६ फागुन (२०८२), झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार केपी शर्मा ओलीले उम्मेदवार बीच हुने सार्वजनिक बहस लोकतन्त्रको पारदर्शिताको अभ्यास भएको बताउनुभएको छ ।
उहाँले हिजो आयोजित झापा–५ का उम्मेदवारहरूबीचको पब्लिक डिबेट कार्यक्रममा सहभागी हुँदै सार्वजनिक प्रश्नहरूको आमने–सामने जवाफ दिनु लोकतान्त्रिक संस्कृतिको महत्वपूर्ण पक्ष भएको धारणा व्यक्त गर्नुभयो ।
‘उम्मेदवारहरूले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको जवाफ दिनु नै लोकतन्त्रको पारदर्शिता हो’, अध्यक्ष ओलीले भन्नुभयो ।
‘चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व भएकाले उम्मेदवार नागरिकबाट टाढा रहने, वास्तविक अनुहार लुकाउने र तयार पारिएका सामग्रीमार्फत मतदातालाई प्रभावित पार्ने प्रवृत्ति उपयुक्त होइन’ अध्यक्ष ओलीले प्रश्नबाट भाग्ने वा छलेर आफूलाई राम्रो देखाउने राजनीति आफूहरूले नगरेको बताउनुभयो ।
‘हामीले आफूमाथि उठेका प्रश्नहरूको उत्तर दिँदै आएका छौँ, आलोचना र विरोध पनि सुन्दै आएका छौँ’, उहाँले भन्नुभयो–कतिपय विषयमा आत्मालोचना गरेर सुधार गर्ने प्रयास पनि गरेका छौँ ।
पब्लिक डिबेट आयोजना गर्ने आयोजक, सहभागी उम्मेदवार तथा उपस्थित नागरिकप्रति आभार व्यक्त गर्नुभएका अध्यक्ष ओलीले आगामी दिनमा नागरिकका प्रश्नको जवाफ दिन तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले मतदातालाई सचेत रूपमा निर्णय लिन आग्रह पनि गर्नुभयो । ‘प्रश्न सोधौँ, एमाले रोजौँ’, भन्ने सन्देशसहित अध्यक्ष ओलीले आफू नागरिकको साथमै रहने बताउनुभयो ।