२३ माघ (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनुभएको छ ।
आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले झापा यसपटक पूर्णरूपमा एमालेमय हुने विश्वास व्यक्त गर्नुभयो ।
‘अहिले देश विषम परिस्थितमा पुगेको छ । देशलाई जोगाउन एमालेमय झापा र एमालेमय देश बनाउन आवश्यक छ’, उहाँले भन्नुभयो ।
झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले झापालाई सूर्यमय बनाउन सबै नेताकार्यकर्ता तथा समर्थकलाई आ–आफ्नो स्थानबाट योगदान गर्न आग्रह गर्नुभयो ।
युवाहरू एमालेको पक्षमा जनमत निर्माण गर्न सक्रिय रूपमा लागिरहेको बताउँदै युवापुस्ताको ऊर्जा र सहभागिताले पार्टीलाई अझ मजबुत बनाउने धारणा उहाँले व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले सत्य र विकासको पक्षमा जनता रहेकाले कुनै पनि षड्यन्त्रले एमालेको जितलाई रोक्न नसक्ने बताउँदै आगामी फागुन २१ गते हुने निर्वाचनमा एमालेको जित पक्का भएको विश्वास व्यक्त गर्नुभयो ।