detail-img

अध्यक्ष ओली निर्वाचन क्षेत्रमा, मतदातासँगको संवाद मुख्य प्राथमिकता

-मतदाताले शान्ति, स्थायित्व र विकास चाहेका छन्
-देश जेनजीले होइन, अपराधीले जलाएका हुन्
३ फागुन (२०८२), दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदाताले शान्ति, स्थायित्व र विकास खोजेको बताउनुभएको छ । चुनावी अभियानका लागि आइतबार झापा आउनुभएका अध्यक्ष ओलीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै मतदातासँगको संवादलाई मुख्य प्राथमिकता दिने बताउनुभयो । 
मतदाताले टोलटोलमा आइदिन आग्रह गरे बमोजिम आफ्नो क्षेत्रका टोलटोल पुगेर मतदातासँग भेटघाटसँगै संवादलाई मुख्य प्राथमिकता दिने उहाँले जानकारी गराउनुभयो । 
यसअघि एक साता निर्वाचन क्षेत्रमा घुम्दा मतदाताले सोही माग अघि सारेको उहाँले स्पष्ट गर्नुभयो । गत हप्ता ८० वटा टोलमा पुगिसक्नुभएका अध्यक्ष ओलीले अब अन्य टोलहरूमा जाने जानकारी दिनुहुँदै  मतदातालाई मसिनो गरी भेट्ने र टोलटोलमा मतदाताका आवाज सुन्ने आफ्नो योजना सुनाउनुभयो । 

शिक्षकहरू समाजको रुपान्तरणकारी चेतनाका संवाहक
यसैबीच, झापाको दमक नगरपालिका–२ स्थित हिमालय उच्चमाविमा नेपाल शिक्षक संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले जेनजीको नाममा अपराधीले देश जलाएको बताउनुभयो ।  
गत भदौ २३ र ३४ गते मुलुकमा भएको आगजनी र तोडफोड जेनजीले नगरेको उहाँले स्पष्ट गर्नुभयो ।  अध्यक्ष ओलीले भन्नुभयो– जेनजी एउटा उमेर समूह हो । यो समूहका युवा पुस्ताको आन्दोलनमा घुसपैठ गरेर अपराधीहरूले मुलुक जलाएका हुन् । शिक्षक बिद्यार्थीले देश जलाएको होइन ।
शिक्षकहरुको संयुक्त आन्दोलनमा बिभिन्न आस्थाका आधारमा फरक फरक माग आएका र शिक्षकहरूका माग सरकारबाट सम्बोधन गराउने भन्दा पनि आन्दोलनमा काँग्रेस र माओवादी विचारमा आवद्ध शिक्षकहरूले लगातार सरकार र प्रधानमन्त्रीको मात्र बिरोध गरिरहेकाले आन्दोलनले सही निकास दिन नसकेको तत्कालीन प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो । 
अध्यक्ष ओलीले शिक्षकहरू नै समाजको रुपान्तरणकारी चेतनाका संवाहक भएको बताउनुभयो । विगतका राजनीतिक एवं जनाधिकारका आन्दोलनहरूमा पनि शिक्षकहरूको महत्वपूर्ण योगदान रहेको उहाँले स्मरण गर्नुभयो । 
नेपालको शिक्षा क्षेत्र र शिक्षकहरूका समस्या समाधानका लागि सरकारमा हुँदा र नहुँदा पनि एमालेले सशक्त भूमिका निर्वाह गरेको अध्यक्ष ओलीले बताउनुभयो । 
अध्यक्ष ओलीले शिक्षण कार्य एउटा जागीर मात्र नभई समाज रुपान्तरणको अभिभारा समेत रहेको बताउनुभयो । शिक्षाको स्तर कम भएका तथा दुर्गम क्षेत्रहरूमा समेत पुगेर शिक्षकहरूले चेतना, शिक्षा र समाज रुपान्तरणको जागरण फैल्याएको भन्दै उहाँले समयानुकूल वेतन अभावमा पनि शिक्षकहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।

 
यसैगरी, अध्यक्ष ओलीले लोकतान्त्रिक धिमाल संघद्वारा संयोजन गरिएको भेटघाट कार्यक्रममा धिमाल समुदायका सङ्ग्रहालय, ग्रामथान लगायतको विकासका लागि एमालेले  नै प्राथमिकता दिएको बताउनुभयो । धिमाल समुदायको राजनीतिक पहुँच अभिवृद्धिका लागि एमालेले अगुवाई गरेको उहाँको भनाइ थियो । 
निर्वाचनका लागि ढुक्कको वातावरण बनिसकेको छैन
यसअघि आजै काठमाडौंबाट झापा आउने क्रममा भद्रपुर विमानस्थलमा अध्यक्ष ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको बताउनुभयो । उहाँले पार्टी चुनावको तयारीमा लागिरहेको तर ढुक्कको वातावरण बनि नसकेको र यस बारेमा सरकारले धेरै कुरा जान्नुपर्ने समेत बताउनुभयो ।