detail-img

महासचिव पोखरेलद्वारा देशैभरि क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माण थाल्न अपिल 

३० भदौ (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशैभरि क्षतिग्रस्त भएका पार्टी कार्यालयहरूको पुनर्निर्माण सुरु गर्न कार्यकर्ताहरूलाई अपिल गर्नुभएको छ । जेनजीको आन्दोलनका क्रममा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि महासचिव पोखरेलले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणका लागि योगदान गर्न पनि पार्टी पङ्क्तीलाई निर्देशन दिनुभएको हो । 
महासचिव पोखरेलले असोज ३ गते खरानीको थुप्रोबाट नै संविधान दिवस मनाउन सबैलाई निर्देशन दिनुभयो । ‘लामो सङ्घर्षबाट २०७२ साल असोज ३ गते वर्तमान संविधान प्राप्त भएको हुँदा असोज ३ गते संविधान दिवस हामी एमालेले खरानीकै थुप्रोबाट मनाउने छौं । सबै जिल्लाले यो कार्यक्रम गर्नुहुनेछ । काठमाडौं उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्राङ्गणमा हुनेछ’, उहाँले सधैं सडकबाट निर्णय नहुने भएकाले सडकबाट प्राप्त गरेका उपलब्धिलाई संविधानमा संस्थागत गर्नुपर्ने बताउनुभयो । 
वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र सुशासनका कदम अघि बढाउँदा एमालेले सहयोग गर्ने महासचिव पोखरेलले बताउनुभयो । यो सरकार अन्तरिम भएकाले यसको मुल काम सुरक्षाको वातावरण बनाउने र समयमा नै निर्वाचन गराउनेमा ध्यान जाने छ भन्नेमा आफ्नो विश्वास रहेको उहाँले बताउनुभयो ।  महासचिव पोखरेलले भन्नुभयो– नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर, जनताका बीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गरेका छन् भन्ने हामी ठान्दछौं ।