detail-img

शहीद दिवसमा अध्यक्ष ओलीको सन्देश– राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि अडिग रहने प्रतिवद्धता

-आजको लोकतान्त्रिक अधिकारको बीउ शहीदहरूले रोपेका हुन्, शहीदको बलिदानीलाई कहिल्यै भुलिने छैन
-शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई कमजोर हुन नदिने प्रतिबद्धता नै उनीहरूप्रति सच्चा श्रद्धाञ्जली हुने छ 

१६ माघ (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बीउ १९९७ सालका शहीदहरूले रोपेको बताउनुभएको छ । 
शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिंदै अध्यक्ष ओलीले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ शहीदहरूले रोपेको उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा शासनले मृत्यु दण्ड दिएको स्मरण गर्नुभएको छ । 
यस्तो शासनको अन्त्य गर्न कम्युनिष्ट र काँग्रेसको सहकार्यले महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै अध्यक्ष ओलीले शुभकामना सन्देशमा लेख्नुभएको छ– निरङ्कुश जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ कम्युनिष्ट र काँग्रेसको संयुक्त आन्दोलनको उपज हो । 
अध्यक्ष ओलीले आजको दिनलाई केवल क्यालेण्डरको एउटा मिति जस्तो मात्र लागे पनि विगतलाई हेर्ने हो भने यो स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने कुरा थाहा हुने बताउनुभएको छ । अध्यक्ष ओलीले शहीदको बलिदानीलाई कहिल्यै नभुल्ने र राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सदा अडिग हुने प्रतिवद्धता जनाउनुभएको छ ।
शहीदहरूको बलिदान नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो जगः महासचिव पोखरेल

यसैगरी, महासचिव शंकर पोखरेलले शहीद दिवसका अवसरमा  भिडियो सन्देशमार्फत् परिवर्तन जोगाउने ऐतिहासिक जिम्मेवारी पूरा गर्न सबैलाई आग्रह गर्नुभएको छ । 
महासचिव पोखरेलले जहानियाँ राणा शासनको निरङ्कुश अन्धकार चिर्दै नेपालमा प्रजातन्त्रको उज्यालो ल्याउने आन्दोलनको प्रारम्भ भएको यही दिनलाई स्मरण गर्दै राष्ट्रका चार सपुत (गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द)ले दिएको अमूल्य बलिदानलाई नमन गर्नुभएको छ । होनहार युवाहरूले दिएको प्राणको आहुति नै आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो जग भएको उहाँको भनाइ छ ।
लोकतन्त्र कुनै सहज उपहार नभई नेपाली जनताको पीडा, त्याग र निरन्तर सङ्घर्षबाट आर्जिएको शासन व्यवस्था भएको बताउँदै महासचिव पोखरेलले सन्देशमा भन्नुभएको छ– जब जब लोकतन्त्र चुनौतीमा पर्छ, तब तब शहीदहरूको सम्झना गर्नुपर्छ, उनीहरूबाट प्रेरणा लिनुपर्छ र लोकतन्त्रलाई सबल, सुदृढ र जीवन्त बनाउने नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ ।
महासचिव पोखरेलका अनुसार शहीद दिवस केवल विगतको स्मरणमा सीमित रहने दिन होइन, वर्तमानलाई जिम्मेवार बनाउने र भविष्यलाई सुरक्षित गर्ने सङ्कल्प गर्ने अवसर हो । शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई कमजोर हुन नदिने प्रतिबद्धता नै उनीहरूप्रति सच्चा श्रद्धाञ्जली हुने महासचिव पोखरेलको धारणा छ । 
सन्देशमा उहाँले महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आदर्श र त्यागबाट प्रेरणा लिने दृढ सङ्कल्प व्यक्त गर्नुभएको छ ।