उत्पीडित जातीय मुुक्ति समाजको महाधिवेशन
-एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नुु अत्यावश्यक
-अराजकतावाद सदैव हाम्रो दुुष्मन हो
-जान्नेलाई छान्ने भन्नेहरू जनतालाई झुक्क्याउने काममा
-राजतन्त्रको बेलामा खान पल्केकाहरू अहिले भ्रम फिँजाउने काममा
५ जेठ (२०८२), काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न उत्पीडित तथा जातीय समुदायलाई आग्रह गर्नुभएको छ ।
नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तिब्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नु अत्यावश्यक भएको बताउनुभयोे ।
‘समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतयाः कुनै एक दलको बहुमत आउन गाह्रो छ तर हामीले संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रूपमा विकसित गर्न हामी लाग्नुपर्छ’, अध्यक्ष ओलीले भन्नुभयो– हामी व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिरहेका छौँ । अराजकतावादीहरूले यस प्रयासमा भाँजो हाल्न सक्छन् । अराजकतावाद सदैव हाम्रो दुष्मन हो । विपक्षीहरूले जनतामा हाम्राविरुद्ध भ्रम फिँजाउन खोजेका छन् । त्यस्तो भ्रम चिर्न हामी सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेछ ।
प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि आग्रह गर्नुभयो ।
ठूला पार्टीमाथि शासन गर्न नपाउँदा ३२ सिटेहरूलाई छटपटी
उद्घाटन समारोहमा सम्बोधन गर्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ३२ सिटेहरूले ठूला पार्टीमाथि शासन गर्न नपाउँदा अहिले छटपटिएको बताउनुभयो । अहिले सरकार र एमाले माथिको प्रहार त्यसैको उपज भएको उहाँले स्पष्ट गर्नुभयो ।
महासचिव पोखरेलले नेकपा (एमाले)ले उपप्रधानमन्त्रीदेखि मन्त्री र राज्यमन्त्री बनाइदिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता पनि एमालेविरुद्ध खनिएका बताउनुभयो । आफ्नो कर्मको परिणापस्वरुप रास्वपा अध्यक्ष रवि लामिछाने जेल परेको बताउँदै रास्वपा कार्यकर्ता एमालेको विरुद्ध खनिनु बेकार भएको उहाँले स्पष्ट पार्नुभयो ।
जान्नेलाई छान्ने भन्नेहरू जनतालाई झुक्क्याउने काममा लागेको र आफ्नो भविष्य अन्धकार हुने भएपछि रास्वपाका नेता कार्यकर्ताहरूले एमालेमाथि प्रहार गरिरहेको महासचिव पोखरेलको भनाइ छ ।
राप्रपामा पनि त्यस्तै चरित्र रहेको उहाँले बताउनुभयो । सांसद र मन्त्री बन्न एमाले चाहिने तर त्यो नभएपछि एमाले कामै नलाग्ने भन्दै उनीहरू हिँडेको महासचिव पोखरेलले बताउनुभयो । अहिले दुई ठूला पार्टी मिलेपछि आफ्नो दिन नआउने भयो भनेर साना पार्टीहरू एमालेको विरुद्ध खनिएको उहाँको विश्लेषण छ ।
महासचिव पोखरेलले पार्टीमाथि प्रहार भयो भनेर खुट्टा कमाउने होइन, आँट र हिम्मतका साथ खुट्टा टेक्नुपर्ने बताउनुभयो । एमालेले समाजलाई मर्यादित दिशामा लैजानको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
हिजो राजतन्त्रको बेलामा खान पल्केकाहरू अहिले लोकतन्त्रले केही दिएन भनेर भ्रम फिँजाउने काममा लागेको महासचिव पोखरेलले बताउनुभयो । पञ्चायतमा भएको विकास र लोकतन्त्र प्राप्तिपछि भएको विकासको तुलना गरेर हेर्न उहाँले आग्रह गर्नुभयो ।
नेकपा (एमाले)का सामु ठूला ठूला सङ्कट आउँदा पनि एमालेले ती सबै सङ्कटको सामना गर्दै आएको उहाँले स्मरण गराउनुभयो । सबै खालका सङ्कट सामना गर्दै नेकपा (एमाले) बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै आएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।
समाज विखण्डनको प्रयास भइरहेको बताउँदै उहाँले नेकपा एमाले त्यसका विरुद्ध स्पष्टताका साथ उभिनुपर्नेमा उहाँले जोड दिनुभयो । हरेक पटक एमाले सत्तामा आएपछि देश विकासको गतिमा अघि बढेको तर पार्टीले गरेको कामलाई जनताको बीचमा लैजान नसक्दा एमाले पछाडि परेको महासचिव पोखरेलले बताउनुभयो ।
जबसम्म २०८४ सालको निर्वाचन हुँदैन तबसम्म दुई ठूला पार्टीबीचको गठबन्धन नटुट्ने र नटुटाउन दुवै दलका नेता प्रतिबद्ध रहेका उहाँले सुनाउनुभयो ।
समाजका अध्यक्ष मनोहर पौडेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पार्टीका सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल लगायत नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
महाधिवेशन अन्तर्गत आजै बन्दसत्र शुरू भएको छ । बन्दसत्र सञ्चालनका लागि पार्टीका पोलिटव्यूरो सदस्य तथा समाजका इन्चार्ज जीतु गौतमको अध्यक्षतामा पाँच सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । अध्यक्षमण्डलका सदस्यहरूमा गोविन्द नेपाली, प्रभु हजारा पासवान, टेकू नेपाली र नरेश विश्वकर्मा रहनुभएको छ ।
महाधिवेशनमा ७९९ जना प्रतिनिधिहरू सहभागी छन् । आजदेखि तीनदिनसम्म सञ्चालन हुने महाधिवेशनले १५१ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गर्ने छ ।