२५ माघ (२०८२), झापा । कमल गाउँपालिकाका बासिन्दाहरूले आफुहरूले देश बनाउने नेतालाई रोज्ने बताएका छन् ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरूले झापा–५ चेतनशील नागरिक भएको ठाउँ भएकाले यहाँ कोही पनि बहकिने मतदाता नभएको बताए ।
आइतबार कमल गाउँपालिकाको वडा नं. ५ बाट विभिन्न बस्तीका बासिन्दासँग अध्यक्ष ओलीले भेटघाट शुरु गर्नु भएको छ । अध्यक्ष ओलीलाई स्वागत गर्दै उनीहरूले यो क्षेत्रको विकासमा लगाएको गुन कहिल्यै भुल्न नसकिने समेत बताए ।
स्थानीय शोभा संग्रौलाले जनतालाई भुल्याउने, बहकाउन नेता नचाहिने बरु आफ्नो क्षेत्र र देश बनाउने नेता चाहिएको बताउनुभयो ।
अध्यक्ष ओलीको स्वागत गर्दै स्थानीय ज्येष्ठ नागरिकहरूले अझै केही समय विश्राम नलिई देश बनाउन उहाँलाई आग्रह गरे । अरुको भर नभएको भन्दै वृद्धवृद्धाहरूले मतदानका लागि आफुहरू कसैको कुरा नसुन्ने र अध्यक्ष ओलीलाई फेरि जिताउने बताएका थिए ।
अध्यक्ष ओलीलाई कलम गाउँपालिका–५ का बासिन्दाले भ्युटावर, सिंहदरबार, सरकारी कार्यालय जलाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । रतुवाको तटबन्धन, गाउँगाउँमा कालोपत्रे बाटो, विजुली र खानेपानी घर घरसम्म ल्याउने मान्छेलाई भुल्न नसकिने स्थानीय राम धिमालले बताउनुभयो । यो ठाउँको विकास गरेको र अब पनि अरु विकास गर्ने नेतालाई नै यहाँका बासिन्दाले छान्ने उहाँको भनाइ थियो ।
आईतबार अध्यक्ष ओली कमल गाउँपालिकाका विभिन्न टोलहरुमा पुगेर मतदातासँग भेट गरिरहनुभएको छ ।
अध्यक्ष ओली स्व. खम्बा सिंह दर्जीको शोकको कार्यक्रममा पनि सहभागी हुनु भयो ।