नयाँ वर्ष सन् २०२२ को शुभकामना

सेयर गर्नुहोस्

आजदेखि सुरु भएको नयाँ वर्ष सन् २०२२ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

ग्रेगोरियन क्यालेण्डर अर्थात् इस्वी सम्बत्को पात्रो अनुसार प्रत्येक वर्षको जनवारी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइने गरिन्छ । बैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्बत्लाई हामी अन्तर्राष्ट्रिय नयाँ वर्षका रुपमा मनाउँछौं ।

वितेका केही वर्षदेखि विकास र समृद्धिको यात्रातर्फ मुलुक अघि बढिरहेको थियो । भर्खरै विदा भएको सन् २०२१ मा केही शक्तिहरुले मुलुकको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुपमा अल्मल्याउने काम गरे । मुलुकलाई अस्थिरताको दुष्चक्रबाट बाहिर निकालेर विकासको असाधारण अभियानतर्फ अगाडि बढाइरहेको नेकपा (एमाले)को सरकारलाई संविधानको अपब्याख्याद्वारा हटाउँदै संवैधानिक विचलन, अराजकता र सत्ताको अनुचित भागबण्डाको विकृतिपूर्ण अवस्थामा धकेल्ने काम भए । यसैवर्ष जनमतद्वारा राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासलाई अवरोध गर्दै नेकपा (एमाले)लाई जालझेलपूर्ण तवरले सरकारबाट हटाइएपछि राष्ट्रका गौरवपूर्ण उपलब्धिलाई समस्याका रुपमा देख्ने र राष्ट्रको स्वाधीनता तथा सार्वभौमसत्ताप्रति उदासीन रहने अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्ति देखिए ।

वितेको वर्षमा नेकपा (एमाले)को सरकारका ऐतिहासिक प्रयासले प्रमाणित गरेको छ– हामी मुलुकबाट गुमाइएको भूभाग फिर्ता गर्न प्रयासरत थियौँ र राजनीतिक प्रणालीभन्दा बाहिर रहेका शक्तिहरूमा संविधानप्रतिको स्वीकार्यता बढाउन सफलता प्राप्त गरिरहेका थियौँ । मुलुकलाई विकासको तीव्र गतिमा अघि बढाएर नवविनर्माणको नयाँ युगको थालनी गरिरहेका थियौँ । जनादेशद्वारा स्थापित हाम्रो नेतृत्वमा यस्ता युुगान्तकारी कामहरु भइरहेका बेला संविधानले परिभाषित गरेका राज्यका अंगहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या÷अपव्याख्याद्वारा यसमा अवरोध पुु¥याउने बिडम्बनापूर्ण अवस्था हामीले देख्यौँ र भोग्यौँ । यसले मुलुकको दूरगामी यात्रालाई अल्मल्याउने काम मात्र मात्र गरेन, संविधान र संवैधानिक संस्थाहरुप्रतिको जनताको आस्थामाथि समेत चोट लगाउन पुुग्यो । फलस्वरुप आज मुलुकको विकासका सम्पूर्ण कामहरुमा अल्पविराम लागेका छन् र केहीवर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको छ ।

विगत वर्षमा नेकपा (एमाले)ले सरकारमा रहेर निर्वाह गरेको भूमिकाका कारण हामीले नेपाललाई निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रुपमा स्थापित गर्न सफल भएका छौं । संयुक्त राष्ट्रसंघको विकास लक्ष्य अनुरुप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गाेत्थान गर्ने सफलतामा पु¥याएका छौं । भूकम्पले थिलथिल्याएका संरचनाहरु र अर्थतन्त्रलाई सफल पुनर्निर्माण गर्दै वितेका वर्षहरुमा हामीले मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाएका थियौैं ।

यातायात पूर्वाधार, पुल, रंगशाला, पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भयौं । त्यसका केही मूर्त प्रतिफलहरु आज हामी देखिरहेका छौं । हामीले यही अवधीमा विकासका केही दूरगामी योजनाहरु थालनी ग¥यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरु सम्पन्न ग¥यौं । आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रबृत्तिलाई नेकपा (एमाले)को सरकारले सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएको थियो ।

हामी हाम्रा देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर जनतामाझ गएका छौँ । नेकपा (एमाले)ले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा अघि सारेको छ । लोकतन्त्रको यही परिभाषालाई व्यवहारमा अनूदित गर्दै हाम्रो नेतृत्वको सरकारले राज्यसञ्चालन गरेका बेला जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउने काम अघि बढायो । हामीले थालनी गरेका दूरगामी महŒवका कामहरू बहुसङ्ख्यक जनताको दैनिक जीवनका साझा राष्ट्रिय उपलब्धिका रूपमा रहेका छन् । मुलुकको नवनिर्माणको यस अभियानलाई हामी अझ असाधारण र द्रुतगतिमा अघि बढाउन चाहन्छौँ ।

हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तब्यमा अघि बढिरहेका छौं । समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य छ । मुलुक निर्माणको प्रथमिकताबाट बिमूख ब्यक्ति र समुहहरुका निजी दुराकाङ्क्षाहरुले सिर्जना गरेका अवरोधहरुलाई छिचोल्दै राष्ट्रको यस साझा आकाङ्क्षा पूरा गर्ने बाटोमा नेकपा (एमाले) अविचलित निष्ठासाथ अघि बढिरहेको छ । अनुचित दुष्प्रयासहरुले अवरोध पु¥याएर थाती रहन पुगेका राष्ट्रिय समृद्धिका यी पाइलाहरुलाई उचाईमा पु¥याउने नेकपा (एमाले)को यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइहरुको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।

अन्त्यमा, नयाँ वर्ष सन् २०२२ को अवसरमा स्वदेश र विदेशमा रहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताका लागि पुनः हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

केपी शर्मा ओली
अध्यक्ष

हामीसँग जोडिनुहोस्