२४ माघ (२०८२), झापा । झापाको कमल गाउँपालिकामा रहेका भूमिहीनहरूले आफ्नो समस्या समाधान गर्न नेकपा (एमाले) बाहेक अन्य विकल्प नरहेको बताएका छन् ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको भेटमा उनीहरूले भूमिसम्बन्धी समस्या समाधानका लागि एमालेकै नेतृत्व आवश्यक रहेको धारणा राखेका हुन् ।
भेटका क्रममा उनीहरूले निर्वाचन जितेर आफूहरूलाई जग्गाको धनीपुर्जा उपलब्ध गराइदिन अध्यक्ष ओलीसँग आग्रह गरेका थिए । जवाफमा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले भूमिहीन तथा बसोबाससम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरेर काम सुरु गरे पनि सरकार परिवर्तनसँगै ती प्रयासहरू अवरुद्ध हुने गरेको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– हामी आयोग गठन गरेर काम सुरु गर्छौं तर अरू सरकार आएपछि त्यसलाई भत्काइदिन्छन्, काम त आखिर हामीले नै गर्नुपर्ने हो ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवारसमेत रहनु भएका अध्यक्ष ओलीले शनिबार कमल गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर स्थानीयसँग उनीहरूका समस्या लगायत विषयमा कुराकानी गर्नुभएको थियो । सो क्रममा स्थानीयबासीहरूले एमाले र ओलीकै नेतृत्वमा गाउँको मुहार फेरिने गरी विकासका कामहरू अघि बढेको बताएका थिए ।
स्थानीयबासीहरूले एमाले र अध्यक्ष ओलीको कुनै विकल्प नरहेको उल्लेख गर्दै अधुरा विकास योजनाहरू पूरा गर्न फेरि पनि निर्वाचनमा जिताउने बताए ।