detail-img

भोलि ३२औं मदन–आश्रित स्मृति दिवसः नेताहरूप्रति सम्मान प्रकट गर्ने दिन, विचार स्थापित गर्ने अवसर  

२ जेठ (२०८२), काठमाडौं । जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रित (मदन–आश्रित)को ३२औं स्मृति दिवस भोलि शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी विशेष रूपमा मनाइँदै छ । 
नेकपा (एमाले)ले पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई परिपत्र गरी स्मृति सभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्यहरू सम्पादन गर्न निर्देशन गरेको छ । 
काठमाडौंमा विगत बर्षहरूजस्तै मदन नगर बल्खुमा स्मृति कार्यक्रम आयोजना गरिने छ । स्मृति कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र मदन–आश्रित परिवारका सदस्यहरूलाई निमन्त्रणा गरिएको छ । 
कार्यक्रमको तयारीका सन्दर्भमा विहीबार पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय विभागहरू, उपत्यकाका तीन जिल्ला कमिटी, जनसङ्गठनहरू र सम्पर्क मञ्चका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थितिमा बैठक बस्यो । 
बैठकमा महासचिव शंकर पोखरेलले यस बर्षको मदन–आश्रित स्मृति दिवसलाई ऐतिहासिक बनाउनुपर्ने बताउँदै त्यस अनुसार तयारी गर्न निर्देशन दिनुभयो । 
यो दिनलाई पार्टीपङ्तीले स्वर्गीय नेताहरूप्रति सम्मान र स्मरण गर्ने दिनका साथै विचारलाई स्थापित गर्ने अवसरका रूपमा लिनुपर्ने उहाँले बताउनुुभयो । 
यतिबेला नेपाली समाज विचार शुन्यता र राजनीतिप्रति वितृष्णाको हावाबाट प्रभावित भइरहेकाले त्यसलाई चिरेर राजनीति र विचारप्रति विश्वास जागृत गर्ने काम गर्नुपर्ने उहाँको धारणा छ । नेकपा (एमाले) वैचारिक रूपमा जनताको बहुदलीय जनवाद (जबज)को दिशानिर्देशमा अगाडि बढिरहेको छ । 
जननेता भण्डारी र कुशल सङ्गठक आश्रितकोे रहस्यमय हत्या भएको जेठ ३ गते ३२ बर्ष पुग्दै छ । उहाँहरूको २०५० जेठ ३ गते दासढुङ्गामा रहस्यमय गाडि दुर्घटनामा हत्या भएको थियो ।