detail-img

परराष्ट्र मामिला विभागको नियमित मासिक प्रस्तुति सम्पन्न 

२० बैशाख (२०८१),   काठमाडौं । नेकपा (एमाले) परराष्ट्र मामिला विभागद्वारा नियमित रूपमा सञ्चालन गर्दै आएको विश्व राजनीतिका विभिन्न पक्ष विषयको समसामयिक मासिक प्रस्तुतिको पछिल्लो श्रृङ्खला बुधबार सम्पन्न भएको छ । 
पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा भएको कार्यक्रममा यसपटक दक्षिण एसियाली मुलुकमा भएका निर्वाचन, निर्वाचन सिर्जित परिस्थिति र नेपालमा त्यसका प्रभाव लगायत विषयमा दुई विज्ञ सदस्यहरूले आ–आफ्ना अध्ययन र विश्लेषण प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा पूर्व राजदूत उदयराज पाण्डेले छिमेकी मित्रराष्ट्र भारतको जारी निर्वाचनका सम्बन्धमा आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो । उहाँ हालै भारतका विभिन्न राज्यको भ्रमण गरी फर्कनुभएको हो । 
त्यसैगरी विभाग सदस्य तथा दक्षिण एसिया डेस्क हेर्नुहुने दीपेन्द्र श्रेष्ठले पाकिस्तान, बंगलादेश र माल्दिभ्समा सम्पन्न निर्वाचन, त्यसपछिका ती देशको राजनीतिक परिस्थिति, त्यसले नेपाल र दक्षिण एसियाली राष्ट्रको साझा फोरम ‘सार्क’लाई सुचारु बनाउने प्रयासमा हुनसक्ने विलम्ब  लगायत विषयमा आफ्नो विश्लेषण प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा विभाग प्रमुख डाक्टर राजन भट्टराई, स्थायी कमिटी सदस्य रघुजी पन्त लगायत पार्टीका केन्द्रीय सदस्य, विभिन्न विभागका प्रमुख, सचिव र परराष्ट्र मामिला विभागका सदस्यहरूको उपस्थिति रहेको थियो । विषय प्रस्तुतिपछि सहभागीहरूले आ–आफ्ना जिज्ञासा र सुझाव राख्नुभएको थियो ।