२१ माघ (२०८२), काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापा ‘बादल’ले सरकार निर्वाचन सार्ने षडयन्त्रमा रहेको बताउनुभएको छ ।
नेकपा (एमाले)ले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना आज आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष बादलले यस्तो आशङ्का गर्नुभयो ।
उहाँले भन्नुभयो– निर्वाचन सार्ने छनक प्रधानमन्त्रीले गरिरहनु भएको छ । केही दिन अघि प्रधानमन्त्रीले हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भनेर दिएको अभिव्यक्ति त्यसको एउटा उदाहरण हो ।
उपाध्यक्ष बादलले निर्वाचनमा अनेक षडयन्त्र गर्ने, दलहरूलाई विवादमा तान्ने, न्यायालयमा आफ्नो छायाँ पार्ने काममा सरकार तल्लीन रहेको बताउनुभयो ।
पार्टीले आगामी निर्वाचनलाई गहिरो चासो र गम्भीरताका साथ लियालिरहेको जनाएको छ । पत्रकार भेटघाटमा वितरित प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोग, आचार संहिता उल्लङ्घन र निष्पक्ष र भयरहित वातावरणमा मतदानको अवस्था सिर्जना हुननसकिरहेको अवस्थाका बारेमा सरकारको ध्यानाकर्षण गराएको छ ।
आम निर्वाचन–२०८२ पार्टीका प्रचार संयोजक मीनबहादुर शाहीले पार्टीको तर्फबाट जारी गर्नुभएको प्रेस विज्ञप्ति यस प्रकार छः
प्रेस विज्ञप्ति
२०८२ साल फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गहिरो चासो र गम्भीरताका साथ नियालिरहेको जानकारी गराउँछौंंं ।
१ सय ६३ मा उम्मेदवारीः नागरिकको खबरदारी
आगामी निर्वाचनका सन्दर्भमा पार्टीले मुलुकभरका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ६३ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम राखेको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौँ । यस मध्ये कर्णाली प्रदेशको रूकुम–पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको छ भने प्राविधिक कारणले मनाङमा उम्मेदवारी कायम हुन सकेन । निर्वाचन क्षेत्रहरूमा स्थानीय वस्तुस्थितिका आधारमा बिभिन्न राजनीतिक दल वा समूहसँग संवाद र सहमति भइरहेकाछन् । यो उम्मेदवारी सबै प्रकारका षडयन्त्र, जालझेल र घेराबन्दी बिरूद्धको नागरिक तथा राजनीतिक खबरदारी पनि हो । विध्वंस, आगजनी र राज्य संरचनालाई खरानी बनाउनेका बिरूद्ध निर्माण अर्थात बनाउने प्रतिबद्धता पनि हो ।
सामाजिक सञ्जालः प्रचार–प्रसारमा बढ्दो दुरूपयोग
नेकपा (एमाले) प्रविधिको उच्चतम विकासका बारेमा जानकार छ र त्यसको रचनात्मक प्रयोगप्रति सजग रहेको विषय उल्लेख गर्न चाहन्छौं । निर्वाचन प्रक्रिया अन्तर्गत देशभर सञ्चालन भइरहेका गतिविधिहरू, प्रचार–प्रसारका शैली, व्यवहार तथा अभिव्यक्तिहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक मूल्य–मान्यता, मर्यादा र निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट पार्न चाहन्छौँ । प्रविधिको प्रयोग गैर–जिम्मेवार र गैर–राजनीतिक ढंगले भएकोमा हाम्रो पार्टी त्यसको बिरोध गर्दछ । विभिन्न राजनीतिक दलहरू, तिनका उम्मेदवारहरू तथा पार्टीका निर्वाचन चिन्हका बारेमा भ्रम सिर्जना गर्ने उद्देश्यले कलाकारहरूको प्रयोग तथा प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गरिँदै आएको विषयप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गम्भीर ध्यानाकर्षण भएको छ । नेकपा (एमाले)को निर्वाचन चिन्ह परिवर्तन लगायतका भ्रामक प्रचार सामग्री तयार गरी प्रसारण गर्ने कलाकार वा जो कोहीलाई पनि कानुनको दायारामा ल्याउन हामी जोडदार माग गर्दछौं ।
यसै क्रममा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का श्रद्धेय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीप्रति लक्षित गरी गरिएका गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको समेत उल्लङ्घन हुने गरी सामाजिक सञ्जालमा प्रसारण गरिएका सामग्रीप्रति आपत्ति प्रकट गर्दै यस्ता असभ्य, गैरराजनीतिक र आपत्तिजनक अभिव्यक्तिहरूको कडा शब्दमा भत्र्सना तथा निन्दा गर्दछ । र, यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई विनम्रतापुर्वक अनुरोध गर्दछ ।
शान्ति–सुरक्षा निर्वाचनको प्रमुख आधारः भयरहित र निर्भिक भएर मतदान गर्न सक्ने वातावरण अझै तयार छैन ।
आवधिक निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाका लागि प्रमुख मेरूदण्ड हो भन्ने विषयमा नेकपा (एमाले) स्पष्ट छ । “जनताद्वारा, जनताका लागि र जनताले शासन गर्ने” प्रणालीमा विधिको शासन, शान्ति–सुरक्षा, अमन चयन र अभिव्यक्ति स्वतन्त्रता यसका प्रमुख आधारस्तम्भ हुन् । तसर्थ, प्रत्येक मताधिकार प्राप्त नेपाली नागरिकले स्वतन्त्र, भयरहित र निर्भिकतापूर्वक मतदान गर्न पाउने वातावरण निर्माण गर्ने प्रथम दायित्व सरकारको हो । प्रत्येक मतदाताले मतपेटीकासम्म समान ढङ्गले सहज पहुँच र सुरक्षित वातावरणमा मतदान गर्न पाउनु उसको संवैधानिक अधिकार हो तर आजका दिनसम्म सरकारले भरपर्दो र विश्वासिलो वातावरण बनाउन सकिरहेको छैन र त्यतातर्फ गम्भीर बनेको पाइएको छैन । देशका विभिन्न जेल तथा सुधार–गृहबाट भागेका कैदीबन्दीहरू अझै फरार छन् । हातहतियार र गोलीगठ्ठा बाहिरै छन् । राजधानीमै संगठित लुटपाट र चोरीका घटनाहरूमा बृद्धि भइरहेको छ भने बाराको परवानीपुरमा घरभित्रै पसेर आक्रमण गरी हत्या गरेका घटनाले शान्ति–सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ । तसर्थ, निर्भिकतापूर्वक मतदानको वातावरण बनाउनु अनिवार्य शर्त हो । यो विषय नेकपा (एमाले)ले शुरूदेखि नै उठाउँदै आएको छ, जसलाई सरकारले गम्भीरतापूर्वक लिइरहेको छैन । बिभिन्न घटनाको शीघ्र छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन कडा सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न नेकपा (एमाले) जोडदार माग गर्दछ ।
आचारसंहिताको प्रभावकारितामा प्रश्नः निरन्तर बढ्दो उल्लङ्घन
राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता, शान्ति–सुरक्षामा खलल पुग्ने गरी भइरहेका अवाञ्छित गतिविधि र समुदायलाई उत्तेजित बनाउने भडकाउपूर्ण व्यवहार र प्रचारप्रसारको शैलीप्रति निगरानी बढाउन र स्थापित कानुनी मापदण्ड अनुसार कानुनी दायरामा ल्याउन सम्बन्धित पक्षसँग नेकपा (एमाले) विनम्रतापूर्वक अनुरोध गर्दछ । अन्यथा यस्ता गतिविधिबाट समाजमा बढ्न सक्ने अराजकता, हिंसा, बिध्वंस र कानुन उल्लङ्घनका घटनाहरूप्रति सरकार र सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने विषयप्रति नेकपा (एमाले) समयमै ध्यानाकर्षण गराउन चाहन्छौं ।