detail-img

‘देशलाई निकास र विकास दिन एमालेको सरकार आवश्यक’

कपिलवस्तु । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतको परमादेशबाट जन्मिएको वर्तमान गठबन्धन सरकारले जनताका निम्ति कुनै काम गर्न नसकेको बताउनुभएको छ । 
उहाँले अहिले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउँदै देशलाई निकास र विकास दिन अब एमालेको सरकार आउनुपर्ने बताउनुभयो । 
नेकपा (एमाले) कपिलबस्तुले आइतबार आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 
उहाँले निर्वाचन आयोगले सिफारिस गर्दा समेत वर्तमान गठबन्धन  सरकार निर्वाचन गराउन नचाहेको भन्दै एमालेले पटक पटक  दबाब दिएका   कारण नै संघ र प्रदेशको निर्वाचनको मिति तोक्न बाध्य भएको औल्याउनुभयो ।


प्रशिक्षण कार्यक्रममा बोल्दै एमालेका सचिव एवं लुम्विनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टी संगठनको शुद्धीकरण, सुदृढीकरण र पुनःव्यवस्थित गर्दै अहिले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो  । 
उहाँले मंसिर ४ को निर्वाचनबाट एमाले पुनः सबैभन्दा ठूलो दल बन्नबाट कसैले रोक्न नसक्ने वताउनुभयो । 
सचिव विश्वकर्माले स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै र कमी कमजोरीहरूलाई सच्याउँदै पार्टी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 
उहाँले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा नयाँ उर्जाका साथ आजैबाट लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।  
प्रशिक्षण कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य विमला घिमिरेले पार्टीलाई मजबुत बनाएर अगाडि बढ्न जरूरी रहेको बताउनुभयो । 
यस्तै केन्द्रीय सदस्य  गिरधारीलाल न्यौपानेले समावादी व्यवस्था स्थापना गर्नका निम्ति संघ र प्रदेशको चुनावमा  एमालेले जित्नैपर्ने वताउनुभयो । उहाँले गठबन्धनले जित्यो भने कांग्रेसको नेतृत्वमा समाजवाद नभई देश बर्बाद हुने र दलालपुँजीवाद आउने भनाई राख्नुभयो । 
नेकपा (एमाले) जिल्ला कमिटीका अध्यक्ष डम्मर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बलराम अधिकारी लगायतले पनि मन्तव्य राख्नुभएको थियो । 
उक्त प्रशिक्षण कार्यक्रममा करिव पाँच सय अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।