detail-img

बाढी र डुवानबाट बस्ती तथा संरचनाहरू जोगाउन पूर्व सजगता अपनाउन अन्तरक्रिया

४ जेठ (२०८२), काठमाडौं । बर्षेनी बाढी र डुवानबाट क्षति भइरहने ललितपुरको च्यासलवरिपरिका बस्ती तथा संरचनाहरू जोगाउनका लागि नेकपा (एमाले) केन्द्रीय विपद व्यवस्थापन तथा स्वयम्सेवा विभागले हालै पूर्व तयारी अन्तरक्रिया सम्पन्न गरेको छ । मनोहरा खोला र बाग्मतीमा आउने बाढीका कारण पार्टी केन्द्रीय कार्यालय रहेको च्यासल वरिपरिका बस्तीहरू, पार्टी कार्यालय र अन्य भौतिक संरचनाहरू बर्सेनी डुबानमा पर्दा ठूलो क्षति हुने गरेको छ । आगामी दिनमा त्यस्तो क्षतिबाट जोगिने उपायहरूको खोजी गर्न यस्तो अन्तरक्रिया आयोजना गरिएको हो । 
कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पानीको निकाश हुने गरी बस्ती, कार्यालय र अन्य संरचनाहरू सुरक्षित गर्न तत्कालीन र दीर्घकालीन उपायहरू अपनाउन जरूरी रहेको बताउनुभयो । 
यस बर्ष गतबर्षभन्दा पनि बढी बर्षा हुने पूर्वअनुमान भएको बताउँदै उहाँले सडक र रङ्गशाला जोगाउँदै स्थानीयस्तरमा पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सुरक्षा प्रबन्धका लागि मन्त्रालयबाट प्राविधिक तथा अन्य सहयोग हुने बताउनुभयो । 
विभागका प्रमुख खिमलाल भट्टराईले स्थानीय जनसरोकारलाई सम्बोधन गर्दै आगामी दिनमा कुनै क्षति नहुने उपायको खोजी गर्न यस्तो कार्यक्रम गरिएको जानकारी गराउनुभयो । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले गत बर्षको क्षतिबारे कार्यदल बनाएर प्रतिवेदन तयार भएको उल्लेख गर्दै कार्यक्रममा प्राप्त सुझाव र सल्लाह बमोजिम अघि बढिने बताउनुभयो । 
कार्यक्रममा नेकपा (एमाले)का अन्य नेताहरूसंगै सडक, पुल, बाग्मती सभ्यता लगायत सरोकारवाला निकायका अधिकारी तथा ईञ्जिनियरहरूको सहभागिता रहेको थियो ।