स्थानीय निर्वाचन २०५४

पहिलो स्थानीय निर्वाचनका पदाधिकारीहरूको २०५४ मा अवधि सकिएपछि दोस्रो स्थानीय निर्वाचन २०५४ जेठ ४ र १३ गते गरी दुुई चरणमा सम्पन्न भएको थियो । यस निर्वाचनमा १ करोड २५ लाख ३८ हजार २ सय ७२ मतदाताले मतदानमा भाग लिएका थिए । जम्मा २,९१२ गाउँ विकास समिति, १ महानगर, ३ उपमहानगर र ५४ नगरपालिकाका लागि गरिएको निर्वाचनबाट १ लाख ८८ हजार १० जना जनप्रतिनिधिहरू निर्वाचित भएका थिए ।

निर्वाचन परिणाम

यस निर्वाचनमा नेकपा (एमाले)ले ठूलो सफलता हासिल ग¥यो । प्रथम चरणको निर्वाचनमा पश्चिमका माओवादी प्रभावित ४० गाविस पूरै र २० गाविसका केही स्थानमा मतदान हुन सकेन भने १६० स्थानमा मतदान स्थगित भएको थियो ।

पहिलो चरणकै निर्वाचनमा ९६,१६६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । निर्वाचनका क्रममा विभिन्न स्थानमा झडपहरू भएका थिए । कास्कीमा नेपाली कांग्रेसका कार्यकर्ताद्वारा कृष्णबहादुर भुजेलको हत्यासमेत भएको थियो । पार्टीहरूका बीचका मुठभेड र विभिन्न ठाउँमा प्रहरीसँगका झडपहरूमा दर्जनौं कार्यकर्ताहरू घाइते भएका थिए ।

पहिलो चरणको निर्वाचनमा १ महानगर र २३ नगरपालिकाका १८ प्रमुख, १९ उपप्रमुख नेकपा (एमाले) उम्मेदवारले जित्यो भने कांग्रेसले जम्मा ३ प्रमुख र ६ उपप्रमुख जितेको थियो ।

दोस्रो चरणको निर्वाचनमा ३४ मध्ये २२ नगरपालिकामा नेकपा (एमाले) विजयी भयो भने सबै गणना गर्दा नेकपा (एमाले)का १ लाख २८ हजार जनप्रतिनिधिहरूले विजयी हासिल गरे । यो संख्या कुलमध्ये ५० प्रतिशत हो ।