detail-img

दशबर्षमा सडक कालोपत्रे लगायत देशमा असाधारण विकास भएको छः अध्यक्ष ओली

दमकमा तीन पाङ्ग्रे सवारी चालक श्रमिकहरूसँगको अन्तरक्रिया 

६ माघ (२०८२), दमक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिले–पहिले झापा– ५ मा  कालो पत्रे सडक हेर्न राजमार्ग आउनु पर्थ्यो, अहिले कालोपत्रे नभएको सडक खोज्नुपर्ने अवस्थामा पुर्याइएको बताउनुभएको छ । 
आज झापाको दमकमा तीन पाङ्ग्रे सवारी चालक श्रमिकहरूसँगको अन्तरक्रिया गर्नुहुँदै अध्यक्ष ओलीले सडक पूर्वाधार विकासको अवस्थाबारे बताउनुभएको हो । 
अध्यक्ष ओलीले भन्नुभयो– पहिलो पटक यो क्षेत्रमा आफु चुनाव प्रचारमा हिड्दा गाडीमा नै कोदालो/फरुवा बोकेर हिड्नु पथ्र्याे । पूर्वपश्चिम राजमार्ग बाहेक अन्यक्षेत्रमा कालोपत्रे सडक थिएन । खासगरी २०७२ सालपछि नेकपा (एमाले) नेतृत्वमा सरकार निर्माण भएपछि सडक स्तरोन्नतिका काम शुरू भयो । अहिले कालो पत्रे सडक नभएको क्षेत्र खोज्दै हिड्नु परेको छ । पछिल्लो २०७२ देखि ०८२ सालको दश बर्ष बीचको समयमा नेपालमा असाधारण रूपमा विकासले फड्को मारेको छ ।  
यो क्षेत्रमा भएको भौतिक विकासले गर्दा अहिले दमक नगरपालिकाभित्र मात्र लगभग छ हजार भन्दा बढी तीनपाङ्ग्रे सिटी रिक्सा सञ्चालनमा रहेका छन् । नगरभित्रका प्रायः सबै क्षेत्रमा कालोपत्रे सडक पुगिसकेको छ । जसले गर्दा नै यति धेरै सङ्ख्यामा तीनपाङ्ग्रे सवारी साधन चल्न सहज भएको छ भने दैनिक प्रत्यक्ष रूपमा छ हजार मजदुर वर्गमा रहेका नागरिकलाई रोजगार मिलेको छ । 
बिपन्न, न्युन आय आर्जन गर्ने मजदुर वर्गको हित र भोकमरीको अन्त्य गर्ने पक्षमा नेकपा (एमाले) लडिरहने अध्यक्ष ओलीको भनाइ छ । नेपालको संविधानमा नै गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी अनिवार्य गरिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेपालमा भोकमरीको अन्त्य गर्ने चरणमा पुगेको बताउनुभयो ।
आफ्नो नेतृत्वमा सरकार भएको अवस्थामा श्रमिकको हितका लागि यस्ता कानुनी व्यवस्था गरिएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– यसले दिनभरि काम गर्ने तर बिहान बेलुका खान नपाउने मजदुर वर्गलाई प्राथमिकतामा राखेर नेकपा (एमाले)ले नीति नियम तयार गरेको हो । जसका कारण अक कानुनी रूपमा नै भोकमरी विरुद्ध लड्न मजदुरलाई मार्ग खुल्ला भएको छ ।
सिटी चालक मजदुरले सडकमा सवारी चलाउँदा सामान्य ट्राफिक नियम जान्नुपर्ने बाध्यता छ । नत्र दुर्घटना भएर ठुलो क्षति हुने सम्भावित खतरालाई मध्यनजर गर्दै अध्यक्ष ओलीले लाइसेन्स लिने प्रक्रिया सहज र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), दमकका अध्यक्ष मेघनाथ सुवेदीले अहिले स्थानीय तह र यातायात कार्यालय बीचमा समन्वय नहुँदा राजस्वमा एकरूपता नभएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले प्रति सिटी बार्षिक कर छसय रुपियाँ लिएर दर्ता प्रक्रिया अघि बढाएको छ । तर यातायात कार्यालयबाट बार्षिक प्रति सिटी छ हजार लिने गरेको बताउनुभयो । 

युवाको मार्चपास
आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरी आज झापाको कमल गाउँपालिकामा युवाहरूको मार्च पास कार्यक्रम आयोजना गरियो । 
झापा क्षेत्र नं. ५ अन्तर्गत पर्ने कमलका दुई अलग स्थानबाट मार्चपास शुरु भएको थियो । साविक लखनपुर खण्डका ५,६ र ७ का युवाहरूले लखनपुर चोकदेखि पाडाजुङ्गीसम्म एमालेको पक्षमा प्रदर्शन गरेका थिए । यस्तै साविक तोपगाछी खण्डका युवाहरूले केराधाप चोकदेखि केर्खासम्म मार्च पास गरेको नेकपा (एमाले) गाउँ कमिटी अध्यक्ष हरि ढकालले जानकारी दिनुभयो । 
मार्चपासपछि पाडाजुङ्गीमा आयोजित कोणसभामा पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समिति संयोजक देवेन्द्र दाहालले यो क्षेत्रको मात्र नभई समग्र देशलाई नै विकासको नेतृत्व दिने पार्टी एमाले मात्र भएको बताउनुभयो । 
उहाँले आगामी निर्वाचनले राष्ट्रवादी कित्ता र राष्ट्रविरोधी कित्ताको टुङ्गो लगाउने भन्दै राष्ट्रवादी कित्ताको नेतृत्व एमालेले गरिरहेको धारणा राख्नुभयो । 
यस्तै मार्चपास पछि केर्खा बजारमा आयोजित कोणसभामा पार्टीका झापा जिल्ला उपाध्यक्ष शिव ढुङ्गेलले  एमालेले मात्र यो देशको विकास र जनताको हित गर्न सक्ने बताउनुभयो । 
युवालाई भ्रममा पारेर केही तत्वले देश र जनताका बीचमा दुष्प्रचार गरिरहेको भन्दै उहाँले दुष्प्रचार र कुप्रसारका विरुद्ध जनता जागिसकेको तर्क गर्नुभयो । 
झापा क्षेत्र नंं. ५ मा एमालेले प्रत्येक वडा र टोल स्तरसम्म निर्वाचन परिचालन, प्रचार प्रसार लगायतका समितिहरू बनाई मतदातासँगको भेटघाट सघन बनाएको छ । 
यस्तै महिला, युवा, विद्यार्थी, किसान, मजदुर, बुद्धिजीवी लगायतका अलग अलग क्लष्टर समेत निर्वाचन परिचालनमा खटिएको पार्टीका केन्द्रीय सदस्य एवं निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक ईन्द्र भण्डारीले जानकारी दिनु भएको छ ।