detail-img

वातावरणीय महत्वबारे विश्वलाई ध्यानाकर्षण गराउन सगरमाथा संवादः प्रधानमन्त्री

२ जेठ (२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वलाई गम्भीररूपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको बताउनुभएको छ ।
सगरमाथा संवादको पूर्वसन्ध्यामा विहीबार नेपाली उच्चपदाधिकारीहरूका लागि प्रधानमन्त्रीद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वातावरणीय मुद्धामा लापर्वाही र विलम्व गरिए विनाशमा पुगिने भएकाले यसमा दुनियाँको ध्यान पुग्न जरूरी रहेको बताउनुभयो । 
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाशीध प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, मन्त्रीगणलगायत सहभागी हुनुहुन्थ्यो ।
यही जेठ २ गतेदेखि ४ गतेसम्म नेपाल सरकारले पहिलो पटक काठमाडौंमा सगरमाथा संवादको आयोजना गरेको छ । कार्यक्रमका लागि विहीबारसम्म ३७ देशका १६० विदेशी पाहुना नेपाल आइसकेका छन् ।