detail-img

पार्टी सम्बद्ध प्रतिष्ठानहरू पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्छः प्रधानमन्त्री 

मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीद्वारा सपथ ग्रहण
२६ साउन (२०८२), ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीलाई आज सपथ ग्रहण गराउनुभयो । 
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आयोजित सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहनुभएका अध्यक्ष ओलीले पार्टी सम्बद्ध प्रतिष्ठानहरू व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
उहाँले स्थापित नेताको सम्मानमा खोलिएका  र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरू ठगी खाने भाँडो हुन नहुने स्पष्ट गर्नुभयो । 
‘मदन–आश्रित स्मृति प्रतिष्ठान तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछिको शोकको घडीमा जनताको बहुललीय जनवाद (जबज)को वैचारिकतालाई अगाडि बढाउन २०५० जेठ ९ गतेको पार्टी निर्णयबाट खोलिएको हो’, अध्यक्ष ओलीले भन्नुभयो– पछि पार्टीले मदन जयन्ती मनाउने सन्दर्भमा पनि पर्याप्त ध्यान नदिएको अवस्थामा व्यक्तिगत आधारमा मदन भण्डारी फाउण्डेशन खोलिएको थियो । अहिले फाउण्डेशनका गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको छ । यस्ता संस्थाहरू पार्टीसँग निष्ठावान हुनुपर्छ । पार्टी हित विपरीत प्रयोग हुनुहुँदैन ।
उहाँले सामाजिक अध्ययन, व्यक्तिको गुणवत्ता, निष्ठा र ज्ञानको विकासका साथै मानवीय चेतना र अनुशासन वृद्धिमा काम गर्न प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो । 
प्रतिष्ठानका तत्कालीन अध्यक्ष प्रदीप नेपालको गत वैशाख २३ गते निधन भएकाले प्रतिष्ठानको यही साउन २३ गतेको ३१औँ साधारणसभाले नेकपा (एमाले)का उपमहासचिव ज्ञवालीलाई सर्वसम्मतरूपमा अध्यक्ष निर्वाचित गरेको थियो ।
सपथ ग्रहणपछि प्रतिबद्धता मन्तव्य राख्नुहुँदै प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष ज्ञवालीले प्रतिष्ठानले विचार र रूपान्तरणका लागि काम गर्ने छ भन्नुभयो । 
उहाँले प्रतिष्ठानले जननेता मदन भण्डारीका विचार र योगदन तथा जीवराज आश्रितका योगदानलाई समाजका स्थापित गर्ने विभिन्न कामका साथ नौवटा विधामा मध्यमस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको जानकारी गराउनुभयो । 
पार्टीका उपमहासचिव तथा केन्द्रीय स्कुल विभागको प्रमुखको जिम्मेवारीमा समेत रहनुभएका अध्यक्ष ज्ञवालीले अब प्रतिष्ठानमा नियमित रूपमा जबज सञ्चालन गरी पार्टीका उत्तराधिकारी नेताकार्यकर्ता उत्पादन गर्ने, श्रम बजारको सर्भेक्षण गरेर थप प्राविधिक विषयमा कक्षा सञ्चालन गर्ने जस्ता कामहरू गरिने योजना सुनाउनुभयो । 
उहाँले प्रतिष्ठान स्थापना र आजको अवस्थासम्म ल्याइपुर्याउन योगदान गर्नुहुने प्रतिष्ठानका संस्थापक अध्यक्ष बाचस्पति देवकोटा, भरतमोहन अधिकारी, अष्टलक्ष्मी शाक्य, प्रदीप नेपाल लगायत अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभयो । 
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष रामेश्वर फुयाँलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेताहरू अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहोरा, केशव वडाल, बाचस्पति देवकोटा लगायत नेताहरूको उपस्थिति रहेको थियो ।