१७ माघ (२०८२), बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले भौतिक पूर्वाधार निर्माणसँगै अब मानवीय विकास र रोजगारी प्रवद्र्धनलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताउनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्नुभएका उपाध्यक्ष पौडेलले रुपन्देहीमा निर्माणाधीन ठूला भौतिक पूर्वाधारका योजनाहरू सम्पन्न गर्दै औद्योगिक विकासलाई तीब्रता दिने र स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूलाई लगानीका लागि आकर्षित गरी व्यापक रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे ।
एमालेको बुटवल–११ देवीनगर तथा बुटवल–१ पारीबुटवलमा वडास्तरीय निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले रुपन्देही भौतिक पूर्वाधारको दृष्टिले सम्पन्नताको चरणमा पुगेको बताउनुभयो । “रुपन्देहीमा भौतिक पूर्वाधार र संरचनाको विकास अब पर्याप्त स्तरमा पुगेको छ,” उहाँले भन्नुभयो– अब यसले मात्रै पुग्दैन, यहाँका नागरिकको आयस्तर वृद्धि गर्ने, रोजगारी र स्वरोजगार सिर्जना गर्ने योजनामा मेरो मुख्य ध्यान केन्द्रित हुनेछ ।
पछिल्लो समय उठिरहेको ‘जेनजी आन्दोलन’ को प्रमुख माग नै रोजगारी रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम अघि बढाइने उहाँले बताउनुभयो । रुपन्देहीका जनताले विश्वस्तरीय जीवनशैलीमा बाँच्न पाउनुपर्नेमा जोड दिँदै उपाध्यक्ष पौडेलले जिल्लाका ठूला र महत्वपूर्ण विकास योजनाहरू सम्पन्न गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे ।
बुटवलमा निर्माणाधीन मुलुककै ठूलो १२ तले लुम्बिनी प्रादेशिक अस्पताललाई समयमै सम्पन्न गर्ने, बुटवलदेखि पोखरासम्मको सडकलाई दुई घण्टामै यात्रा गर्न मिल्ने गरी विस्तार गर्ने, बुटवल–गोरुसिङ्गे र बुटवल–नारायणगढ सडक विस्तारको काम पूरा गर्ने योजना उहाँले सुनाउनुभयो ।
त्यसैगरी तिनाउ पुलमा ‘सिग्नेचर ब्रिज’ निर्माण गरी त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, मेडिकल कलेज स्थापना लगायतका ठूला परियोजनाहरूमा आफूले खेलेको भूमिकाबारे मतदाताहरू जानकार नै रहेको भनाइ उपाध्यक्ष पौडेलले राख्नुभयो ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा चलायमान बनाउने, बुटवलमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र सञ्चालनमा ल्याउने तथा औद्योगिक क्षेत्रको विकासमार्फत रोजगारी सिर्जना गर्न विशेष ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि जनताको निरन्तर साथ र विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।