१९ जेठ (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काठमाडौंमा आवश्यक पर्दा कम्तीमा पाँच हजार जनालाई चाहेको बेला उभ्याउनसक्ने आधार तत्काल तयार गर्न जनसंगठनका इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिनुभएको छ ।
पार्टी केन्द्रीय कार्र्यालय च्यासलमा सोमबार बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन तथा संगठनलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
महासचिव पोखरेलले सङ्कटका बेला संगठन र कार्यकर्तासँगको सम्पर्कलाई थप सघन बनाउनुपर्ने बताउनुभयो । उहाँले नेतृत्वको वास्तविक क्षमता र खुबी सङ्कटका समयमा नै परीक्षण हुने उल्लेख गर्दै चुनौतीपूर्ण परिस्थितिमा धैर्यता, एकता र स्पष्ट दृष्टिकोणका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– जति बेला सङ्कट गहिरिन्छ, त्यति बेला कार्यकर्तालाई सम्पर्कमा राख्ने कुरा अझ महत्वपूर्ण हुन्छ । नेतृत्वको खुबी र क्षमता पनि सङ्कटमै देखिन्छ । सङ्कटका बेला हतारमा गरिने निर्णयले दुर्घटनातर्फ पुर्याउन सक्छ । त्यसैले धैर्यता र एकता कायम राखेर अघि बढ्नुपर्छ ।
पार्टीभित्र समस्या रहेको भन्दै निराशा फैलाउनेभन्दा समाधान खोज्ने संस्कृतिको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । तलका समस्या माथिसम्म नपुर्याउने र माथिका समस्या मात्र देखाउने प्रवृत्ति संगठनका लागि हितकर नभएको बताउँदै उहाँले पार्टीमा समस्या छ कि छैन भन्नेभन्दा पनि त्यसको समाधान कसरी गर्ने भन्ने विषय महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।
महासचिव पोखरेलले पार्टीमाथि जनताको भरोसा र सम्बन्धलाई समग्र रूपमा विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँका अनुसार पार्टीले जनतासँगको सम्बन्धलाई निरन्तर बलियो बनाउन नसके संगठनात्मक चुनौतीहरू थप जटिल बन्न सक्छन् ।
हालैको निर्वाचन परिणामबारे चर्चा गर्दै उहाँले पार्टीपङ्ंक्तिबाट प्राप्त रिपोर्ट र बुझाइ निर्वाचनको दुई दिनअघिसम्म उत्साहजनक रहेको भए पनि परिणाम अप्रत्याशित र अकल्पनीय रूपमा आएको बताउनुभयो । उहाँले निर्वाचन परिणामबाट पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– हामी जनतासँग अपिल गर्ने ठाउँमा मात्र सीमित भयौं । जनतासँगको हाम्रो सम्बन्ध कमजोर बन्न पुगेको छ । जनताले हामीलाई विश्वास नगरेका होइनन् । उनीहरूले अहिलेका लागि घण्टीमा मतदान गरेर हामीलाई सबक सिकाउने प्रयास गरेका हुन्, भविष्यमा आवश्यक पर्दा चाहिने शक्ति एमाले नै हो भन्ने बुझाइ जनतामा अझै कायम छ ।
उहाँले पार्टीको सांगठनिक जीवनलाई व्यवस्थित र गतिशील बनाउन सदस्यता नवीकरण अभियानलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न निर्देशन दिनुभयो । पार्टी सदस्यताको नियमित नवीकरणले संगठनलाई चलायमान र अनुशासित बनाउने उहाँको भनाइ थियो ।
जनसंगठनहरूको भूमिकाबारे चर्चा गर्दै महासचिव पोखरेलले जनसंगठनहरूले आफ्ना–आफ्ना समुदायको हितका लागि काम गर्नुपर्ने र सदस्यता विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । समुदायमै पुगेर नयाँ सदस्यलाई संगठित गर्न तथा जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्न उहाँले विशेष आग्रह गर्नुभयो ।
सम्बोधनका क्रममा महासचिव पोखरेलले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिको पनि आलोचना गर्नुभयो । उहाँले उक्त अभिव्यक्तिलाई घातक, आपत्तिजनक तथा नेपालको भू–राजनीतिक संवेदनशीलताविपरीत रहेको टिप्पणी गर्नुभयो । यस्ता अभिव्यक्तिले नेपालको राष्ट्रिय हित र भविष्यमा समेत नकारात्मक प्रभाव पार्न सक्ने उहाँको भनाइ थियो ।
महासचिव पोखरेलले जनसंगठनहरूलाई प्रधानमन्त्रीको अभिव्यक्तिबारे जनतालाई सुसूचित गराउन र त्यसको राजनीतिक प्रतिवाद तथा भण्डाफोरमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो । साथै भूमिहीन, असहाय तथा विपन्न समुदायका जनताको हितमा काम गर्न र जनविरोधी नीति तथा निर्णयको विरोध गर्न पनि निर्देशन दिनुभयो ।
बैठकमा पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले संयन्त्रमार्फत सम्पन्न कार्यहरूको समीक्षा गर्दै जनसंगठनहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले जनसंगठनहरूलाई संगठन सुदृढीकरण, सदस्यता विस्तार र जनसम्पर्क अभियानलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
सोही अवसरमा ढकालले जनसंगठन समन्वय संयन्त्रको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य विशाल भट्टराईलाई हस्तान्तरण गर्नुभएको थियो । जनसंगठन समन्वय संयन्त्र संयोजकको नयाँ जिम्मेवारी ग्रहण गर्दै भट्टराईले काम नगर्नेहरू लोकप्रिय र काम गर्नेहरू अलोकप्रिय बन्ने वातावरण बन्न नदिने बताउनुभयो । बैठकले जनसंगठनहरूको सक्रियता तथा संगठनात्मक भूमिका प्रभावकारी रूपमा निर्वाह गरेको भन्दै निवर्तमान प्रमुख ढकाललाई धन्यवाद ज्ञापन गरेको जनाएको छ ।