३ जेठ (२०८२), काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीब्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताउनुभएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले देशलाई बिगार्न नदिन र विना व्यवधान सुशासनलाई तीब्र गतिले अगाडि बढाउन एमालेलाई बहुमतको सरकार चाहिने बताउनुभयो । ‘मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न ढिलो भइसक्यौं, अब भ्रममा रहनु हुँदैन । साना साना स्वार्थ लिएकाहरूले हामी विरुद्ध भ्रम फिँजाएका छन् । त्यस्तो भ्रममा पर्नु हुँदैन । एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाले साथ दिनुपर्छ’, अध्यक्ष ओलीले भन्नुभयो– म युवालाई एमालेमा आउनुस्, एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उल्काउन चाहन्नँ । आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ । मेसी, एम्बापे पनि एकै दिन बनेका होइनन् । कोही पनि रहर लागेर तुरुन्तै डाक्टर, इञ्जिनियर हुँदैनन् । मेहनत र समय आवश्यक हुन्छ । यो वास्तविकता तपाईंहरूले बुझ्नुपर्छ ।
कार्यक्रममा युवा चिकित्सक, इन्जिनियरसहित करिब १०० जना एमालेमा प्रवेश गरेका थिए भने स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका युवा व्यवसायीलाई सम्मान गरिएको थियो ।