२३ साउन (२०८२), धनगढी । नेकपा (एमाले)का सचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व वर्तमान राजनीतिक परिस्थितिको आवश्यकता भएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव भट्टले अध्यक्ष ओलीमा अद्भुत क्षमता रहेको बताउनुभयो ।
अध्यक्ष ओलीलाई चाँडै बुझ्न कठिन भए पनि उहाँले चालेका कदमको अर्थ पछि मात्र स्पष्ट हुने बताउँदै सचिव भट्टले भन्नुभयो– अध्यक्ष ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्तिपूजाबाट प्रेरित भएर होइन ।
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहनुभएका भट्टले एमाले वैचारिक र सैद्धान्तिक रूपमा मुलुकको कम्युनिष्ट आन्दोलनको केन्द्र भएको र यो सम्भव बनाउने नेतृत्व अध्यक्ष ओलीले गर्नुभएको धारणा राख्नुभयो ।
अध्यक्ष ओलीजस्तो खट्ने, सपना देख्ने र सक्रिय रहने नेता नेपालमा नभएको उहाँको भनाइ छ ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका इञ्चार्ज भानुभक्त ढकालले पार्टीका आन्तरिक विषय सार्वजनिक रूपमा उठाउने अभ्यास पार्टी अनुशासन विपरीत भएको बताउनुभयो ।
उहाँले पार्टीको आलोचना गर्ने अधिकार भए पनि आफ्ना कुराहरू सम्बन्धित ठाउँमा राखिनुपर्ने स्पष्ट पार्नुभयो ।
नेता ढकालले भन्नुभयो– केपी ओली विनाको एमाले बनाऊँ भन्न पाइन्छ, म बन्छु, उहाँभन्दा राम्रो चलाउँछु भन्न पनि पाइन्छ तर भन्ने कुरा ठाउँमा भन्नुपर्छ ।
‘पार्टीमा दुई कार्यकालको सीमा र ७० वर्षको उमेर हद हटाउने निर्णय कुनै व्यक्ति विशेषका लागि नभई पार्टीको सामूहिक सोचविचारको उपज हो’, उहाँले भन्नुभयो– यो निर्णय सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीको सोचविचारबाट भएको हो । महाधिवेशनमा प्रतिस्पर्धा गर्न छुट त सबैलाई छ तर विधि र विधान विपरीत हल्ला गर्दै हिँड्नु अनुचित हो ।
पार्टीले अगाडि सारेको मिसन–२०८४ को कमाण्ड अध्यक्ष केपी शर्मा ओली नै रहने नेता ढकालले स्पष्ट गर्नुभयो ।
पार्टीका पोलिटब्युरो सदस्य निरुदेवी पालले ‘केपी ओलीविनाको एमाले र एमालेविनाको समृद्ध नेपाल’ असम्भव रहेको स्पष्ट पार्नुभयो । उहाँले एमालेविना देशको समृद्धि कल्पनाभन्दा बाहिरको विषय भएको बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले) सुदूर पश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जेसी, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।