२ फागुन (२०८२), काठमाडौं । नेकपा (एमाले)ले देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्नसक्ने भएकाले यसप्रति गम्भीर रहन आग्रह गरेको छ ।
आम निर्वाचन–२०८२, पार्टीका प्रचार संयोजक मीनबहादुर शाहीले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा पत्रकार सम्मेलनमार्फत् लोकप्रियतावादको भ्रमबाट सचेत रहन मतदातालाई आह्वान गर्नुभएको हो ।
राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने गरेको र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने उल्लेख गर्दै उहाँले सबै मतदातालाई विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखी विवेकपूर्ण ढङ्गले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा लोकप्रियतावादको प्रभाव विश्वका धेरै देश तथा दक्षिण एसियाका केही राष्ट्रहरूमा देखिएको उल्लेख गर्दै नेपालमा दीर्घकालीन स्थायित्व र विकासको मार्ग रोज्नुपर्नेमा जोड दिइएको छ । एमालेले ‘समृद्धिको बाटो, सूर्यमा मत’ नारासहित ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य अघि सारेको छ ।
स्वाधीन, समुन्नत र समाजवादउन्मुख अर्थतन्त्रको आधारमा समान अवसरयुक्त, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने पार्टीको उद्देश्य रहेको उहाँले बताउनुभयो ।
एमालेले प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, मर्यादित रोजगारीका अवसर, सुरक्षित आवास तथा सम्मानित जीवनस्तर सुनिश्चित गर्दै उच्च आयस्तरको विकसित राष्ट्र निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रेस संयोजक शाहीद्वारा पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति यस प्रकार छः
२ फागुन २०८२
समृद्धिको बाटो, सूर्यमा मत
‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक पार्दै, स्वाधीन, समुन्नत र समाजवाद उन्मुख अर्थतन्त्रको आधारमा समान अवसरयुक्त, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने हाम्रो राष्ट्रिय लक्ष्य हो । प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, मर्यादित रोजगारीका पर्याप्त अवसर, सुरक्षित आवास र सम्मानित जीवनस्तर सुनिश्चित गर्दै उच्च आयस्तरको विकसित राष्ट्र निर्माण गर्नु आजको ऐतिहासिक आवश्यकता हो । त्यसको प्रभावकारी र परिणाममुखी नतिजाको लागि नेकपा (एमाले) को नेतृत्व सक्षम छ र त्यस कारणले आवश्यक छ । तीब्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको सुदृढीकरणमार्फत समृद्धि हासिल गर्ने दीर्घकालीन सोचसहित अघि बढिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लिएको विचार, सिद्धान्त र नीतिलाई सफल बनाउन सम्पूर्ण देशवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध र संगठित हुन हार्दिक आह्वान गर्दछौं ।
आगामी निर्वाचनमा स्थायित्व, विकास र समृद्धिको पक्षमा आफ्नो अमूल्य मत प्रकट गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चुनाव चिन्ह “सूर्य” मा मतदान गरी राष्ट्र निर्माणको यस अभियानलाई अझ सशक्त बनाउन हार्दिक अपिल गर्दछौं ।
लोकप्रियतावादका भ्रमबाट सचेत रहन आह्वान
देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्न सक्ने यथार्थप्रति हामी गम्भीर ध्यान आकर्षण गराउन चाहन्छौं । राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहन्छ । नेकपा (एमाले) नेपालका आम जनता, आमाबुबा, दाजुभाइ, दिदीबहिनी, युवा वर्ग, किशोरकिशोरी सबै मतदाता समक्ष लोकप्रियतावादको भ्रमबाट सचेत रहँदै विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखी विवेकपूर्ण ढङ्गले आफ्नो अमूल्य मताधिकारको प्रयोग नेकपा (एमाले) को सूर्य चिन्हमा प्रदान गर्न अनुरोध गर्दछांै । विश्वभरका धेरै र दक्षिण एसियाका केही देशहरू लोकप्रियतावादको गम्भीर समस्या सामना गरिरहेको यथार्थता हाम्रा अगाडि स्पष्ट छ । तसर्थ, स्थायित्व, विकास र समृद्धिको दीर्घकालीन मार्ग चयन गर्नु नै राष्ट्र र जनताको हितमा हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।
पेशाकर्मी, नागरिक समाज र सामुदायिक अभियानस“ग ऐक्यबद्धताका लागि आह्वान
राष्ट्र निर्माणको ऐतिहासिक यात्रामा विभिन्न पेशा व्यवसायमा संलग्न पेशाकर्मी, नागरिक समाज, विविध सामुदायिक अभियान र समुदायस्तरमा विषयगत रूपमा सक्रिय सामुदायिक संघसंस्थाहरू जसले टोल, वडा, गाउँबस्तीमा सरसफाई, खानेपानी, सामुदायिक सुधार र सुरक्षा आदिमा पु¥याउँदै आएको योगदानप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौं । लोकतन्त्रको सुदृढीकरण, सुशासनको प्रवद्र्धन, सामाजिक न्यायको सुनिश्चितता तथा जनहितका सवालमा यी क्षेत्रहरूको सक्रियताप्रति हाम्रो दृढ ऐक्यवद्धता छ । वर्तमान राष्ट्रिय परिस्थिति र विकासका प्राथमिकतालाई ध्यान दिंदा– साझा उद्देश्य र दीर्घकालीन हितका लागि सहकार्य, संवाद र सहअस्तित्वलाई अझ मजबूत बनाउनु आवश्यक छ । यस परिप्रेक्ष्यमा, हामी सम्पूर्ण पेशाकर्मी, नागरिक समाज तथा सामुदायिक अभियन्ताहरूसँग सकारात्मक पहल, रचनात्मक सहकार्यका लागि आह्वान गर्दै नेकपा (एमाले) सँग आबद्ध भई सहयोग गरिदिनु हार्दिक आह्वान गर्दछौं ।
विदेशमा रहेका नेपालीहरूलाई सहयोगका लागि आह्वान
विभिन्न पेशा, व्यवसाय, रोजगारी र अध्ययन आदिको सिलसिलामा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले देशको आर्थिक, सामाजिक तथा राष्ट्रिय जीवनका विविध पक्षमा पु¥याउँदै आउनु भएको योगदानप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौं । रेमिट्यान्स, ज्ञान, सीप, अनुभव र अन्तर्राष्ट्रिय सञ्जालमार्फत मातृभूमिप्रति देखाइएको प्रतिबद्धता राष्ट्र निर्माणको महत्वपूर्ण आधार बनेको छ । आगामी निर्वाचनको सन्दर्भमा देशको स्थायित्व, विकास र समृद्धिको अभियानलाई अझ सशक्त बनाउन विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई पार्टीसँग जोडिन, आफ्ना परिवारजन तथा समुदायमार्फत सकारात्मक जनमत निर्माण गर्न र निर्वाचन प्रक्रियामा आवश्यक सहयोग पु¥याउन हार्दिक आह्वान गर्दछौं । राष्ट्रिय हित, लोकतन्त्रको सुदृढीकरण तथा समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरूको ऐक्यबद्धता अपरिहार्य रहेको हाम्रो दृढ विश्वास छ । तसर्थ, नेकपा (एमाले) को सूर्य चिन्हमा मतदानका लागि हार्दिक अपिल गर्दछौं ।
युवाशक्तिस“ग राष्ट्र निर्माणको साझा यात्रा र सहकार्य
युवाशक्ति राष्ट्रको वर्तमान र भविष्य दुबैको लागि महत्वपूर्ण साझेदार शक्ति हो भन्ने कुरामा हामी दृढ विश्वास राख्दछौं । देशभित्र वा विदेशमा रहेर श्रम, सीप, ज्ञान र सिर्जनशीलता प्रयोग गरिरहेका नेपाली युवाहरूले राष्ट्रप्रति देखाएको प्रतिबद्धता अत्यन्तै प्रेरणादायी छ । राजनीतिलाई केवल आलोचना वा असन्तोषको माध्यम होइन, समाधान, नवप्रवर्तन र विकासको सशक्त औजारका रूपमा अघि बढाउन युवाको सक्रिय भूमिका अपरिहार्य छ । त्यसका लागि नीति, नेतृत्व र अवसरको संगम आवश्यक छ, जसको दिशामा अगाडि बढ्न नेकपा (एमले)ले आफ्नो महाधिवेशनबाट नीतिगत निर्णय गरी प्रतिबद्धता जनाइसकेको छ । यस सन्दर्भमा समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यसहित अघि बढिरहेको राष्ट्रिय अभियानमा युवाहरूलाई रचनात्मक सहभागिता, विचार र नेतृत्वमार्फत जोडिन हार्दिक आह्वान गर्दछौं । राष्ट्र निर्माणको यस यात्रामा युवाशक्ति ठूलो पूँजी हो । यसर्थ, आगामी निर्वाचनमा सम्पूर्ण युवाशक्तिलाई नेकपा (एमाले) सँग साझा यात्रा र सहकार्य गर्दै सूर्य चिन्हमा मतदानको लागि आह्वान गर्दछौं ।
अन्तमा, आम नेपाली जनता र मतदाताको छनौटको राजनीतिक दल नेकपा (एमाले) हुनेछ भन्ने विषयमा हामी विश्वस्त छौं ।