detail-img

स्व. अधिकारी समकालीन राजनीतिका निष्कलङ्क, सादगी र सम्मानित नेता 

काठमाडौं । पूर्व राष्ट्रपति भण्डारीले नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी नेपालको समकालीन राजनीतिका निष्कलङ्क र सम्मानित नेता भएको बताउनुभएको छ । 
नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा (एमाले)का तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार सानेपा ललितपुरमा आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले उक्त कुरा बताउनुभएको हो । 
पूर्व राष्ट्रपति भण्डारीले स्व. अधिकारीलाई नेपालका ज्येष्ठ नागरिक र ग्रामीण भेगका जनताले सच्चा मित्र र असल नेताको रूपमा सम्झने गरेको बताउनुभयो । 
नेकपा (एमाले) का तत्कालीन अध्यक्ष अधिकारी नेतृत्वको सरकारले ल्याएको ज्येष्ठ नागरिक भत्ता दक्षिण एसियाकै सामाजिक सुरक्षाको नमुना कार्यक्रम भएको उहाँले बताउनुभयो । 
स्व. अधिकारी नेपालको कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व भएको र राणा शासन, पञ्चायत विरुद्धको आन्दोलनमा सहभागी हुने सिलसिलामा उहाँले पटक पटक गरी लामो जेल जीवन बिताउनुभएको पूर्व राष्ट्रपति भण्डारीले बताउनुभयो । उहाँले गाउँको विकास र मुलुकको अन्तर्राष्ट्रिय छवि उज्यालो बनाउन स्व.अधिकारीको महत्वपूर्ण योगदान रहेको भण्डारीको धारणा छ । 
मनमोहन अधिकारीको सिङ्गो जीवन नयाँ पुस्ताको लागि अध्ययन गर्नुपर्ने खुल्ला किताब भएको बताउँदै पूर्वराष्ट्रपति भण्डारीले आजका उपलब्धि उहाँजस्तै नेताहरूको त्याग र बलिदानले प्राप्त भएको स्पष्ट पार्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले नेकपा माक्र्सवादी र नेकपा (माले) एकीकरण, त्यस अघि बाममोर्चाको गठनका सन्दर्भमा मनमोहन अधिकारीसँगका भेट र उहाँबाट प्राप्त प्रेरणाको स्मरण पनि गर्नुभयो । 
पूर्वराष्ट्रपति भण्डारीले स्व. अधिकारीको शालिकमा माल्यार्पण गरी श्रद्धासुमन प्रकट गर्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको सादगी र कहिल्यै विवादमा नपरेको नेता भएको बताउनुभयो । 
स्व. अधिकारीले आफूलाई कुनै पदले भन्दा पनि सधैभरि एउटा असल मान्छेको रूपमा सबैले चिनिदिउन् भन्ने मान्यता राख्ने नेता भएको बरिष्ठ उपाध्यक्ष पोखरेलले स्मरण गर्नुभयो । 
स्व.अधिकारीले भारतीय कम्युनिष्ट पार्टीमा आबद्ध भएर भारतीय स्वतन्त्रता सङ्ग्राममा समेत योगदान गर्नुभएको हुँदा उहाँलाई नेपालको कम्युनिष्ट पार्टी भन्दा पनि जेठा कम्युनिष्टको रूपमा चिनिने बरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । 
विराटनगरमा श्रमिक आन्दोलनको अगुवाई गरी पक्राउ परेकाका कारण अधिकारी नेपाल कम्युनिष्ट पार्टीको संस्थापक हुन नपाएको उहाँले स्पष्ट गर्नुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– उहाँलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा पनि हामीले बुझ्नुपर्छ, सम्झनुपर्छ  । 
नेपालको भूराजनीतिक संवेदनशीलताप्रति सधै संवेदनशील र गम्भीर रहनुभएका स्व. अधिकारीले नेपाललाई बलियो राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्ने गर्नुभएको उहाँले स्मरण गर्नुभयो । उहाँले देखाउनु भएको सो बाटोमा अघि बढ्नु आजको आवश्यकता रहेको बरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । 
स्व.अधिकारीको प्राविधिक शिक्षा, कृषि र सामाजिक सुरक्षाको क्षेत्रमा विशेष लगाव रहेको हुँदा प्रतिष्ठानले ती क्षेत्रमा काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । 
प्रतिष्ठानका अध्यक्ष पोखरेलले स्व.अधिकारी जुन विचार बोकेर अघि बढ्नु भएको थियो, त्यो विचारलाई प्रतिष्ठानले निरन्तर बोकेर हिँड्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मनमोहन अधिकारी जीवन गाथाको विमोचन गरिएको थियो । पूर्व राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूलाई माला लगाई विदाई गर्नुभएको थियो । 
कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णु पौडेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव योगेश भट्टराई, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका नेताहरूको उपस्थिति रहेको थियो । नेकपा (एमाले)का केन्द्रीय सदस्य शान्ति अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा हरिप्रसाद काफ्लेले स्वागत गर्नुभएको थियो ।