२१ जेठ (२०८३), काठमाडौं । नेकपा (एमाले)को ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ बिषयक दुईदिने राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गर्नुभएको कार्यशाला १० बुँदे सङ्कल्प प्रस्ताव पारित गर्दै आज सम्पन्न भयो ।
पार्टीको केन्द्रीय संगठन विभागद्वारा आयोजित पार्टीका प्रदेश र जिल्ला इन्चार्जको जिम्मेवारीमा रहनुभएका केन्द्रीय सदस्यहरू, प्रदेश र जिल्ला कमिटीका अध्यक्ष तथा संगठन विभागका प्रमुखहरू, जनसंगठनका अध्यक्षहरू लगायतको सहभागिता रहेको कार्यशालामा सदस्यता नवीकरण तथा विस्तार लगायत पार्टी निर्माणका विभिन्न विषयहरूमा समूहगत रूपमा घनीभूत छलफल गरी सुझावहरू प्रस्तुत गरिएको थियो ।
कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई आफूले गम्भीरताका साथ लिएको र कठिन परिस्थितिमा पनि पार्टीलाई अगाडि बढाउने सङ्कल्प गरेको बताउनुभयो । अध्यक्ष ओलीले अहिलेको परिस्थितिमा पार्टीभित्र बलियो र व्यापक एकता आवश्यक रहेकोमा जोड दिनुभयो ।
उद्घाटन सत्रमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संगठनात्मक जीवनमा भोगेका चुनौतीलाई सामूहिक रुपमा किनारा लगाउनु सबै सदस्यको दायित्व भएको बताउनुभयो । उहाँले पार्टी सदस्यता प्राप्ती र नवीकरण केवल एउटा सदस्यतामात्र नभएर पार्टी सदस्य हुनुलाई एउटा राजनीति, विचार र जिम्मेवारी प्राप्तिका रुपमा बुझ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यशालामा पार्टीका सचिव तथा केन्द्रीय संगठन विभागका प्रमुख भानुभक्त ढकालले पार्टी पुनर्जागरण, संगठन शुद्धिकरण तथा सुदृढीकरण र स्थानीय निर्वाचन केन्द्रित कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यशालामा सहभागीहरूबीच उक्त कार्यपत्र र संगठन विभागद्वारा प्रस्तुत पार्टी निर्माण सम्बन्धी विभिन्न प्रश्नावलीका आधारमा समूहगत छलफल भएको थियो ।
कार्यशालाको दोस्रो दिन प्रस्तुत कार्यपत्र र आधारपत्रमाथि समूहगत छलफल र प्रस्तुतिपछि कार्यशालालाई सम्बोधन गर्दै पार्टीका महासचिव शंकर पोखरेलले पार्टी निर्माणको मुख्य शक्तिनै कार्यशालामा सहभागी रहेकाले कार्यशालाले निकालेका निष्कर्ष र प्राप्त सुझावहरूलाई पार्टीले नीतिमा बदलेर अगाडि बढ्ने बताउनुभयो ।
महासचिव पोखरेलले पार्टीमा कमिटी प्रणालीलाई बलियो बनाउनुपर्ने अहिलेको महत्वपूर्ण काम भएकोमा जोड दिँदै पार्टीप्रति निष्ठा र विश्वास गुमाएका सदस्यहरू पार्टीमा रहनुको कुनै अर्थ नरहने हुुँदा सदस्यता नवीकरण र विस्तार गर्दा यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सन्दर्भमा विगतमा विभिन्न अभियान र कार्यक्रम अगाडि बढाइए पनि ती प्रभावकारी हुन नसकेको बताउँदै पार्टी कामलाई प्रवासी नेपाली, भूमिहीन सुकुम्वासी, युवा र शहरीया मध्यम बर्गमा व्यवस्थित ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
महासचिव पोखरेलले पार्टी र जनताबीचको सम्बन्ध टुटेको बताउँदै जनतालाई विश्वासमा लिएर काम गर्न उनीहरूको भावना बुझ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
उहाँले पार्टीको कार्यदिशाका साथै नेताकार्यकर्ताको कार्यशैली, जीवनशैली, आचरण र जनतासंगको व्यवहार लगायत धेरै हिसावले सिङ्गो पार्टीपङ्ती बदलिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
महासचिव पोखरेलले पार्टीविरूद्ध केहीबर्षयता चौतर्फी आक्रमण रहे पनि पार्टी पराजयको अहिलेको अवस्थामा पुग्नुमा आन्तरिक कमजोरीहरू पनि रहेको कुरालाई स्वीकार्नुपर्ने र सुधारको सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीलाई फेरि राष्ट्रिय राजनीतिको मियोको रुपमा र भविष्यको समाजवाद निर्माणको निर्णायक शक्तिका रुपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यशाला समापन गर्दै पार्टीका सचिव तथा केन्द्रीय संगठन विभागका प्रमुख भानुभक्त ढकालले यस कार्यकालमा पार्टीका कमिटीहरूको राजनीतिक अडिट गर्नेे काम हुने बताउनुभयो ।
पार्टीको सदस्यता नवीकरणको काम निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उहाँले सदस्यता नवीकरण नगर्नेहरू आगामी साउनमहिनादेखि पार्टी कमिटीको जिम्मेवारीबाट स्वतः मुक्त हुने परिस्थितिबारे ध्यानाकर्षण गराउनुभयो ।
सचिव ढकालले कार्यशालामा उठेका समग्र पक्षहरू पार्टीलाई गति दिने सन्दर्भमा महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यशालामा पार्टीका उपाध्यक्षहरू पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिवहरू योगेश भट्टराई, रघुवीर महासेठ, सचिवहरू, आयोगका अध्यक्षहरू, पूर्व पदाधिकारीहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यशालामा केन्द्रीय सदस्य माधव ढुङ्गेल र आरसी लामिछानेले सहजीकरण गर्नुभएको थियो ।
कार्यशालाले पारित गरेको सङ्कल्प प्रस्तावमा संगठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब अगाडि बढाउन, एक संगठित सदस्य बराबर न्यूनतम तीन नयाँ पार्टी सदस्य तयार गर्ने, ‘ठीक समय एमाले समय’ भन्ने नारालाई यथार्थमा रूपान्तरित गर्न हरेक कार्यक्रम तोकिएको समयमा आरम्भ गर्ने, विज्ञान तथा प्रविधिको क्रान्ति र सामाजिक सञ्जालको प्रयोगमा आफ्नो सक्रिय उपस्थिति जनाउँदै पार्टी जीवनलाई डिजिटल क्रान्तिमा रूपान्तरित गर्ने, सदस्यता नवीकरणको कामलाई अविलम्ब सम्पन्न गरी टोलदेखि वडा, पालिका, जिल्ला, प्रदेश हुँदै सिङ्गो पार्टीलाई पुनर्जागृत गर्ने लगायत रहेका छन् ।
पारित सङ्कल्प प्रस्ताव–
१.यो कार्यशाला पार्टीको सङ्गठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब अगाडि बढाउने घोषणा गर्दछ ।
२.यो कार्यशालामा १ सङ्गठित सदस्यले न्यूनतम ३ नयाँ पार्टी सदस्य तयार गर्ने सङ्कल्प गर्दछ ।
३.यो कार्यशाला गत प्रतिनिधिसभाको निर्वाचनमा मत परिवर्तन गरेका मतदाताहरूलाई पुनः पार्टीमा सक्रिय हुन आह्वान गर्दछ ।
४.यो कार्यशाला ‘ठीक समय एमाले समय’ भन्ने नारालाई यथार्थमा रूपान्तरित गर्न हरेक कार्यक्रम तोकिएको समयमा आरम्भ गर्ने सङ्कल्प गर्दछ ।
५.यो कार्यशाला विज्ञान तथा प्रविधिको क्रान्ति र सामाजिक सञ्जालको प्रयोगमा आफ्नो सक्रिय उपस्थिति जनाउँदै पार्टी जीवनलाई डिजिटल क्रान्तिमा रूपान्तरित गर्ने सङ्कल्प गर्दछ ।
६.यो कार्यशाला सदस्यता नवीकरणको कामलाई अविलम्ब सम्पन्न गरी टोलदेखि वडा, पालिका, जिल्ला, प्रदेश हुँदै सिङ्गो पार्टीलाई पुनर्जागृत गर्ने सङ्कल्प गर्दछ ।
७.यो कार्यशाला पार्टी आबद्ध जनसङ्गठनहरूलाई आफ्नो समुदायका मुद्दाहरूको नेता सङ्गठन बनाउने र साङ्गठनिक रूपमा केन्द्रदेखि आधारसम्म पुनर्गठन गर्न आवश्यक समन्वय गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।
८.नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरी पार्टी आबद्ध परिवारका छोराछोरीहरूको सम्मेलन सबै कमिटीले आयोजना गर्ने घोषणा गर्दछ ।
९.यो कार्यशाला केन्द्रीय सम्पर्क समन्वय समिति र यस मातहतको संरचनालाई उच्च महत्वका साथ परिचालन गरी भूगोल र उपत्यकाको पार्टी कामलाई अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने सङ्कल्प गर्दछ ।
१०.यो कार्यशाला हरेक कमिटीले अनलाइन र सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरी प्रवास समितिले सम्पर्कमा राख्ने र स्थानीय कमिटीहरूले पनि प्रवासमा रहेका युवाहरूको समूह निर्माण गरी निरन्तर सम्पर्कमा राख्ने र उनीहरूको अनुभव र विज्ञताको उपयोग गर्ने रणनीति लिने सङ्कल्प गर्दछ ।