detail-img

विकासको मार्गचित्र कार्यान्वयनका लागि योग्य नेतृत्व आवश्यकः महासचिव पोखरेल

१७ माघ (२०८२), दाङ । मतदातासँग प्रत्यक्ष संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार  शङ्कर पोखरेल घर–घर पुगिरहनु भएको छ । 
घोराही उपमहानगरपालिका–६ र १७ का विभिन्न टोलमा आयोजित भेटघाट कार्यक्रममा उहाँले आफ्नो राजनीतिक यात्राभन्दा पनि आफू मुख्यमन्त्री रहँदा तयार पारेको विकासको ‘रोडम्याप’ र त्यसको कार्यान्वयनलाई केन्द्रमा राखेर मतदातासँग छलफल सुरु गर्नुभएको छ । 
महासचिव पोखरेलले आफू मुख्यमन्त्री हुँदा दाङको दीर्घकालीन विकासका लागि स्पष्ट खाका तयार गरिएको दाबी गर्दै त्यसैको निरन्तरताका लागि निर्वाचनमा विजय आवश्यक रहेको बताउनुभयो ।
“विकास योजना कागजमा मात्रै सीमित होइन, त्यसलाई पूरा गर्न सक्षम र जिम्मेवार नेतृत्व चाहिन्छ,” उहाँले भन्नुभयो– योग्य नेतृत्व छान्ने जिम्मेवारी मतदाताकै हातमा छ ।

अधुरा योजनाहरू पूरा गर्न पुनः जनमतको आवश्यकता रहेको बताउँदै महासचिव पोखरेलले स्थानीय विकासका उदाहरण प्रस्तुत गर्दै सडक, भौतिक पूर्वाधार, खानेपानी र सिँचाइ जस्ता आधारभूत विषयमा आफ्नो प्राथमिकता स्पष्ट पार्नुभयोे ।
घोराही–१७ पचुर्काका उज्ज्वल टोल र पचुर्का टोलका स्थानीयवासी रमण चौधरी र बालाराम वलीले घरआँगनसम्म कालोपत्रे सडक पुगिसकेको प्रसङ्ग उठाउँदै अब सामुदायिक भवन, खानेपानी र सिँचाइको समस्या समाधानमा ध्यान दिन आग्रह गर्नुभयोे । उहाँहरूले विगतमा सुरु भएका योजनाहरू अलपत्र परेको गुनासो पनि सुनाउनुभयो ।
जवाफमा महासचिव पोखरेलले मुख्यमन्त्रीको हैसियतमा आफूले रणनीतिक सडकका रूपमा अघि बढाएको दामोदर मार्गलाई सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयोे । 
“रणनीतिक महत्व बुझेर निर्माण सुरु गरिएको दामोदर मार्गलाई पछिल्लो सरकारले बजेटविहीन बनाएर अलपत्र पारेको कुरा यहाँका नागरिक जानकार नै हुनुहुन्छ,” उहाँले भन्नुभयो– अब त्यो सडक निर्माणको जिम्मा म स्वयं लिन्छु ।
मतदातासँगको संवादमा महासचिव पोखरेलले विकासलाई दलगत नाराभन्दा माथि राखेर हेर्नुपर्ने धारणा राख्नुभयो । “दाङको समृद्धि साझा एजेण्डा हो, यसका लागि योजनाको निरन्तरता, स्पष्ट दृष्टिकोण र कार्यान्वयन क्षमता आवश्यक छ ।”