detail-img

प्रतिबद्धता पत्र सार्वजनिकः भोजपुरमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता 

१२ फागुन (२०८२), भोजपुर । नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस्य उम्मेदवार शेरधन राईले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।  
नेकपा (एमाले)का सचिव समेत रहेका राईले प्रतिबद्धता पत्रमा पार्टीले गन्तव्य बनाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्यसहितका कार्यक्रम समेट्नुभएको छ ।  
उहाँले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएर प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।  पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै भोजपुरका सडक र पुलहरू निर्माण सम्पन्न गर्ने तथा नयाँ सडक र पुलहरूको निर्माणलाई तिब्रता दिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
उहाँले टक्सार बजारको पुरानो ऐतिहासिकता झल्कने गरी  सम्पदायुक्त सुन्दर बजारको रूपमा विकास गर्ने कार्यक्रम अघि सार्नुभएको छ भने मध्यपहाडी राजमार्गसँग जोडिएका मुख्य बजार केन्द्रहरू र सबै पालिका केन्द्रमा रहेका मुख्य बजारहरूको ढल निकास तथा व्यवस्थापनसहित व्यवस्थित बजारको रूपमा विकास गर्ने योजना समेत अगाडि सार्नुभएको छ । छरपष्ट र जोखिमयुक्त बस्तीहरूको व्यवस्थापन गर्दै एकीकृत बस्ती निर्माण तथा व्यवस्थापनका लागि आवश्यक पहल गर्ने समेत उहाँको योजना छ । 
किसानमुखी कृषि नीति निर्माणमा जोड दिएका सचिव राईले कृषिका लागि सिँचाइ सुविधा, मल बीउबिजनको उपलव्धता, प्रविधि र प्राविधिक सहयोग उपलव्ध गराई कृषि उत्पादनबाटै घर घरमा आम्दानी र घर घरमा आत्मनिर्भर र रोजगारी सिर्जना गर्दै जिल्लालाई समृद्ध बनाउने योजना बनाउनुभएको छ । 
किसानहरूका लागि ठूलो समस्याको रुपमा रहेको बाँदर आतङ्क नियन्त्रणका कुरा समेत प्रतिबद्धता पत्रमा उल्लेख छ ।  उच्च मूल्यका खाद्यान्न, फलफूल, जडिबुटी, चिया, कफी, अलैंची अदुवा, रुद्राक्ष, बोधिचित्तलगायतको उत्पादनमा विशेष जोड दिँदै आवश्यक नीति बनाउन पहल गर्ने एमाले उम्मेदबार राईको अठोट छ । 
गाँजाको व्यावसायिक खेती गर्नका लागि विद्यमान कानुन संशोधन गर्न पहल गर्ने समेत प्रतिबद्धता पत्रमा उल्लेख छ । 
पर्यटन प्रवद्र्धनका लागि मुन्दुम पदमार्गलाई थप विस्तार गर्दै संसारकै आकर्षक पर्यटकीय पदमार्ग बनाउन पहल गर्ने उहाँको योजना छ । 
भोजपुरले जन्माएका कला, साहित्य, भाषा र संस्कृतिका अग्रज र नवस्रष्टाहरूको कदर र सम्मान गर्दै ‘भाषा कला र संस्कृतिको शान, नवस्रष्टाको कदर, पुर्खा र इतिहासको सम्मान’ भन्ने नाराका साथ स्थानीय भाषा साहित्य तथा कला र संस्कृतिहरूको संरक्षण गर्ने उहाँको बाचा छ । 
युवा लक्षित सामूहिक उद्यमशीलता कार्यक्रम र युवा आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न पहल गर्ने लगायतका युवा लक्षित कार्यक्रम प्रतिबद्धता पत्रमा समेटिएका छन् । 
जिल्ला अस्पताललाई गुणस्तरीय उपचार सेवाका लागि थप सुविधा र आधुनिक उपकरणको जडान गरी सेवालाई प्रभावकारी बनाउने उहाँको योजना रहेको छ । पालिका तहमा बनेका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा तत्काल आधुनिक उपकरण, दक्ष जनशक्तिसहितको सेवा सञ्चालन गर्न पहल गर्ने लगायतका विषय स्वास्थ्यसँग समेटेका छन् । 
शिक्षक तथा सरोकारवालाहरूसँग भएको विगतका सम्झौताहरूको आधारमा नयाँ सङ्घीय शिक्षा÷विद्यालय शिक्षा ऐन जारी गर्दै शिक्षाको गुणस्तरमा एकरुपता ल्याउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता सचिव राईले सार्वजनिक गर्नुभएको छ ।