detail-img

देशलाई सही दिशामा लैजान एमालेको नीति राष्ट्रको नीति बन्नुपर्छः महासचिव पोखरेल 

-वृहस्पतिका मान्यता सही प्रमाणित भए जस्तै एमालेले अघि सारेका विचार सही प्रमाणित हुने

-नेपाली समाज राजाकै कारण पछाडि परेको हो भन्ने कुरा बुझ्न आवश्यक छ

३ जेठ (२०८२), काठमाडौं  । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सञ्चार प्रविधिको दुरुपयोग गर्दै राजनीतिलाई गलत दिशामा लैजाने प्रयास भइरहेको बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय शिक्षा विभागद्वारा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई शनिबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीति सही मार्गलाई स्थापति गर्ने कुरामा सङ्गठित रूपमा लाग्नुपर्नेमा जोड दिनुभयो । 
उहाँले देशलाई सही दिशामा लैजान एमालेको नीति राष्ट्रको नीति बन्नुपर्नेमा जोड दिँदै त्यसका लागि एमाले एकल बहुमतसहित सरकारमा जानुपर्ने धारणा राख्नुभयो । 
एक्लो वृहस्पति झुठो हुन्छ भन्ने गरिए पनि समय क्रममा वृहस्पतिले अघि सार्नु भएका मान्यता सही प्रमाणित भए जस्तै नेकपा (एमाले)ले अघि सारेका विचार पनि सही प्रमाणित हुने महासचिव पोखरेलको विश्वास छ । उहाँले भाइरल बन्नका लागि गरिएका प्रचार धेरै समय नटिक्ने र भिडका पछाडि लाग्नेहरू बिस्तारै सेलाएर जाने बताउनुभयो । 
महासचिव पोखरेलले आजको नयाँ पुस्ताले ठिक र बेठिक छुट्याउन सक्नुपर्ने बताउनुभयो । राजावादी र मण्डलेहरू अहिले लोकतन्त्रले के दियो ? भन्ने प्रचारमा लागेको बताउँदै उहाँले भन्नुभयो– नेपाली समाज राजाकै कारण पछाडि परेको हो भन्ने कुरा बुझ्न आवश्यक छ । नेपालका पुराना राजनीतिक दलले स्वतन्त्रताको लागि र लोकतन्त्रको लागि लडाइँ नलडेका भए अहिले पनि मुलुक अँध्यारोमा नै हुने महासचिव पोखरेलले बताउनुभयो । सशस्त्र आन्दोलनको नाममा १० बर्षसम्म राजा र माओवादी मिलेर कांग्रेस र एमालेका नेता कार्यकर्तालाई कुट्ने र काट्ने काम गरेका उहाँको भनाइ छ । 
नेपालमा नेपाली राजनीतिक दलले काम नै गर्न नपाएको र नयाँ संविधान बनेपछि बल्ल नेपालका राजनीतिक दलले काम गर्न पाएका हुँदा समग्र राजाको शासनकाल र लोकतन्त्र आएपछि भएका काम तुलना गरेर हेर्न महासचिव पोखरेलले आग्रह गर्नुभयो ।
नेकपा (एमाले) नेपालका राजनीतिक दलमध्ये पनि सबैभन्दा अग्रणी दल रहेको र अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा लोकतान्त्रिक संविधान बनेको, देश लोडसेडिङमुक्त भएको, कहिल्यै पनि नाकाबन्दी नलाग्ने वातावरण बनेको, नेपालको आफ्नो सबै भूमि समेटिएको नक्सा सार्वजनिक भएको विगत महासचिव पोखरेलले स्मरण गर्नुभयोे ।
नेपाली भूमि प्राप्त गर्न समय लाग्ने भए पनि दस्ताबेजमा आफ्नो देशको भूमि देशका नक्सामा आएको बताउँदै उहाँले भन्नुभयो–यो मुलुकमा व्यवस्थित सोचका साथ काम गर्ने कुनै पार्टी छ भने त्यो नेकपा (एमाले) हो, जनताका मुर्झाएका सपना जगाउने कुनै पार्टी छ भने त्यो एमाले हो ।
महासचिव पोखरेलले देशलाई सुरुङ मार्गमा प्रवेश गराउने, नदीको पानी डाइभर्ट गरेर तराईका फाँटमा पुर्याउने योजना समेत एमालेले अघि बढाएको बताउनुभयो ।
एमालेले रेलका कुरा गर्दा खिसी गर्नेहरू अहिले रेल चढेर यात्रा गर्न लागेका उहाँले बताउनुभयो । एमालेले पूर्व–पश्चिम रेलको अवधारणा ल्याएको र त्यसका लागि केही समय लाग्ने भए पनि काम अघि बढेको महासचिव पोखरेलले बताउनुभयो ।
जोसँग नवीन सोच छ त्यही अघि बढ्न सक्ने विचार व्यक्त गर्दै नयाँ सोच, मान्यता बोकेर सूचना र प्रविधिको प्रयोग गर्दै अघि बढ्ने हो भने नेपाली युवाले धेरै कुरा देशमा नै गर्न सक्नेमा उहाँले जोड दिनुभयो ।
महासचिव पोखरेलले जननेता मदन भण्डारी भविष्य द्रष्टा भएको र जननेता भण्डारीले देखाएको बाटोमा देश अघि बढेको भए धेरै अगाडि पुगिसक्ने धारणा राख्नुभयो । ‘यदि मदन भण्डारी युरोमा जन्मनुभएको भए उहाँको विचार विश्वव्यापी हुन्थ्यो’, उहाँले भन्नुभयो ।