अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश
१८ वैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनुभएको छ ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिंदै अध्यक्ष ओलीले श्रमिक दिवस अर्थात मे १ ले श्रमको मूल्य, मर्यादा र अधिकारको सङ्घर्षमार्फत संसारलाई पाठ सिकाएको उल्लेख गर्नुभएको छ ।
नेपालको संविधानले न्यायपूर्ण राज्यका लागि काम गर्ने वर्ग र काम गराउने वर्ग बीचको सन्तुलनका लागि निर्देशक सिद्धान्त अपनाएको सन्देशमा उल्लेख छ ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत दिनुभएको शुभकामनामा भनिएको छ– हामीले संविधानमा पनि न्यायपूर्ण राज्यको लागि काम गर्ने वर्ग र काम गराउने वर्ग बीचको सन्तुलनका लागि यही निर्देशक सिद्धान्त अपनाएका छौं । पूर्व प्रधानमन्त्री ओलीले हामीले सरकारमा रहँदा श्रमिक, रोजगारदाता र राज्यबीचको त्रिपक्षीय सन्तुलित सहकार्यको बाटो अपनाउँदै तीनै पक्षको योगदानमा आधारित सामाजिक सुरक्षा थालनी गरेका थियौं भनी स्मरण गराउनुभएको छ ।
अध्यक्ष ओलीले मानव गरिमाको रक्षा गर्न र श्रमिकहरूको सुरक्षा र सम्मान कायम गर्न उनीहरुको विश्वव्यापी अधिकार सुनिश्चित हुनुपर्ने धारणा उल्लेख गर्दै आफूले सरकारको नेतृत्व गरेका बेला राज्यको नीति, रोजगारदाता र श्रमिक बीच संवाद, सहकार्य र सहअस्तित्वको बाटोमा अघि बढाएको स्मरण गर्नुभएको छ ।
‘हाम्रो ध्येय थियो–उद्योग चलोस्, रोजगारी बढोस्, श्रमिक सुरक्षित होउन्, नाफाको न्यायोचित बितरण होस् र देश समृद्ध बनोस्’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ । संविधानले तय गरेको यो सीमाबाट राज्य आज पनि बिचलित हुनु नहुने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीको शुभकामना सन्देश यस प्रकार छः
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, मेहनत र पसिनाले सभ्यता निर्माण गर्ने हातहरूको स्मरणीय दिन ।
आजभन्दा १३७ वर्ष अघि मे १ ले श्रमको मूल्य, मर्यादा र अधिकारको सङ्घर्षमार्फत संसारलाई पाठ सिकाएको थियो, नाफाको न्यायोचित वितरणका लागि रोजगारदातासँग संवाद र सामूहिक सौदाबाजीका माध्यमबाट श्रमजीवी वर्गको हक स्थापित गरेको थियो ।
हामीले हाम्रो संविधानमा पनि न्यायपूर्ण राज्यको लागि ‘काम गर्ने वर्ग’ र ‘काम गराउने वर्ग’ बीच सन्तुलनको लागि यही निर्देशक सिद्धान्त अपनाएका छौं । र, हामीले सरकारमा रहँदा श्रमिक, रोजगारदाता र राज्यबीचको त्रिपक्षीय सन्तुलित सहकार्यको बाटो अपनाउँदै तीनै पक्षको योगदानमा आधारित सामाजिक सुरक्षा थालनी गरेका थियौं ।
राज्यमा मानव गरिमाको रक्षा गर्न, श्रमिकहरूको सुरक्षा र सम्मान कायम गर्न उनीहरूको विश्वव्यापी अधिकार सुनिश्चित हुनु पर्दछ ।
हामीले यसअघि सरकारमा रहँदा राज्यको नीति, ‘रोजगारदाता र श्रमिक’बीच ‘संवाद, सहकार्य र सहअस्तित्व’को बाटोमा अघि बढायौं । हाम्रो ध्येय थियो– उद्योग चलोस्, रोजगारी बढोस्, श्रमिक सुरक्षित होऊन्, नाफाको न्यायोचित बितरण होस् र देश समृद्ध बनोस् ।
संविधानले तय गरेको यो सीमाबाट आज पनि राज्य विचलित हुनु हुँदैन ।
जहाँ श्रमिक सम्मानित हुन्छ, त्यहीँ समाज समृद्ध हुन्छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना !