detail-img

विचार र सिद्धान्त नभएका दलहरू स्थायी हुँदैनन्ः उपमहासचिव भट्टराई 

१८ माघ (२०८२), चितवन । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले कुनै खास विचार, सिद्धान्त नभएका र हुईयाँमा बनेका दलहरू स्थायी नहुने बताउनुभएको छ । 
प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ता दलले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने बताउनुभयो । 
उपमहासचिव भट्टराईले भन्नुभयो– दुनियाँका जुनसुकै मुलुकमा पनि विचार र सिद्धान्तबाट बनेका, जमिनमा टेकेका दलहरूले नै त्यो देश थाम्ने हो । कुनै खास एजेन्डा र हुईममा बनेका दलहरू स्थायी हुँदैनन् ।
यिनीहरुले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने भन्दै उहाँले थप्नुभयो– राजनीतिक दल भनेको राष्ट्रका खम्बा हुन् । ती खम्बा कमजोर हुनुहुँदैन । 
अहिले नेपालमा नक्कली मानिसहरू देखापरेर पपुलिजमको आधारमा नक्कली पार्टी खडा गरेको उहाँले बताउनुभयो । 
राजनीतिक दल र नेतृत्व जनतासँग संवाद गर्ने हुनुपर्ने भन्दै उपमहासचिव भट्टराईले जनताले सुनिने र देखिने हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– राजनीतिक दल र नेतृत्व जनताको पहुँचमा हुनुपर्छ । जनताले छुन, हेर्न र आलोचना गर्न सक्ने र जनताको विरोध र आलोचना सहन सक्ने हुनुपर्छ । जनताले नदेखेको, छुन पनि नपाएको र प्रश्न पनि गर्न नपाएको नेतृत्व अहिले आइरहेको भन्दै उपमहासचिव भट्टराईले प्रश्न गर्नुभयो– नेतृत्व जनतासँग बोल्दैन, संवाद गर्दैन भने तिनका दलहरूले के गर्छन् ?
उहाँले यो राष्ट्रको भविष्यसँग जोडिएको विषय भएकाले आम जनतालाई आवेग र उत्तेजनामा आएर वा पपुलिजमको भरमा नभई ठण्डा दिमागले सोचेर आगामी ५०–१०० वर्ष देश कसरी अगाडि जान सक्छ भन्ने सोचेर मतदान गरी विश्वासिलो नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । 
आज मुलुक लुलो र कमजोर बनाइएको भन्दै उपमहासचिव भट्टराईले भन्नुभयो– पुलिस प्रशासनको मनोबल गिराइएको छ, अदालतको आत्मबल कमजोर बनाइएको छ । आगामी निर्वाचनबाट एमाले जस्तो पार्टी बलियो र पहिलो बनेन भने राज्यका यी अङ्गहरूको आत्मविश्वास नै नबढ्ने उहाँको भनाइ छ । 
उहाँले अगाडि थप्नुभयो– राज्यका यि अङ्गहरू र आम नागरिकको सुरक्षा एमालेले मात्रै गर्न सक्छ, एमाले नेतृत्वमा बन्ने सरकारले गर्छ । यही आत्मविश्वास लिएर एमाले चुनावी मैदानमा जाने र पहिलो पार्टी बन्ने उपमहासचिव भट्टराईले बताउनुभयो । 
कतिपयलाई एमाले महाधिवेशनको धङ्धङ्गी यो निर्वाचनमा देखिन्छ कि ? भन्ने भ्रम रहेको भन्दै उपमहासचिव भट्टराईले भन्नुभयो– मलाई पनि विम्बको रूपमा टिप्पणी गरेको सुन्छु । उम्मेदवारी ट्ङ्ग्याउनु अघि हामीले व्यापक छलफल गर्यौं, सहमति, विमति अनेक भए । जब एमालेका नामबाट, सूर्य चिन्ह लिएर उम्मेदवारी दर्ता भयो । एमालेको सिङ्गो पार्टीपङ्क्ति एकढिक्का भएर सबै उम्मेदवारलाई जिताउन लागेको छ ।
एमालेका १६३ जना उम्मेदवार सबै साझा भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो– सिङ्गो एमालेको मिसन ‘फागुन २१, सूर्य चिन्ह, नेकपा एमाले’ हो । मेरो व्यक्तिगत मिसन पनि यही हो । यो पार्टीभित्र अन्तरविरोध गर्ने बेला नभएर अरु पार्टीसँग लड्ने समय हो । 
‘एमालेलाई राष्ट्रिय शक्ति बनाउँदै समानुपातिकमा अघिल्लो निर्वाचनभन्दा मत बृद्धि गरेर ४० लाख पुर्याइने छ’, उपमहासचिव भट्टराईले भन्नुभयो– प्रत्यक्षमा पनि उल्लेख्य सङ्ख्या बृद्धि गर्ने गरी एमालेले एकल बहुमत ल्याएर सरकार बनाएर आजका तमाम विकृति विसङ्गतिलाई अन्त्य गर्दै अघि बढ्छौं ।