२९ वैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा होइन, सङ्कल्पमा बदल्नुपर्ने बताउनुभएको छ ।
जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसको तयारीका सन्दर्भमा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले संगठनले हारबाट सिकेर अझ सशक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीले नियमित रूपमा बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको स्थानमा स्मृति दिवस मनाउँदै आएको उल्लेख गर्दै यस वर्ष पनि देशभर विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्न पार्टी कार्यालयले सर्कुलर जारी गरिसकेको उहाँले जानकारी गराउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– निर्वाचनमा हारको पीडा नभए माथि उठ्न सकिँदैन ।
हारलाई निराशामा बदल्न नदिन पार्टी कमिटी र जनसंगठनहरूलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो– हरेकले फेरि जित्छन्, त्यसका लागि सङ्कल्प आवश्यक छ ।
पछिल्लो निर्वाचन कुनै एक दलको मात्र हार नभई मुलधारका राजनीतिक शक्तिहरूका लागि चुनौती भएको धारणा महासचिव पोखरेलले राख्नुभयो ।
उहाँले पार्टी जीवनमा विभिन्न तरङ्ग र चिन्ता स्वाभाविक हुने उल्लेख गर्दै पार्टी कमिटी र जनसंगठनहरूलाई नियमित गतिविधिमा केन्द्रित हुन आग्रह गर्नुभयो । महासचिव पोखरेलले निराशालाई आशामा बदल्ने जिम्मेवारी संगठनको भएको स्पष्ट पार्नुभयो ।
पार्टीभित्रका विषय बाहिर छलफल गर्दा समाधानभन्दा बढी निराशा बढ्ने भन्दै आवश्यक सुझावहरू पार्टी संरचनाभित्रै दिनुपर्नेमा उहाँले जोड दिनुुभयो । स्मृति कार्यक्रममार्फत जाने सन्देश महत्वपूर्ण हुने भएकाले सबै तहका संगठनलाई रचनात्मक गतिविधिमा केन्द्रित हुन महासचिव पोखरेलले निर्देशन समेत दिनुभयो ।
बैठकमा पार्टीका सचिव तथा जनसंगठन समन्वय संयोजक भानुभक्त ढकाल, पार्टी सचिव तथा राजधानी विशेष प्रदेश इन्चार्ज डा. राजन भट्टराई, विभिन्न जनसंगठनका अध्यक्षहरू, राजधानीका पार्टी कमिटी तथा सम्पर्क कमिटीका अध्यक्षहरूको सहभागिता रहेको थियो ।