला आन्दोलनका उपलब्धि र भावी दिशा’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
पार्टीका केन्द्रीय सदस्य रचना खड्काले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । उहाँले भेलाको दोस्रो दिन भोलि महिला अधिकार, कार्यान्वयनको अवस्था, भावी दिशा र समसामयिक विषयहरू जलबायु परिवर्तन, आप्रवासन, बसाइँसराइ लगायतका समस्या समेटेर तयार गरिएका प्रश्नावलीका आधारमा समूहगत छलफल हुने बताउनुभयो । 
भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधिको सहभागिता रहेको छ ।