-समृद्धि, समानता र शान्ति सुव्यवस्थाको स्थापनाका लागि दृढ प्रतिबद्धता व्यक्त
-लोकतन्त्रको रक्षाका लागि निरन्तर लागिरहने
-हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्ने
२ कात्तिक (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा समृद्धि, समानता र शान्ति सुव्यवस्थाको स्थापनाका लागि आफू दृढ प्रतिबद्ध रहेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– देशमा समृद्धि ल्याइनुपर्छ, समानता ल्याइनुपर्छ, शान्ति सुव्यवस्था विश्वसनीय ढङ्गले स्थापना हुनुपर्छ, हरेक व्यक्तिले आफ्नो जिउधन, अधिकार र सम्पत्तिको प्रत्याभूति पाउनुपर्छ ।
अध्यक्ष ओलीले समाजमा प्रत्येक नागरिकले आत्मसम्मानसहित बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताउनुभयो । आफ्ना मूल्य र मान्यता, देश, जनता र मानव जातिप्रति आफू निष्ठासाथ अडिग रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले आफ्नो प्रधानमन्त्री कार्यकालमा प्रेस स्वतन्त्रता कुण्ठित नभएको बताउँदै भन्नुभयो– मैले प्रधानमन्त्री हुँदा पत्रकारले डराएर लेख लेख्नुपर्ने अवस्था थिएन । आत्मसेन्सर गर्ने, आफैंलाई रिस्टिक्ट गर्नुपर्ने अवस्था थिएन ।
‘देश विकासको दिशामा अघि बढिरहेको अवस्थाबाट अहिले अस्थिरतातर्फ गएको छ’, अध्यक्ष ओलीले भन्नुभयो– देश सार्वभौमसत्ता जगेर्ना गर्दै अगाडि बढिरहेको थियो, त्यो अहिले भताभुङ्ग भएको छ ।
आफ्नो बफादारी कसैलाई मन नपरे पनि राष्ट्र, जनता र मानवताप्रतिको प्रतिबद्धता नछोड्ने उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– मेरो बफादारिता कसैलाई मन नपरे पनि देशप्रति मेरो बफादारिता छ । यस देशको जनताप्रति मेरो बफादारिता छ, मानव जातिप्रति मेरो बफादारिता छ, त्यसकारण अघि मैले भनेका मूल्यमान्यताहरू मेरा निष्ठाका विषय हुन् ।
अध्यक्ष ओलीले जतिसुकै जोखिम भए पनि सत्य बोल्ने आफ्नो बानी रहेको स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– ज्यान जोखिममा राखेर असत्यको विरोध गरेको छु, मेरो सिद्धान्त, नीति अहिले पनि बदलिएको छैन, अहिले पनि त्यसैमा छु ।
जेनजीहरूले भ्रष्टाचारको अन्त्य, सुशासन कायम र रोकिएका सामाजिक सञ्जाल खुला गर्नुपर्ने माग मात्रै राखेर आन्दोलनमा आएको उहाँले बताउनुभयो ।
जेनजीहरूले प्रधानमन्त्रीको राजीनामाको माग नै नराखेको र आफूले सरकारमा रहेको समयमा जेनजीले उठाएका माग सफल बनाउनका लागि लडिरहेको अध्यक्ष ओलीले स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– जेनजीका माग राष्ट्रिय हितसँग मेल खाने र सुधारको दिशामा उन्मुख थिए । उनीहरूले प्रधानमन्त्रीको राजीनामा मागेका थिएनन्, म तिनै तीन कुराका लागि लडिरहेको थिएँ ।
पूर्व प्रधानमन्त्री ओलीले आफू सामाजिक सञ्जाल बन्द गर्ने नभई उत्तरदायी रूपमा सञ्चालन गर्नुपर्ने पक्षमा रहेको दोहोर्याउनुभयो ।
उहाँले आफूले कुनै अहंकार देखाएको नभई सत्य बोलेको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– यो अहंकारको कुरा होइन, सत्य बोल्ने मेरो बानी हो ।
एक अर्को प्रसङ्गमा अध्यक्ष ओलीले सरकारले बनाएको छानबिन समितिमा बयानका लागि नजाने बताउनुभयो ।
अन्तरक्रियामा सम्पादकहरूले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले आफू सरकारले बनाएको गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिमा बयानका लागि नजाने बताउनुभयो ।
अध्यक्ष ओलीले आफू लोकतन्त्रका लागि विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दै लोकतन्त्रको रक्षाका लागि निरन्तर लागिरहने समेत बताउनुभयो ।