३२औं मदन–आश्रित स्मृति कार्यक्रम
३ जेठ (२०८२), काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारविना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताउनुभएको छ ।
नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२औं स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि एकता नभई सही विचारमा अरुलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिनुभयो ।
‘सही कुरालाई पनि विरोध गरेर बखेडा निकाल्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा इतिहासदेखि नै देखा पर्दै आए । खास वैचारिक भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका आधारमा दुई लाइनको कुस्ती चलाइयो । पार्टी विभाजन गरेर नामका लागि एकीकृत राख्ने प्रवृत्ति पनि छ’, अध्यक्ष ओलीले भन्नुभयो– पार्टी भने सही धारमै जान खोज्दै आयो । मदन भण्डारीको अगुवाइमा ल्याइएको जनताको बहुदलीय जनवादको विचारले कम्युनिष्टहरू निरङ्कुश हुन्छन् भन्ने हामीमाथिको आरोपलाई खण्डन गर्यो । यो विचार राजनीतिक लोकतन्त्रका लागि मात्र होइन, आर्थिक र सामाजिक तथा मानव अधिकारका प्रश्नमा समेत राष्ट्रिय नीतिका रूपमा स्थापित भइसकेको छ । यसै जगमा हामीले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी लाग्नुपर्नेछ ।
प्रधानमन्त्री ओलीले शक्तिका स्रोत जनता नै हुन् भन्ने मान्यताका साथ जनताको शासन कायम गर्न खोजिएको उल्लेख गर्दै देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई नेकपा (एमाले)ले कहिल्यै नछोडेको स्पष्ट गर्नुभयो ।
उहाँले अब नेपालमा कुनै प्रकारको प्रतिगमन सम्भव नभएको र स्वीकार्य नहुने बताउँदै आफ्नो नेतृत्वको सरकारको समयमा मुलुक अग्रगमणको सुनिश्चिततामात्र सम्भव रहेको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने प्रतिगमनकारीको प्रयास असफल हुने शिवाय केही हुने छैन भन्नुभयो ।
अध्यक्ष ओलीले एमालेको नेतृत्वलाई बदनाम गरेर ढाल्न सके पार्टी ढाल्न सकिन्छ भन्ने तत्वहरूले व्यक्ति केन्द्रित गरेर अनेक षड्यन्त्र र प्रहार गरे पनि एमाले हरेक परिस्थितिको सामना गर्न तयार रहेकाले कार्यकर्ताहरूलाई एकताबद्ध भएर ढुक्कका साथ अघि बढ्न आग्रह गर्नुभयो ।
विगतमा आफूले सरकारको नेतृत्व गर्दा पार्टीभित्रकै विग्रहवादी तत्वका कारण सरकार ढाल्ने र अदालतको आदेशबाट सरकार गठन गराउने गलत अभ्यास भएको उहाँले स्मरण गर्नुभयो ।
अध्यक्ष ओलीले जननेता भण्डारी कम्युनिष्ट आन्दोलनलाई समयानुकूल रुपमा हाँक्ने नीतिकार रणनीतिकार भएको स्मरण गर्दै विश्वमा कम्युनिष्ट आन्दोलन धराशयी हुँदै गएका बेला जबजको वैचारिक अगुवाइमा पार्टीलाई लोकप्रिय र क्रमशः दुई तिहाइको अवस्थासम्म पुर्याएको बताउनुभयो ।
जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाज रूपान्तरण
कार्यक्रम सञ्चालन गर्दै महासचिव शंकर पोखरेलले जननेता मदन भण्डारीको अगुवाईमा प्रतिपादन गरिएको जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाज रूपान्तरणमा अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले नेकपा (एमाले) ले सरकारको नेतृत्व गर्दा समाज रूपान्तरणमा ऐतिहासिक र महत्वपूर्ण काम भएको बताउनुभयो ।
यतिवेला आफ्नो गलत स्वार्थ पूरा गर्न नपाएकाहरूले पार्टी र पार्टीको नेतृत्व विरूद्ध चौतर्फी हमला गरिरहे पनि नेकपा –एमाले) हरेक चुनौतीको सामना गर्न र सबै खालका हमलालाई परास्त गर्न सफल हुने विश्वास महासचिव पोखरेलले व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जबजको विकासमा निरन्तर अगाडि बढिरहेको चर्चा गर्दै आजको दिन आफ्ना प्रिय नेताहरूप्रति सम्मान प्रकट गर्ने साथै पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सङ्कल्प गर्ने दिन भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, अन्य पदाधिकारीहरू, आश्रित पत्नी माया ज्ञवालीलगायत ठूलो सङ्ख्यामा नेताकार्यकर्ताहरू सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा अध्यक्ष ओलीसहित नेता कार्यकर्ताले दिवंगत नेताप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।