detail-img

पार्टीलाई गतिशील र जुझारु बनाई एकताबद्ध रुपमा अगाडि बढाउनु अहिलेको आवश्यकताः अध्यक्ष ओली 

-पार्टीलाई वैचारिक, राजनीतिक, सांगठानिक सबै हिसावले एकताबद्ध गर्न कार्यदल गठन गरिएको हो
-फागुन २१ गतेको निर्वाचन भदौ २३/२४ को उपद्रव र विध्वंशबाट गरिएको सत्तापलटलाई वैधानिकता दिने निर्णायक अध्याय
-देशमा खतरनाक विधिद्वारा खतरनाक प्रतिगमन भएको र यसबाट राष्ट्रको भविष्य के हुने हो भन्ने गम्भीर प्रश्न खडा भएको छ

२ असार (२०८३), काठमाडौैं  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई गतिशील र जुझारु बनाई एकताबद्ध रुपमा अगाडि बढाउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलद्वारा विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुझाव सङ्कलन कार्यक्रमलाई मङ्गलबार भर्चुअल रुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताउनुभएको हो । 
पार्टीलाई वैचारिक, राजनीतिक, सांगठानिक सबै हिसावले एकताबद्ध गर्न कार्यदल गठन गरी देशव्यापी रुपमा सुझाव सङ्कलन थालिएको र आजको कार्यक्रम त्यसकै लागि भएको  बताउँदै अध्यक्ष ओलीले  भन्नुभयो– पार्टी सचिवालयको बैठकको निर्णय नै एकताबद्ध पार्टी निर्माण हो । 
निर्वाचनको समीक्षा गर्दा पार्टी कमिटी र जनताबीच, कार्यकर्ता र जनताबीच निरन्तर सुमधुर सम्बन्ध कायम रहनुपर्नेमा यसमा कहाँ कमी रह्यो, हामीविरुद्धका भ्रम किन चिर्न सकिएन ? जस्ता विषयमा ध्यान दिनुपर्ने बताउँदै अध्यक्ष ओलीले सिद्धान्त, नीति, विचार र संगठनको हिसावले पार्टी मजबुत रहेकाले सिथिल भएका कमिटीहरु पुनर्गठन गरिने स्पष्ट गर्नुभयो ।
उहाँले पार्टीमा शुद्धीकरण र सुदृढीकरणको प्रक्रिया पनि अगाडि बढाइने बताउनुभयो । 
विगतमा पार्टी सरकारमा रहँदा इतिहास बदल्ने ऐतिहासिक धेरै काम गरेको स्मरण गर्दै अध्यक्ष ओलीले सत्यमा आधारित भएर तिनको प्रचार गर्न नसक्दा जनता हाम्रा विरोधीले चलाएको भ्रमपूर्ण प्रचारबाट प्रभावित हुन पुगेको विश्लेषण सुनाउनुभयो । 
अध्यक्ष ओलीले फागुन २१ गतेको निर्वाचन भदौ २३÷२४ को उपद्रव र विध्वंशबाट गरिएको सत्तापलटलाई वैधानिकता दिने निर्णायक अध्याय भएको बताउनुभयो । उहाँले निर्वाचनमा जुन परिणाम आयो, यो जनताको अभिमत होइन भन्नुभयो । 
अध्यक्ष ओलीले देशमा खतरनाक विधिद्वारा खतरनाक प्रतिगमन भएको र यसबाट राष्ट्रको भविष्य के हुने हो भन्ने गम्भीर प्रश्न खडा भएको बताउनुभयो । 
अध्यक्ष ओलीले गर्नुभएको सम्वोधनका मुख्य बुँदाहरू–
–देशमा खतरनाक विधिद्वारा खतरनाक प्रतिगमन भएको छ । देश पछाडि फर्केको छ । यसबाट देशका सबै लोकतान्त्रिक शक्तिले धक्का खाएका छन् । हामीले अरुले भन्दा अलि बढी धक्का खाएका छौैं । राष्ट्रको भविष्य के हुने हो भन्ने गम्भीर प्रश्न खडा भएको छ । हामी अफ्ठ्यारो अवस्थामा छौं । यस स्थितिमा आजको कार्यक्रम धेरै महत्वपूर्ण छ । 
–हाम्रो पार्टी नीतिमा स्पष्ट, सुदृढ र सुसंगठित पार्टी हो । त्यसकारण उपद्रवबाट खाएको धक्कालाई पराजित गरेर देशलाई अगाडि बढाउने, लोकतन्त्र पुनस्र्थापना, शान्ति सुव्यवस्था फर्काएर विकासको गतिलाई अगाडि बढाउनुपर्ने छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कवितामा भने जस्तै देशमा सुनको विहान ल्याउनुपर्ने छ । 
–हामीले सरकारमा रहँदा इतिहास बदल्ने ऐतिहासिक काम गरेको छौं । धेरै जटिलताबीच संविधान सभाबाट संविधान जारी गरियो । त्यसपछि सिर्जना गरिएका व्यवधान हटाउँदै आर्थिक विकासकासाथै पूर्वाधार विकास, सुशासन, कृषि आधुनिकीकरण, युवा तथा महिला उद्यममा प्रोत्साहन लगायत देशलाई हरेक पक्षबाट अगाडि बढाइएको थियो । 
–हामीले गरेका कामको हामीले प्रचार गर्न सकेनौं, विरोधीहरूले हाम्राविरूद्ध भ्रमपूर्ण कुप्रचार गरे, कुप्रचारको हमलासँग टिक्न नसक्ने अवस्था बन्यो । 
–हामीसँग संगठित लाखौंको सङ्खामा मानवशक्ति हुँदाहुँदै पनि सत्य सम्प्रेषण गरी हामीविरुद्धको भ्रमलाई चिर्न र प्रतिवाद गर्न सकेनौं । जसले गर्दा हामी अलोकप्रिय र नयाँ राम्रा हुन् कि भन्ने भ्रममा जनता परे । 
–गतबर्ष भदौ २३÷२४ को घटना तत्कालीन सरकारलाई वैधानिक बाटोबाट ढाल्न नसकेपछि गरिएको सत्तापलटको षडयन्त्रमूलक घटना हो । फागुन २१ गतेको निर्वाचन विध्वंशबाट गरिएको सत्तापलटलाई वैधानिकता दिन र यही परिणाम निकाल्ने निर्णायक अध्याय हो । यो जनताको अभिमत होइन । 
–भदौ २३÷२४ को उपद्रव र फागुन २१ को निर्वाचन अधिनायकवादी, दमनकारी र फाँसीवादी सरकार चलाउन गरिएको थियो । 
–हामी अहिले प्रतिकूल अवस्थामा छौं । हाम्रासामु गम्भीर चुनौतीहरू छन् । तिनको सामना गर्दै सफलता हासिल गर्नु छ । हामीले धक्काबाट देशलाई उठाउनुपर्ने छ ।
–सबै चिजका लागि पार्टी एकताबद्ध हुनुपर्छ । हाम्रा नीति, विचार, सिद्धान्त, कार्यक्रम सही छन् । यिनकै आधारमा पार्टीलाई सशक्तरुपमा अगाडि बढाउनुपर्छ । यिनै सही नीतिका आधारमा पार्टीको उद्देश्य प्राप्त गर्नेगरी पार्टीलाई एकताबद्ध र एकीकृत गर्दै अनुशासित पार्टी बनाउनुपर्छ । 
–पार्टीमा शुद्धीकरण र सुदृढीकरण प्रक्रिया सञ्चालन गर्दै पार्टीलाई गतिशील र जुझारु बनाई अगाडि बढाउनु आजको आवश्यकता हो । अहिलेको अफ्ठ्यारो परिस्थितिमा कमजोर मनस्थिति बनाएर र अरुलाई दोषारोपण गर्ने, दन्तबझान गर्ने काम गर्नुहुँदैन ।  
–यो कार्यक्रम पार्टीलाई वैचारिक, राजनीतिक, सांगठानिक सबै हिसावले एकताबद्ध गर्न आयोजना गरिएको हो । पार्टी सचिवालयको बैठकको निर्णय नै एकताबद्ध पार्टी निर्माण हो । 
–निर्वाचनको समीक्षा गर्दा पार्टी कमिटी र जनताबीच, कार्यकर्ता र जनताबीच कहाँ कमी रह्यो, हामीविरुद्धका भ्रम किन चिर्न सकिएन जस्ता विषयमा समीक्षा हुने छ  । कतिपय मान्छेले नेतृत्वका विषयमा गलत प्रचार गरिरहेको सुनिन्छ, सचिवालयको त्यस्तो निर्णय होइन, तपाईंहरू भ्रममा नपर्नुहोला । पार्टीलाई कमजोर पार्ने षडयन्त्रको उपज हो यो । 
–सिद्धान्त, नीति, विचार र संगठनको हिसावले पार्टी मजबुत छ । सिथिल भएका कमिटी र व्यक्तिहरूसँग कुरा गरेर कमिटीहरू पुनर्गठन गर्ने छौं । 
–अहिलेको सम्पूर्ण प्रयास पार्टीलाई एकताबद्ध गरेर लैजाने हो । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरा प्राकृतिक नियम जस्तै हो । यो हुँदै जाने कुरा हो । 
–हामी सिद्धिएका छैनौं, कमजोर र घाइते भएका हौं, फेरि उठ्छौं । पार्टीको स्थापनाकालदेखि नै नेताहरूले गल्ती गर्दै आए, पटक पटक कार्यकर्ताले पार्टी जोगाउँदै आएका हुन् । अहिले पनि अत्यन्त जिम्मेवारीबोधका साथ आन्दोलनलाई सफल बनाउने काम हामीसबैको काँधमा छ । 
– पार्टी नीति र विधिका आधारमा चल्नुपर्छ, पार्टी एकतालाई जोगाएर अगाडि बढ्नुपर्छ ।

निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलन गरी प्रतिवेदन तयार गर्न पार्टीले उपाध्यक्ष रामबहादुर थापा ‘बादलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले सबै प्रदेशमा सुझाव सङ्कलनको कार्यतालिका बनाएको छ । सोही बमोजिम आज कोशी प्रदेश कमिटीको व्यवस्थापनमा विराटनगरमा कोशी प्रदेश स्तरीय कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा उपाध्यक्षहरू बादल, विष्णुुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल लगायत नेताहरूको उपस्थिति रहेको छ ।