detail-img

घर–घरमा समृद्धिको सन्देश पुर्याउन महासचिव पोखरेलको आग्रह

१० फागुन(२०८२), दाङ । नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले दाङको विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पुर्याउन आफ्नो नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । 
विजौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले विकासका एजेन्डालाई केन्द्रमा राखेर मतदातासमक्ष प्रस्तुत हुन आग्रह गर्नुभयोे ।
महासचिव पोखरेलले भन्नुभयो– दाङको विकास र समृद्धिका लागि शंकर पोखरेल अपरिहार्य छ भन्ने अभियान घर–घरमा पु¥याइदिनुहोस् । अधुरा काम पूरा गर्न र सुरु भएका योजनालाई निष्कर्षमा पुर्याउन सक्षम नेतृत्व आवश्यक छ ।
आफू मुख्यमन्त्री हुँदा दाङमा पूर्वधार, स्वास्थ्य र शिक्षाका क्षेत्रमा महत्वपूर्ण काम सुरु भएको स्मरण गर्दै उहाँले भन्नुभयो– मैले नेतृत्व गर्दा दाङको विकासको आधार तयार भएको थियो । सरकारबाट बाहिरिएपछि केही काम रोकिए, अब ती योजनालाई पुनः गति दिन आवश्यक छ ।
घोराही–तुलसीपुर चारलेन सडक निर्माण आफ्नै पहलमा सुरु भएको भन्दै महासचिव पोखरेलले विजौरी–दहवन हुँदै शहीद मार्ग विस्तार, मानपुर–जलकुण्डी सडक स्तरोन्नति लगायतका योजनाहरू मध्य दाङको विकासका लागि अनिवार्य रहेकोमा महासचिव पोखरेलले जोड दिनुभयो । उहाँले भन्नुभयो– मध्य दाङको समग्र विकासका लागि सडक सञ्जाल मजबुत बनाउनु अपरिहार्य छ ।
स्वास्थ्य क्षेत्रको उपलब्धि उल्लेख गर्दै रिफर सेन्टरका रूपमा रहेका दाङका अस्पतालहरूलाई विकास गरेर विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकास गरिएको महासचिव पोखरेलले बताउनुभयो । 
‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुनु दाङका लागि ऐतिहासिक उपलब्धि हो’, उहाँले भन्नुभयो– अब प्राविधिक शिक्षा र स्वास्थ्य सेवा दाङमै सुदृढ बनाउनुपर्छ ।
महासचिव पोखरेलले नीति निर्माण र बजेट विनियोजनमा प्रभावकारी पहुँच पु¥याउन सक्ने प्रतिनिधि आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो– काठमाडौंबाट बजेट ल्याउन र नीतिगत निर्णयमा प्रभाव पार्नसक्ने नेतृत्व दाङले रोज्नुपर्छ, समृद्ध दाङ बनाउने लक्ष्यसहित हामी अघि बढेका छौँ ।
चुनावी सभामा उहाँले पार्टीका कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर अभियान सञ्चालन गर्न आह्वान गर्दै विकास, स्थिरता र समृद्धिको सन्देश मतदातामाझ पु¥याउन आग्रह गर्नुभयोे । कार्यक्रममा स्थानीय नेता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।