-देशलाई लोकतन्त्रको ट्रयाकमा फर्काउनका लागि देशैभरि आन्दोलनको उभार ल्याउनुपर्छ
-सुशीला कार्की लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री
-गृहमन्त्री राज्य चलाउन खोज्दैछन् कि अपराधीको संरक्षण गर्न ?
-पार्टीभित्र एकता चाहिएको बेला पुनर्गठनको बहस असान्दर्भिक
२३ असोज (२०८२), भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम संसद पुनर्स्थापना भएको बताउनुभएको छ ।
नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीद्वारा आज गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद पुनस्र्थापनाका लागि देशैभरि आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
‘लुटपाटबाट, विध्वंसबाट संसद विघटन गरिएको छ । लोकतन्त्रलाई ट्रयाकआउट गरिएको छ’, अध्यक्ष ओलीले भन्नुभयो– त्यसैले संसद पुनस्र्थापना गरेर देशलाई लोकतन्त्रको ट्रयाकमा फर्काउनु पर्दछ । यसका लागि देशैभरि आन्दोलनको उभार ल्याउनु पर्दछ ।
संसद पुनस्र्थापनामा नेपाली कांग्रेस र अन्य दलले पनि निर्णय गरेर अघि बढ्ने आफूले अपेक्षा गरेको उहाँले बताउनुभयो ।
यो सरकारको चुनाव गराउने कुनै एजेण्डा नभएको र सुशीला कार्की लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री भएकाले उनीबाट लोकतन्त्रको रक्षाको कुनै सम्भावना नरहेको अध्यक्ष ओलीले बताउनुभयो ।
कतिपयले फागुन २१ मा निर्वाचन भएन भने मात्र संसद पुनस्र्थापनाको पक्षमा लाग्ने भन्ने गरेकोमा अध्यक्ष ओलीले त्यति लामो समयसम्म देशलाई गैह्र लोकतान्त्रिक तरिकाले अघि बढाउन नहुने भएकाले तत्काल संसद पुनस्र्थापनाको लागि दबाब बढाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री हुने बित्तिकै संसद भङ्ग गर्न पाउनुपर्दछ भन्ने माग राखेर कार्की प्रधानमन्त्री भएकीले उहाँको नियतमै खोट रहेको भनाइ उहाँले राख्नुभयो ।
‘वर्तमान सरकारबाट लोकतन्त्रको रक्षा ? यो हुनै सक्दैन’ अध्यक्ष ओलीले भन्नुभयो– जो संसद विघटन र लोकतन्त्रको जग भत्काउन भनेर प्रधानमन्त्री भयो उहाँबाट लोकतन्त्रको रक्षा हुने कुरा कल्पना गर्नु हुदैन ।
वर्तमान सरकार सडकमा तमासा देखाउन उद्यत रहेको बताउँदै कहिले केपी ओलीलाई पक्राउ गर्न राती ३ बजेसम्म बैठक गर्ने, कहिले केपी ओलीको पासपोर्ट रोक्ने अनि कहिले केपी ओलीलाई उपत्यका बाहिर जान नदिने यस्तो तमासा नगर्न सरकारलाई उहाँले चुनौती दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– यस्ता सडक तमासाले डराउने मान्छे होइन केपी ओली । सुशीला कार्कीको डरले भाग्छ केपी ओली ?
उहाँले गृहमन्त्रीलाई उत्ताउलो नहुन चेतावनी दिंदै देश चलाउने कुरा हाँसी मजाक नभएको बताउनुभयो ।
महासचिव पोखरेलको प्रश्न– गृहमन्त्री राज्य चलाउन खोज्दैछन् कि अपराधीको संरक्षण गर्न ?
कार्यक्रममा महासचिव शंकर पोखरेलले वर्तमान गृहमन्त्रीले राज्य चलाउन खोजेको कि अपराधीको संरक्षण गर्न भन्ने स्पष्ट नभएको बताउनुभयो ।
उहाँले गृहमन्त्रीले प्रतिशोधको राजनीति गरेको र अपराधीको पक्षमा ढाल बनेर उभिएको बताउनुभयो ।
‘अहिलेका गृहमन्त्री राज्यको नेतृत्व गर्दैछन् कि आपराधिक समूहको संरक्षण ?’ महासचिव पोखरेलले भन्नुभयो– गृहमन्त्री जेलबाट भागेका अपराधी पक्राउ गर्न रोक्छन् । लुटपाट र हत्यामा संलग्नलाई संरक्षण गर्दछन् । यस्ता व्यक्तिबाट कसरी देशको गृह मन्त्रालय सञ्चालन हुन्छ ? शान्ति सुरक्षा कसरी कायम हुन्छ ?
गृहमन्त्रीले प्रहरीको मनोबल उठाउने भन्दा गिराउने काम गरिरहेको भनाइ उहाँले राख्नुभयो ।
सुशीला कार्की संविधान विपरीत प्रधानमन्त्री नियुक्त भएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– मुलुकमा उत्पन्न परिस्थितिका कारण उहाँको नियुक्तिलाई हामीले मौनता साध्यौं तर उहाँ प्रतिशोधपूर्ण ढङ्गले अघि बढ्न खोज्नु भएको छ ।
वर्तमान सरकारको मुख्य कार्यभार निर्वाचन भएको उल्लेख गर्दै उहाँले देशमा सुरक्षाको प्रत्याभूति नदिलाई, प्रहरीको मनोबल नउठाई, लुटिएका हतियार फिर्ता नगराई, निष्पक्ष निर्वाचन हुन नसक्ने बताउनुभयो ।
‘सरकार दलहरूसँग संवाद, छलफल नगरी निर्वाचनको नाटक गर्दैछ’ महासचिव पोखरेलले भन्नुुभयो– असोज १८ पछि ज्ञानेन्द्रले पनि यस्तै चुनावको नाटक मञ्चन गरेका थिए । तर त्यसले बैधता पाएन । अहिलेको सरकारले गर्ने निर्वाचन पनि त्यही बाटोमा जाने खतरा छ ।
एकता चाहिएको बेला पुनर्गठनको बहस असान्दर्भिकः ढकाल
पार्टीका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टीलाई चौतर्फी आक्रमण भइरहेका बेला पार्टीभित्र पुनर्गठनको बहस उठाउनु असान्दर्भिक भएको बताउनुभयो ।
उहाँले एमालेमा नेतृत्वको गठन र पुनर्गठन भइरहने भएकाले यसको पनि उचित फोरमबाट निक्र्यौल हुने बताउनुभयो ।
‘एमालेमा नेतृत्वको गठन र पुनर्गठन स्वभाविक हो । यो हुन्छ नै तर अहिले बैरीले आक्रमण गरेका बेला एकता चाहिन्छ’ नेता ढकालले भन्नुभयो– यस्तो विषय पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटीले किनारा लगाउन सक्छ तर अहिले पार्टीभित्र एकताको खाँचो छ ।