detail-img

भौतिक संचरना खरानी भए पनि इच्छाशक्ति मरेको छैन, कहिल्यै मर्ने छैनः बरिष्ठ उपाध्यक्ष पोखरेल

३ असोज (२०८२), काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती सामना गरेर एमाले  अगाडि बढ्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी केन्द्रीय कार्यालय डढेर खरानी भए पनि पार्टीका नेताकार्यकर्ताको इच्छाशक्ति नमरेको बताउनुभयो । ‘यो चुनौती देखेर आत्तिनु र हताश हुनुपर्दैन । यो चुनौती सामना गरेर नेकपा (एमाले) फेरि अगाडि बढ्छ’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– हाम्रो कार्यालय डढेर खरानी भयो तर हाम्रो इच्छाशक्ति मरेको छैन । हाम्रो इच्छाशक्ति कहिले मर्ने छैन ।
उहाँले एउटा दुर्भाग्यपूर्ण घटना मुलुकले व्यहोर्नु परेकोमा दुःख व्यक्त गर्नुभयो । एमालेका नेतादेखि कार्यकर्तासम्म कहिले पनि विचलित नहुने दृढता उहाँले व्यक्त गर्नुभयो ।
संविधान कसैले दान गरेर दिएको उपहार नभएर नेपाली जनताले वर्षौं सङ्घर्षपश्चात पाएको उपलब्धि भएको समेत वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । संविधान दिवस मुलुकलाई नयाँ उचाइमा पुर्याउन नेपालीले गरेको सङ्कल्पको दिवस भएको भनाइ उहाँले राख्नुभयो ।

गणतन्त्र कमजोर बनाउने गरी भइरहेका चलखेलप्रति सचेत हुनु जरूरीः उपाध्यक्ष शाक्य 

कार्यक्रमको अध्यक्षता गर्नुहुँदै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले देश रोइरहेको भन्दै गणतन्त्रलाई कमजोर बनाउने गरी अहिले पनि चलखेल भइरहेकाले सचेत हुन जरूरी रहेको बताउनुभयो । 
उपाध्यक्ष शाक्यले जेनजी आन्दोलनमा स्वार्थी तत्वहरूको घुसपैठका कारण युवाहरूले ज्यान गुमाउनु परेको बताउनुभयो ।
‘शोकलाई शक्तिमा बदल्न नयाँ ढङ्गले अघि बढ्नुपर्छ । निराश हुनुपर्ने छैन, निदान छ, हामीसँग लक्ष्य बोकेको संविधान छ’, उपाध्यक्ष शाक्यले भन्नुभयो– निर्वाचित प्रतिनिधि सभा अत्तालिएर विघटन गर्न पुगियो भन्ने लागिरहेको छ । संविधान अपरिवर्तनीय होइन, यसमार्फत नयाँ नेपाल निर्माण गर्नुपर्छ ।
‘गणतन्त्रलाई अहिले पनि कमजोर बनाउन चलखेल भइरहेको छ । इतिहास कसरी कोर्ने हो ? त्यसमा पनि छलफल गर्नुपर्छ । इतिहासको पानालाई गर्व गर्नसक्नेगरी इतिहास थप्ने हो’, उपाध्यक्ष शाक्यले भन्नुभयो– संयम हुन जरूरी छ । सबै राजनीतिक दलहरूले नयाँ सोचका साथ राम्रा कामको आत्मसात गर्दै कमीकमजोरी सच्चाएर अघि बढ्नैपर्छ ।

 दलहरूलाई कमजोर बनाएर वा निषेध गरेर लोकतन्त्र अघि बढ्न सक्दैनः महासचिव पोखरेल
महासचिव शङ्कर पोखरेलले बलिदान गरेर आएका राजनीतिक दलहरूलाई निषेध गर्ने कुरा स्वीकार्य हुन नसकिने बताउनुभयो ।
उहाँले राजनीतिक दलहरूलाई कमजोर बनाएर वा निषेध गरेर लोकतन्त्र अघि बढ्न नसक्ने बताउनुभयो । कुनै राजनीतिक दलका नीतिहरू मन परेनन् भने नयाँ राजनीतिक दल खोल्न सकिने भन्दै महासचिव पोखरेलले नीतिमा प्रतिष्पर्धा लोकतन्त्रको विशेषता भएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो– लोकतन्त्रमा राजनीतिक दलहरूलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न सक्दैन । कुनै राजनीतिक दलका नीतिहरू मन परेनन् भने नयाँ राजनीतिक दलहरू खोल्न मिल्छ । जुन राजनीतिक दलहरू नेतृत्वमा छन्, उनीहरूले नै एकाधिकार प्राप्त गर्दछन् भन्नेकुरा संविधानको मान्यता पनि होइन, हाम्रो कसैको आग्रह पनि होइन । नीतिमा प्रतिष्पर्धा लोकतन्त्रको विशेषता हो ।
महासचिव पोखरेलले नव युवाहरूको आन्दोलनका नाममा मिसाउन खोजिएको षड्यन्त्रले लोकतन्त्रलाई कमजोर पार्ने काम भएको बताउनुभयो ।