detail-img

केन्द्रीय सचिवालयको ५७औं बैठकः अध्यक्ष लगायतको राहदानी रोक्का सिफारिशप्रति गम्भीर आपत्ति प्रकट

केन्द्रीय कमिटीको दशौं बैठक यही असोज २७–२९ मा काठमाडौंमा बस्ने निर्णय
१२ असोज (२०८२), काठमाडौं । नेकपा (एमाले)को ५७औं केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भक्तपुरमा बस्यो । बैठकमा मुलुकको विषम राजनीतिक परिस्थितिका बारेमा गम्भीर छलफल गरी निम्न बमोजिमको प्रस्ताव पारित गरेको छः
१. भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले आज असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस अघि नै गृह मन्त्रालय मार्फत मिडिया ट्रायल गरेर अनि दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गर्दछ । यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको छ ।
२. हालै गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा संलग्न दोषीहरूलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै कुनै कार्बाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाई गरेको निर्देशनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानुनसम्मत क्षेत्राधिकारमाथि मात्रै हस्तक्षेप गरेको छैन, यसले अपराधीहरूको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको छ । पार्टी यसप्रति गम्भीर आपत्ति प्रकट गर्दछ र नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न गम्भीर ध्यानाकर्षण गर्दछ ।
३. पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७–२९ मा काठमाडौंँमा बस्ने छ । त्यस अघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९–२० मा काठमाडौँमा बस्नेछ ।