detail-img

सुदूरपश्चिमका महत्वपूर्ण आयोजनालाई पूर्णता दिन मेरो  उम्मेदवारीः उपमहासिचव भट्ट

१८ माघ (२०८२), धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव लेखराज भट्टले सुदूरपश्चिममा सञ्चालित महत्वपूर्ण आयोजनालाई पूर्णता दिन निर्वाचनमा आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । 
कैलाली क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भट्टले आइतबार अत्तरियामा क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय उद्घाटनपछि पत्रकारसँग कुराकानी गर्दै सुदूरपश्चिमको लाइफलाइनसँग जोडिएको दैजी–छेला औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, महाकाली करिडोर, सेती लोकमार्ग, धनगढी–खुटिया–दिपायल–उरै भञ्या«ङ सडक, लालपुर–हरैया विशेष आर्थिक क्षेत्र निर्माण जस्ता आयोजनाको काम अघि बढाउन आवश्यक रहेको बताउनुभयो । 
उहाँले कैलाली क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर मन्त्री हुँदा सुदूरपश्चिममा आफूले पहल गरेका आयोजनाको काम सुस्त गतिमा भइरहेकाले ती आयोजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी आवश्यक रहेको बताउनुभयो ।
उपमहासचिव भट्टले सुदूरपश्चिमको आर्थिक सामाजिक रुपान्तरणका लागि उत्तर–दक्षिणलाई जोड्नुपर्ने धारणा राख्नुभयो । सडक सञ्जाल विस्तार गरेर उत्तरमा उत्पादित बस्तु दक्षिण र दक्षिणमा उत्पादित बस्तु उत्तर पुर्याउन सके मात्रै सुदूरपश्चिमको आर्थिक सामाजिक रुपान्तरण सम्भव रहेको उहाँको भनाइ छ । 
कैलालीका लागि मात्र नभएर समग्र सुदूरपश्चिम र राष्ट्रकै निमित्त यो आवश्यक रहेको उहाँले बताउनुभयो ।
अत्तरियामा क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिशङ्कर योगी, केन्द्रीय सदस्य सन्तोष शर्मा, नवनिर्वाचित राष्ट्रिय सभा सदस्य लीला भण्डारी, सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक, पार्टीका प्रदेश कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख भागरथी विष्ट लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।