detail-img

पोलिटव्यूरो सदस्य बाँस्कोटा काभ्रे–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित

बनेपा ।  काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार गोकुल बाँस्कोटा निर्वाचित हुनुभएको छ । 
एमाले पोलिटव्यूरो सदस्य बाँस्कोटाले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गर्नुभएको छ । 
उहाँले ४५ हजार ३४५ मत प्राप्त गर्नुभएको छ भने हुमागाईंले ३९ हजार ४८२ मत ल्याउनुभयो । निर्वाचन परिणाम घोषणापछि आजै समर्थकहरुले हर्सोल्लासका साथ विजय र्याली निकाले । 
बाँस्कोटा २०७४ सालको निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

श्रेष्ठ सिरहा–१ बाट दोस्रो पटक
प्रतिनिधि सभा सदस्य निर्वाचित

सिरहा । सिरहाको निर्वाचन क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लीलानाथ श्रेष्ठ निर्वाचित हुनुभएको छ । 
उहाँले २८ हजार ६४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाउनुभएको छ । 
एमाले पोलिटव्यूरो सदस्य श्रेष्ठ २०७४ सालमा पनि यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

युवा नेता गैरे पाल्पा–२ बाट
प्रतिनिधि सभा सदस्य निर्वाचित

पाल्पा । प्रतिनिधि सभा सदस्यमा पाल्पा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा (एमाले) का उम्मेदवार ठाकुर गैरे निर्वाचित हुनुभएको छ ।
उहाँले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पछाडि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुुनुभएको हो । 
एमाले पोलिटव्यूरो सदस्य गैरेले २७ हजार ८१७ मत पाउँदा  पाण्डेले २३ हजार ८५१ मत ल्याउनुभएको छ ।

पाल्पा– १ मा आचार्य विजयी 

पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का नारायणप्रसाद आचार्य निर्वाचित हुनुभएको छ । 
आचार्यले ३१ हजार १०३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५६ मत पाउनुभएको छ । 
प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्य २०७४ को निर्वाचनमा क्षेत्र नं. १ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।  
कन्चनपुर–१ बाट लामा 
प्रतिनिधिसभा सदस्यमा विजयी

महेन्द्रनगर । कन्चनपुरको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार तारा लामा निर्वाचित हुनुभएको छ । 
लामाले २४ हजार ८९२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी वीना मगरलाई पराजित गर्नुभएको छ । 
लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य पनि हुनुहुन्छ ।