detail-img

हामी फेरि जित्ने छौं भन्ने आत्मविश्वासका साथ काममा लाग्न अध्यक्ष ओलीद्वारा पार्टीपङ्तीलाई आग्रह 

४ असार (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीपङ्तीलाई हामी फेरि जित्ने छौं भन्ने आत्मविश्वासका साथ पार्टी काममा लाग्न आग्रह गर्नुभएको छ ।  
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका सन्दर्भमा सुझाव सङ्कलन गर्न कपिलवस्तुको चन्द्रौटामा आज आयोजित लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । 
अध्यक्ष ओलीले पार्टीभित्र एकता, एकता र सुदृढ एकता आवश्यक रहेकाले यसमा सचेत भएर अगाडि बढ्न कार्यक्रममा सहभागी नेताकार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । 
पार्टीमा सांगठानिक अराजकता भयानक रुपमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीबाट केही गम्भीर सुधारहरूका निर्णय गरिने बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो–
–यतिबेला देश, हाम्रो पार्टी र हाम्रो आन्दोलन अफ्ठ्यारो अवस्थामा छन् । मानिसहरू दमित अवस्थामा छन्, बोल्नसक्ने अवस्थामा छैनन् । 
–निर्वाचनमा जसलाई पराजित गरेर जसलाई जिताउनुपर्ने थियो, सोही अनुसार निर्वाचनमा जादुमय तरिकाले जितको घोषणा गरिएको छ । 
–वर्तमान सरकार बनेदेखि नै, सरकारको पहिलो निर्णयबाट नै एमालेसँग पूर्वाग्रही ढङ्गले प्रतिशोध लिने काम भएको छ । 
–सरकारले गरेको (मेरो) गैरकानुनी गिरफ्तारीलाई अदालतले समेत कानुनी बनाइदिएको छ ।
–अहिले सरकारले सुकुम्वासीमाथि गरेको ज्यादती, ट्रेड युनियन, सञ्चारमाध्यम र विद्यार्थी संगठनमाथि हमला र नेपालले भारतको जमीन मिचेको छ भन्ने प्रधानमन्त्रीको षडयन्त्रपूर्ण अभिव्यक्तिविरूद्ध आवाज उठाउने, त्यस्ता क्रियाकलापको सामना गर्नुपर्ने परिस्थिति छ । 
–फाँसीवादी तानाशाही सरकारका देशविरोधी र जनविरोधी क्रियाकलापलाई उच्च मनोवलका साथ पराजित गर्नुपर्ने छ । 
–त्यसका लागि यतिबेला पार्टीभित्र सुदृढ एकता आवश्यक छ । तर यही बेला पार्टीभित्र (नेतृत्व परिवर्तनको) अत्यन्त असामयिक र असान्दर्भिक चर्चा उठेको छ । 
–हामीलाई यतिबेला पार्टीभित्र एकता, एकता र सुदृढ एकता आवश्यक छ । म कमरेडहरूलाई यसमा सचेत भएर अगाडि बढ्न आग्रह गर्दछु । 
–पार्टीभित्र असमझदारी, फाटो, तल तलबाट अनेकताका कुराहरू सुनिनु÷आउनु आन्दोलनको हितमा छैन ।
–पार्टीको सचिवालय बैठकले अब पार्टी कसरी अगाडि बढाउने भन्ने सिङ्गो पार्टीपङ्तीबाट राय लिने निर्णय गरेकाले पार्टीले सुझाव सङ्कलन थालेको हो । तपाईंहरूको राय पार्टी सुदृढ र एकताबद्ध बनाउने हिसावले आउनुपर्छ । 
–पार्टी एकताबद्ध नै छ । यसमा भ्रम नरहोस् । अध्यक्षलाई हटाउनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा होइन । यो पार्टीको ११औं महाधिवेशनबाट विधिसम्मत ढङ्गले, कार्यकर्ताको बुद्धिमत्तापूर्ण निर्णयबाट टुङ्गो लागेको विषय हो । 
–नेकपा (एमाले) अरुले भने जस्तो सिद्धिएको छैन । हामी सिद्धिएका छैनौं । हामीसँग विचारमा बाँधिएको संगठन छ । हामीसँग बलियो जनाधार छ । जनप्रतिनिधि छन् । समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य छ । जबजको मार्गदर्शनमा देशको समग्र रुपान्तरण गर्ने दृष्टिकोण हामीसँग छ । र, नेतृत्व पनि त्यसै अनुरुप बनाएका छौं । 
–हामीले सरकारमा रहँदा भूकम्पबाट ध्वस्त भएको देशलाई फेरि उठायौं । सामाजिक सुरक्षा, लोककल्याणका काम, आर्थिक विकास, सडक लगायत पूर्वाधार विकासका साथै राष्ट्रियताका मामिलामा दृढ अडान लियौं । यही कुरा मन नपराएका हाम्रा विरोधीले वैधानिक रुपमा नसकेपछि विध्वंश र उपद्रव मच्चाएर सत्तापलट गरे । 
–यो पार्टी धेरैको बलिदान, रगतपसिना, दुःखकष्टबाट बनेको हो । पटक पटक यसलाई भत्काउन प्रयास हुँदा पनि मजबुत किल्ला बनेको यस पार्टीलाई जतिसुकै कोशिश गरे पनि भत्किन दिन्नौं । 
–तपाईंहरुले महाधिवेशनबाट छानेको अध्यक्षले अनैतिक काम गर्दैन । सत्यको बाटो हिड्ने छ, विरोधीसँग आत्मसमर्पण गर्ने मान्छे होइन । अध्यक्षका सन्दर्भमा कुनै हल्ला आएको छ भने भ्रमका पछाडि पर्दै नपर्नुहोला । 
–पार्टीमा सांगठानिक अराजकता भयानक रुपमा रहेको छ । पार्टीको केन्द्रीय कमिटीबाट केही गम्भीर सुधारहरूका निर्णय गर्ने छौं । 
–हामी फेरि जित्ने छौं भन्ने आत्मविश्वासका साथ एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्न चाहन्छु । 

कार्यक्रममा पार्टीका उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मा लगायत नेताहरूको सहभागिता रहेको छ ।