detail-img

कम्युनिष्ट पार्टीका ७५ बर्ष गौरवका बर्षः अध्यक्ष ओली

नेकपा स्थापनाको ७५बर्ष पूरा, हीरक महोत्सव समारोह आयोजित 

पूर्व राष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव’बाट सम्मानित 

गणतन्त्रको रक्षा, विकास र समृद्धिका लागि सहकार्यमा शीर्ष नेताहरूको जोड

१० बैशाख (२०८१), काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुरा भई ७६ वर्ष लागेको अवसरमा नेकपा (एमाले)ले हीरक महोत्सव समारोहको आयोजना गरेको छ ।    
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा आज आयोजित हीरक महोत्सव समारोहलाई सम्वोधन गर्दै तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले लामो सङ्घर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा र सम्वर्द्धन गर्दै विकास र समृद्धिको यात्रामा सहमतिका साथ अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । 
समारोहमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान प्रदान गरियो । 
समारोहमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल, डा.बाबुराम भट्टराई, मन्त्रिपरिष्द्का अध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न राजनीतिक दलका नेताहरू र समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो । 

समारोहलाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणका लागि सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो । 
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
वर्तमान सरकार र सत्तारुढ दलहरू मुलुकबाट गरीबी हटाउने गरी ठोस योजना बनाउने काममा लाग्नुपर्ने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले २१औं शताब्दीमा, प्रगतिशील र लोकतान्त्रिक सरकारहरू रहेको अवस्थामा पनि गरिबी र भोकमरीका समस्या रहनु अशोभनीय हुने हुँदा त्यसको अन्त्यका लागि काम गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीका ७५ बर्ष उथलपुथलले भरिएका बर्ष भएको र यी बर्ष घटनाक्रम र परिवर्तनका लागि अगुवाइ गरिएका बर्षहरू भएको बताउनुभयो ।  
उहाँले कम्युनिष्ट पार्टीकै कारण राणा शासन र निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भएको, राजतन्त्र समाप्त भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– यस अवधिमा हामीले जनताको सर्वोच्चता कायम गरेका छौं, यो गर्वको विषय हो । राष्ट्रपति जनताको सर्वोच्चताको प्रतिक भएको उहाँले बताउनुभयो ।  
यस उपलब्धिसँगै कम्युनिष्ट आन्दोलनले पटक पटक विभाजनको पीडा पनि भोग्नुपरेको अध्यक्ष ओलीले स्मरण गर्नुभयो । अहिले पनि एमालेमा कसरी मतभेद र विवाद सिर्जना गर्न सकिन्छ भनेर प्रयास हुने गरे पनि एमाले एकताबद्ध र एकढिक्का रहेको उल्लेख गर्दै  त्यस्ता प्रयासप्रति सतर्क भने रहनुपर्ने उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– नेकपा (एमाले) आज एकताबद्ध, एकढिक्का छ र एकताबद्ध रहने छ । एमालेले आफ्नो काँधमा रहेको अभिभारा बुझेको छ । समृद्ध नेपाल सुखी नेपाली बनाउने अभिभारा बुझेको छ । 
उहाँले त्यो अभिभारा पुरा गर्ने काम एमालेले एक्लै नभई देशभक्त तथा परिवर्तनका पक्षधर अन्य व्यक्ति र शक्तिहरूलाई पनि साथै लिएर गर्ने स्पष्ट गर्नुभयो । एमालेले पदको नभई विचारको अगुवाइ गर्ने भनाइ अध्यक्ष ओलीले राख्नुभयो  ।  
उहाँले कम्युनिष्ट पार्टी स्थापनाको एकसयबर्ष पुग्दा अर्थात अबको पच्चीस बर्षमा समृद्धि नेपाल सुखी नेपालीको गन्तव्यमा पुग्ने गरी काम गरिने छ भन्नुभयो ।  
अध्यक्ष ओलीले राष्ट्रियता, सार्वभौसत्ता, स्वाधीनता, राष्ट्रिय हितको रक्षा, देशको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने सन्दर्भमा कम्युनिष्ट पार्टीको अत्यन्त महत्वपूर्ण, उल्लेखनीय र गर्व गर्न लायक भूमिका रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टीले गौरवका ७५बर्ष पार गरिरहँदा गौरवभित्र ठूलो बलिदान, सङ्घर्ष रहेको स्मरण गर्दै आन्दोलनमा बलिदान गर्ने, योगदान गर्ने अग्रजहरू, कम्युनिष्ट पार्टी स्थापना गर्नुहुने संस्थापक महासचिव पुष्पलालसहितका संस्थापकहरू, पार्टीको रक्षा, विकास र युगलाई बाटो देखाउने जननेता मदन भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी लगायत नेताहरूप्रति सम्मान प्रकट गर्नुभयो । 
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले संविधानको मर्मअनुसार समाजवादको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– हामीले जे–जति राजनीतिक उपलब्धि प्राप्त गरेका छौँ, ती सबै राजनीतिक समझदारी एवं एकताबाटै प्राप्त गरेका हौँ । हामीले समझदारी गर्दा ठूलाठूला उपलब्धि हासिल गरेका छौँ, हामी विमतितिर तथा एकअर्काप्रति विद्वेषतर्फ जाँदा नेपाली जनताले दुःख पाउने स्थिति सिर्जना भयो । 
उहाँले आजको दिन राजनीतिक दलबीच समझदारी र सहमतिको यात्रा तय गर्ने नयाँ दिन बनोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।  
विभिन्न कम्युनिष्ट धाराको प्रतिनिधित्व गर्ने कम्युनिष्टहरू, नेपाली कांग्रेस एवं अन्य दलको योगदानबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दलहरूबीच सहकार्य तथा समझदारीको वातावरण हुँदामात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने बताउनुभयो । 
उहाँले भन्नुभयो– अहिले समानुपातिक एवं समावेशी मान्यतासहितको सङ्घीय गणतन्त्रमाथि प्रहार गर्ने काम भइरहेको छ, त्यसकाविरुद्ध लोकतन्त्रलाई सुदृढ गर्न  तथा सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न सबै राजनीतिक दल लाग्नुपर्छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा काम र कमीकमजोरीको समीक्षा गरेर अगाडि बढ्नपर्ने बताउँदै कम्युनिष्ट पार्टीबीचको सहकार्यलाई अगाडि बढाउँदै समयक्रममा एकताको अवस्थामा पुर्याउन सकिने धारणा राख्नुभयो । 
उहाँले भन्नुभयो– हौसिएर हतारमा कम्युनिस्ट एकताको पक्षमा छैनौँ । नेकपा बनाउँदा हामी अलि हतारिएर हौसिएछौँ जस्तो भएको छ । अहिले फेरि सहकार्य भएको छ । विगतको तितो यथार्थबाट पाठ सिकेर अगाडि बढ्न आवश्यक छ ।
उहाँले कम्युनिस्ट पार्टीबीच एकता र सहकार्य हुँदा विगतमा दुईतिहाइ मत ल्याएको स्मरण गर्दै सम्पूर्ण कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आउन आवश्यक रहेको बताउनुभयो । 
उहाँले विगतमा कम्युनिष्ट आन्दोलन नेताहरूबीचको विश्वास र अविश्वासबाट गुज्रिएको भए पनि नयाँ प्रक्रियातर्फ अगाडि बढ्नका लागि आफूले एमाले अध्यक्ष ओलीलाई विश्वास गरेको बताउनुभयो । 
प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले)ले हीरक महोत्सव समारोहमा सबै राजनीतिक दलहरूलाई निमन्त्रणा गरेर देश एकढिक्का छ भन्ने सन्देश दिएको भनाइ राख्नुभयो । 
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीतिक इतिहासमा कम्युनिष्ट पार्टीको विशेष स्थान रहेको बताउनुभयो । 
सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गरिएका आन्दोलन र संविधान निर्माणका समयमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरूबीच भएको सहकार्यको स्मरण गर्दै अहिले पनि त्यो आवश्यक रहेको र सम्वाद तथा सहकार्य कांग्रेसको नीति रहेको बताउनुभयो । 
उहाँले भन्नुभयो– संविधानको रक्षा, गणतन्त्र, नागरिक अधिकारको सुरक्षा, सुशासन, विकास र समृद्धिका लागि हामीबीच न्यूनतम सहमति आवश्यक छ । 
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा जननेता मदन भण्डारीका रचनाहरूको अङ्गेजी अनुवाद पुस्तक विमोचन गरिएको थियो । कार्यक्रममा कम्युनिष्ट पार्टीको ७५बर्षे इतिहासको बृत्तचित्र प्रस्तुत गरिएको थियो । 
नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ साल अर्थात सन् १९४९ अप्रित २२ तारिखमा भारतको कोलकातास्थित श्याम बजारमा भएको थियो । नेकपाका संस्थापकहरूमा पुष्पलाल, निरन्जन गोविन्द बैद्य, नरबहादुर कर्माचार्य, नारायण विलाश जोशी र मोतीदेवी श्रेष्ठ हुनुहुन्छ ।