detail-img

विकास र एमाले पर्यायवाची, दाङको समृद्धिको नेतृत्व एमालेले गर्छः महासचिव पोखरेल

१२ फागुन (२०८२), दाङ । नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शंकर पोखरेलले विकास र एमाले एक–अर्काका पर्यायवाची भएको बताउनुभएको छ । 
घोराही–१३, भ्यूडरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्रको नेतृत्व गर्न सक्ने सक्षम र अनुभवी पार्टी एमाले मात्र भएको बताउनुभयो ।
विगतमा सङ्घीय संसदमा एमालेलाई जिताउन नसक्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि परेको उल्लेख गर्दै उहाँले अबको निर्वाचनमा एमालेलाई सशक्त रूपमा जिताउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– केन्द्रमा एमालेको मजबुत उपस्थिति नभएसम्म दाङले अपेक्षित बजेट, योजना र नीतिगत प्राथमिकता पाउन सक्दैन, जिताएमा एमालेले दाङको समृद्धिको नेतृत्व गर्छ ।
दाङको आर्थिक रूपान्तरणका लागि ३५० विगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अगाडि बढाइने बताउँदै उहाँले उद्योग, रोजगारी र उत्पादन वृद्धिमार्फत दाङलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको जानकारी गराउनुभयो । 
महासचिव पोखरेलले पर्यटन प्रवद्र्धनतर्फ बाह्रकुने, ज्यामिरे र मौलाकोटलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्भावनालाई उपयोग गर्दै उहाँले दाङलाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र बनाउने अठोट व्यक्त गर्नुभयो । 
आफू मुख्यमन्त्री हुँदा आर्थिक पारदर्शिता, सुशासन र नतिजामुखी विकासलाई प्राथमिकतामा राखेर काम गरेको स्मरण गर्दै महासचिव पोखरेलले पूर्वाधार, स्वास्थ्य र शिक्षाका क्षेत्रमा थालिएका योजनाले त्यसको प्रमाण दिने बताउनुभयो । उहाँले भन्नुभयो– सुशासन र पारदर्शितासहित काम गर्दा परिणाम देखिन्छ, त्यसैले दाङको समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक छ ।
महासचिव पोखरेलले कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर विकासको एजेन्डा घर–घरमा पुर्याउन आग्रह गर्नुभयो । 
यसैगरी, तुलसीपुर–१७ मजगाउँमा आयोजित चुनावी सभामा बोल्दै महासचिव पोखरेलले विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पुर्याउन सक्षम र प्रभावकारी नेतृत्व आवश्यक रहेको बताउनुभयो । उहाँले अधुरा योजना पूरा गर्न र सुरु भइसकेका आयोजना सम्पन्न गर्न आफूलाई पुनः अवसर दिन मतदातासमक्ष आग्रह गर्नुभयोे ।
महासचिव पोखरेलले भन्नुभयो– दाङको विकास र समृद्धिका लागि शंकर पोखरेल अपरिहार्य छ भन्ने अभियान घर–घरमा पुर्याइदिनुहोस् । अधुरा काम पूरा गर्न र सुरु भएका योजनालाई निष्कर्षमा पुर्याउन सक्षम नेतृत्व आवश्यक छ ।
आफू मुख्यमन्त्री हुँदा दाङको विकासको आधार तयार भएको तर सरकारबाट बाहिरिएपछि केही काम रोकिए, अब ती योजनालाई पुनः गति दिन आवश्यक रहेको उहाँको भनाइ थियो । 
महासचिव पोखरेलले घोराही–तुलसीपुर चारलेन सडक आफ्नै पहलमा सुरु भएको उल्लेख गर्दै विजौरी–दहवन हुँदै शहीद मार्ग विस्तार तथा मानपुर–जलकुण्डी सडक स्तरोन्नतिजस्ता आयोजना मध्य दाङको विकासका लागि अनिवार्य रहेको बताउनुभयो । 
स्वास्थ्य क्षेत्रतर्फ उल्लेखनीय प्रगति भएको भन्दै उहाँले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुनु जिल्लाका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । 
दाङका अस्पताललाई विशेषज्ञ सेवा दिने स्तरमा विकास गरिएको उल्लेख गर्दै महासचिव पोखरेलले अब प्राविधिक शिक्षा र स्वास्थ्य सेवा जिल्लामै सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयोे । उहाँले काठमाडौँबाट बजेट ल्याउन र नीतिगत निर्णयमा प्रभाव पार्न सक्ने प्रतिनिधि दाङले रोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो । महासचिव पोखरेलले आफूहरू समृद्ध दाङ बनाउने लक्ष्यसहित अघि बढेका जानकारी गराउनुभयो ।