detail-img

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घको हानीनोक्सानी कोषका कार्यकारी निर्देशकद्वारा शिष्टाचार भेट

४ जेठ (२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको हानीनोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज)का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले आज शिष्टाचार भेट गर्नुभएको छ । 
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागी भएकामा धन्यवाद दिँदै हिमाल र वातावरणको रक्षा हुन नसके मानवीय जीवनमा असुरक्षा हुने भएकाले यसमा विश्व समुदायको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो । 
कतिपय ठूला धनी मुलुक पेरिस सम्झौताबाट पछाडि हट्न खोजेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालमा रहेको सगरमाथा र अन्य हिमालहरूको रक्षा नेपालका साथै विश्वका लागि उत्तिकै महत्वको सवाल भएको बताउनुुभयो । कार्यकारी निर्देशक  डाइओङले सगरमाथा संवादजस्तो महत्वपूर्ण सम्मेलन आयोजनाका लागि नेपाललाई बधाई दिँदै कोषका तर्फबाट आगामी दिनमा रकम परिचालन गर्दा नेपालजस्ता मुलुकलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
भेटका अवसरमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल र वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाललगायत सहभागी हुनुहुन्थ्यो । 
कोप–२७ को निर्णयका आधारमा जलवायु परिवर्तनको मार खेपिरहेका विकासोन्मुख मुलुकलाई सहयोग गर्न उक्त कोष खडा गरिएको हो । कोषको बोर्डमा पेरिस सम्झौतामा हस्ताक्षरकर्ता मुलुकबाट २६, विकसित  मुलुकबाट १२ र विकासोन्मुख मुलुकबाट १४ सदस्य रहनेछन् । अल्पविकसित मुलुकका तर्फबाट नेपालका वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. ढकाल बोर्डको आमन्त्रित सदस्य रहनुभएको छ ।