पार्टीका पूर्व अध्यक्ष अधिकारीको २७औं स्मृति दिवस
-अधिकारीले कठोर बन्दी जीवन र यातना सहनुपरेको तर कहिल्यै सिद्धान्तसँग सम्झौता गर्नुभएन
-फागुन २१ को निर्वाचनबाट कम्युनिष्ट मात्र नभई समग्र लोकतान्त्रिक शक्तिलाई नै धक्का
-देश विस्तारै निर्वाचित सर्वसत्तावादतिर जाने हो कि भन्ने चिन्ता
१३ वैशाख (२०८३), ललितपुर । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीका पूर्व अध्यक्ष मनमोहन अधिकारी अविचलित निष्ठाको प्रतिक भएको बताउनुभएको छ ।
नेकपा (एमाले)का पूर्व अध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको २७औं स्मृति दिवसलाई सम्बोधन गर्दै मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष पोखरेलले स्व.अधिकारीको व्यक्तित्व, राजनीतिक सङ्घर्ष र त्यागको स्मरण गर्नुभयो ।
मनमोहन अधिकारीको राजनीतिक इतिहासको चर्चा गर्दै नेता पोखरेलले उहाँ नेपाल कम्युनिस्ट पार्टी स्थापना हुनुभन्दा अघिदेखि नै आन्दोलनमा सक्रिय रहेको बताउनुभयो ।
भारतमा रहँदा भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भई जेल जीवन बिताएका अधिकारीको भारतबाट अंग्रेज शासन नहटेसम्म नेपालमा राणा शासनको अन्त्य सम्भव नहुने दृढ मान्यता रहेको सुनाउनुभयो । नेपाल फर्केपछि पनि अधिकारीले कठोर बन्दी जीवन र यातना सहनुपरेको तर कहिल्यै सिद्धान्तसँग सम्झौता नगरेको नेता पोखरेलले बताउनुभयो ।
हेलिकप्टर दुर्घटनापछि गम्भीर शारीरिक समस्या झेलेका तत्कालीन प्रधानमन्त्री अधिकारीको आत्मबलको उदाहरण दिँदै नेता पोखरेलले भन्नुभयो– बैसाखीको सहारा लिनुपर्दा पनि उहाँले हार खानुभएन । उहाँ भन्नुहुन्थ्यो– मेरा दुइटा खुट्टा थिए, अब चारवटा भएका छन्, म अझै हिँड्न सक्छु ।
प्रतिकूल समयमा पनि आफ्नो सिद्धान्त र निष्ठाको झण्डा झुक्न नदिनु स्व.अधिकारीको जीवनबाट वर्तमान राजनीतिले सिक्नुपर्ने मुख्य पाठ भएको नेता पोखरेलको भनाइ थियो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पोखरेलले मनमोहन स्मृति प्रतिष्ठानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने दिवङ्गत व्यक्तित्वहरूलाई सम्मानका साथ स्मरण गर्नुभयो । उहाँले प्रतिष्ठानका पूर्वसचिव हरिप्रसाद शर्मा काफ्ले, गोविन्द गजुरेल, डा. गोविन्द थापा र लक्ष्मीदास मानन्धरको योगदानले नै मनमोहन अधिकारीको विचारलाई संस्थागत गर्न मद्दत पुगेको बताउनुभयो ।
स्व. अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने नेता
कार्यक्रममा नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पार्टीका पूर्व अध्यक्ष मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्न सक्ने नेता भएको बताउनुभयो ।
उहाँले २०४७ सालमा तत्कालीन नेकपा माले र माक्सर्वादीको एकता गर्दा अधिकारीले ३८ बर्षीय मदन भण्डारीलाई महासचिव बनाएर नेतृत्वमा युवालाई स्थापित गर्नुपर्छ भन्ने सन्देश दिनुभएको स्मरण गर्नुभयो ।
नेता ज्ञवालीले भन्नुभयो– आफू ६९ वर्षको भए पनि ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाएर मनमोहनले युवालाई विश्वासमा लिएर एमालेलाई उठाउनुभयो । पुस्ता पुस्ताबीचको अतिवादी सोचलाई एमालेले अनुभव र जोशको संयोजनको अभ्यास गरेको थियो ।
अहिलेको केहीमा पुस्ताको अतिवादी सोच हाबी भएको बताउँदै उहाँले परिपक्वको मार्गदर्शन र युवाको उर्जाको संयोजनबाट मात्र देश बन्ने धारणा राख्नुभयोे ।
नेता ज्ञवालीले यतिबेला नेपालको कम्युनिष्ट आन्दोलनलाई इतिहासमा नै ठूलो धक्का लागेको विचार व्यक्त गर्नुभयो । फागुन २१ को निर्वाचनबाट कम्युनिष्ट मात्र नभई समग्र लोकतान्त्रिक शक्तिले नै धक्का खाएको उहाँको भनाइ छ ।
निर्वाचनपछि बनेको सरकारका गतिविधिले देश विस्तारै निर्वाचित सर्वसत्तावादतिर जाने हो कि भन्ने चिन्ता थपिएको भनाइ नेता ज्ञवालीले राख्नुभयो ।
उहाँले भन्नुभयो– निर्वाचित सर्वसत्तावादतिर देश जान्छ कि भन्ने चिन्ता छ, सरकारले ट्रेड युनियन खारेज गर्ने पञ्चायती निरङ्कुशतासँग लडेको विद्यार्थी संगठन खारेज, स्वतन्त्र मिडियाको स्रोत नै सुकाइदिने कुराले शङ्का गर्ने प्रशस्त ठाउँ दिएको छ ।