११ फागुन (२०८२), झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो देशलाई सम्हाल्नसक्ने शक्ति एमाले मात्र रहेको बताउनुभएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर ५, दमकमा आज नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभामा उहाँले आगामी चुनावपछि एमालेले नै देशलाई सम्हाल्ने बताउनुभयो । देशमा भएको तोडफोड, आगजनी र विध्वंसबाट देश र लोकतन्त्रलाई क्षति भए पनि देश सम्हाल्ने पार्टी एमाले जनताकै बीचमा रहेको अध्यक्ष ओलीले बताउनुभयो ।
देशमा अराजकता सिर्जना गरेर, नागरिकलाई भ्रमित पारेर र सामाजिक सहिष्णुता विथोलेर निर्वाचन जित्न नसकिने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले जनताका बीचमा गएर काम गर्ने, देशलाई समृद्धिको युगमा प्रवेश गराउने, शिक्षा–स्वास्थ्य–रोजगारी जस्ता क्षेत्रमा नागरिकको पहुँच अभिवृिद्ध गर्ने पार्टी कुन हो ? नेपाली जनताले चिनिसकेको समेत बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहनुभएका पूर्वप्रधानमन्त्री ओलीले एमालेको पहिलो प्राथमिकता देश भएको बताउनुभयो ।
उहाँले एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको स्पष्ट पार्नुभयो । ‘एमाले भन्छ—अरू सबै कुरा पछि, देश पहिले’, उहाँको भनाइ थियो ।
नेशनल भोलेण्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– राज्य संयन्त्रको भर मात्रै पर्याप्त नहुने रहेछ भन्ने सिकाइबाट देश जोगाउन यो फोर्स गठन गरिएको हो ।
आन्दोलनको नाममा विगतमा देशमा अराजकता मच्चाइएको प्रसङ्ग उल्लेख गर्दै उहाँले अब यस्तो अवस्था दोहोरिन नदिने दृढता व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो– अब नेशनल युथ फोर्स बनेको छ, कसैले देश जलाउन सक्दैन, प्रहरीका हतियार खोस्न सक्दैन ।
उहाँका अनुसार नेशनल भोलेण्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित संरचना हो, जसले विशेष गरी प्रहरी प्रशासनलाई सहयोग गर्नेछ । प्रहरीमाथि आक्रमण हुन नदिने र शान्ति–सुरक्षा कायम राख्न सहकार्य गर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिनुभयो । ‘कसैले बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छ, यहाँ नेशनल भोलेण्टियर फोर्स छ’, उहाँले भन्नुभयो–यो जनताको शक्ति हो र अनुशासनमा बसेर काम गर्छ ।