detail-img

यस पटकको निर्वाचन देशको भविष्य तय गर्ने जनमत सङ्ग्रहः नेता पोखरेल

-देश बनाउने र देशलाई अस्थिरता तथा विघटनतर्फ लैजान खोज्ने शक्तिहरूबीच निर्णायक लडाइँ
-मतदातालाई कुनै उत्तेजनामा नआई विवेकपूर्ण भावनाका साथ मतदान गर्न अनुरोध
-नयाँ पुस्ता देश ध्वस्त बनाउने होइन, देश बचाउने अभियानमा लाग्नुपर्ने


२१ माघ (२०८२), काठमाडौं । नेकपा (एमाले)का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले नेकपा (एमाले) स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासनको सवालमा दृढ प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले आज आयोजना गरेको ‘उम्मेदवारसँग पत्रकार सम्मेलन’मा बोल्दै उहाँले एमालेको आगामी घोषणापत्रमा पनि यी मूल विषयहरू प्राथमिकताका साथ समेटिने स्पष्ट पार्नुभयो । 
नेता पोखरेलले भन्नुभयो– नेकपा (एमाले) स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासनको सवालमा प्रतिबद्ध छ, एमालेको घोषणापत्रमा पनि यिनै कुरा आउनेछन् ।
उहाँले वर्तमान व्यवस्थासँग गाँसिएका केही पक्षमा सुधार आवश्यक रहेको उल्लेख गर्दै संविधान संशोधनमार्फत ती विषयहरूलाई परिमार्जन गर्दै अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।
‘शासकीय स्वरूप, निर्वाचन प्रणाली, सेवा प्रवाहलगायतका क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ, कतिपय सवालमा सुधार गर्नुपर्ने छ, त्यसमा हामी लाग्छौँ, उहाँले बताउनुभयो ।
यस पटक एमालेको घोषणापत्र अघिल्लाभन्दा पृथक हुने उल्लेख गर्दै उहाँले पार्टी निश्चित मुद्दामा समय तालिकासहित प्रस्तुत हुने जानकारी दिनुभयो ।
नेता पोखरेलले आगामी निर्वाचनमा एमालेले राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गर्दै जनतासमक्ष त्यसलाई प्रमाणित गरेर देखाउने अठोट व्यक्त गर्नुभयो । 
एमालेलाई कमजोर बनाउन विभिन्न प्रकारका षड्यन्त्र हुँदै आएको हुँदा षड्यन्त्रलाई चिर्न पार्टी बलियो हुनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । 
नेता पोखरेलले एमाले मजबुत भएर अगाडि बढ्ने र कुनै पनि षड्यन्त्र सफल हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेलले यस पटकको निर्वाचन सामान्य चुनाव मात्र नभई देशको भविष्य तय गर्ने ‘ठूलो जनमत संग्रह’ भएको धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले देश बनाउने शक्तिहरू र देशलाई अस्थिरता तथा विघटनतर्फ लैजान खोज्ने शक्तिहरूबीच निर्णायक लडाइँ भइरहेको उल्लेख गर्दै यो निर्वाचनमा देश बनाउने पक्षले जित्नैपर्ने र देश जलाउने पक्षले हार्नैपर्ने बताउनुभयो । 
नेता पोखरेलले आफू सधैँ राष्ट्रिय हित, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जनतालाई बचन दिँदै देशको अहित हुने कुनै पनि कार्य आफूबाट नहुने स्पष्ट पार्नुभयो । 
नेता पोखरेलले जातीय तथा सामाजिक सद्भाव नेपालको आधार भएको उल्लेख गर्दै जातीय सद्भाव खलबलिन दिन नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– यदि जातीय सद्भाव बिग्रियो भने देश रहँदैन, देश रहेन भने हामी पनि रहँदैनौँ ।
जातीय सद्भाव नेकपा (एमाले)ले उठाएको झण्डा भएको बताउँदै उहाँले त्यो झण्डा कहिल्यै झुक्न नदिने प्रतिवद्धता जनाउनुभयो ।
नेता पोखरेलले एमालेले सुरु गरेको विकास अभियानलाई कमजोर पार्ने षड्यन्त्र भएको आरोप लगाउँदै पार्टीले विकासको अभियान पुनः मजबुत रूपमा अघि बढाउने बताउनुभयो ।
उहाँले मुलुकको समृद्धि, स्थायित्व र राष्ट्रिय एकताको पक्षमा जनताको समर्थन आवश्यक रहेको उल्लेख गर्दै निर्वाचनमा एमालेको विजय देश निर्माणको आधार हुने बताउनुभयोे ।

लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नागरिककै हातमाः डा.भट्टराई

कार्यक्रममा पार्टीका सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले संसद् पुनर्स्थापना लोकतन्त्र र संविधानलाई सहज बाटोमा फर्काउने उपाय भएको धारणा व्यक्त गर्नुभयो ।
‘एमाले नीतिगत रूपमा अहिले पनि संसद् पुनर्स्थापनाको पक्षमा रहेको र यसले लोकतन्त्र र संविधान सहज बाटोमा फर्कन्छ भन्नेमा हामी विश्वस्त छौँ,’ उहाँले भन्नुभयो ।
यद्यपि उहाँले जनताबाट अनुमोदित हुन निर्वाचनमा जाने प्रक्रियाबाट एमाले कहिल्यै नभाग्ने पनि स्पष्ट पार्नुभयो । डा. भट्टराईले काठमाडौं उपत्यकाका अधिकांश सिटमा एमालेले जित हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले मतदातालाई कुनै उत्तेजनामा नआई विवेकपूर्ण भावनाका साथ मतदान गर्न अनुरोध गर्दै लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नागरिककै हातमा रहेको बताउनुभयो ।  
सचिव डा. भट्टराईले आगामी निर्वाचनलाई लोकतन्त्र र संविधानलाई सही दिशामा अघि बढाउने अवसरका रूपमा लिन आग्रह गर्नुभयो ।

उपत्यकाका मतदाताले ‘देश जलाउने शक्ति’ चिनिसकेका छन्ः सचिव बस्नेत

त्यसैगरी,पार्टीका सचिव तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले वर्तमान सरकार रास्वपा पक्षधर बनेर लोकतन्त्रवादी शक्तिमाथि आक्रमण गरिरहेको बताउनुभयो । 
सरकारले अन्तर्राष्ट्रिय शक्तिको समेत संलग्नतामा एमाले लगायत लोकतन्त्रवादी शक्तिहरूमाथि प्रहार गरिरहेको बताउँदै सचिव बस्नेतले भन्नुभयो– सरकार कसैको एजेण्डा स्थापित गराउन निर्वाचनलाई प्रयोग गर्न लागिपरेको छ ।
उहाँले निर्वाचनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिँदै सरकार मतपरिणाम नै बदल्ने योजनामा लागेको आरोप लगाउनुभयो । निर्वाचन दुई चरणमा गर्ने चर्चा चलाएर मतपरिणाम परिवर्तन गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो ।
नेता बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको मत माग्नका लागि उहाँकी श्रीमतीसँग सिभिल ड्रेसका प्रहरी खटाइएको बताउनुभयो । उहाँले सरकार ‘संरचनात्मक हाइज्याक’को अभियानमा लागेको भन्दै गलत प्रवृत्तिका विरुद्ध बोल्न नसक्ने अवस्था समाजमा सिर्जना गरिएको बताउनुभयो । 
सचिव बस्नेतले अहिलेको प्रमुख मुद्दा देश र सार्वभौमसत्ता जोगाउनु भएको उल्लेख गर्दै नयाँ पुस्ताले देश ध्वस्त बनाउने होइन, देश बचाउने अभियानमा लाग्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले एमालेले कुनै दलसँग गठबन्धनको कुरा अघि नबढाएको स्पष्ट पार्दै पार्टी अध्यक्षको अन्य दलका नेताहरूसँगको भेटघाट गठबन्धनका लागि नभई वर्तमान समस्याबारे साझा धारणा बनाउन गरिएको बताउनुभयो ।
काठमाडौं उपत्यकाका मतदाताको मत हरेक पटक बदलिएको उल्लेख गर्दै उहाँले भदौ २३ र २४ को घटनाले उपत्यकाका मतदाताले ‘देश जलाउने शक्ति’ चिनेको विश्वास व्यक्त गर्नुभयो ।