detail-img

कांग्रेसलाई भोट हाल्दै हिड्नेसँग एकता गरेर पार्टी बलियो हुँदैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वामपन्थी भन्नेहरू अहिले पनि कांग्रेसलाई भोट हाल्दै हिँडेको बताउनुभएको छ । 
नेकपा (एमाले) संसदीय दलको सोमबार बसेको नवौं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसलाई भोट हाल्दै हिँड्नेसँग एकता गरेर बलियो पार्टी नबन्ने बताउनुभयो ।
अध्यक्ष ओलीले पार्टी बलियो बनाउन संगठन विस्तार र सुदृढ गर्नुपर्ने बताउनुभयो । सो काममा सिङ्गो पार्टी लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  
अध्यक्ष ओलीले वामपन्थी शक्ति एक ठाउँमा आउन आवश्यक रहेको भए पनि अहिले नै वामपन्थी एकता हुन नसक्ने बताउनुभयो । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने भए पनि कांग्रेसमा भोट हाल्ने कम्युनिष्टलाई जोडेर कम्युनिष्ट पार्टी नबन्ने उहाँले प्रष्ट पार्नुभयो । 
अहिलेको अवस्थामा वामपन्थी शक्ति एक हुँदा मात्रै सरकार नबन्ने र त्यसबाट देश पनि नचल्ने बताउँदै अध्यक्ष ओलीले अहिले राष्ट्रवादी र प्रगतिशील शक्ति एक ठाउँमा उभिनुपर्ने धारणा राख्नुभयो । 
उहाँले भन्नुभयो– अहिले सुशासन र समृद्धिको बाटोतर्फ अघि बढ्ने, नराम्रो काम नगर्ने भनेर प्रतिबद्धता जनाउने राष्ट्रिय शक्तिको एकता आवश्यक छ, आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ । 
कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरामा आफू जानकार भए पनि अहिले त्यो अवस्था नरहेको उहाँले बताउनुभयो । हिजो त्यही महसुस गरेर नेपाल कम्युनिष्ट पार्टी निर्माण गरेको भए पनि त्यो टिक्न नसकेको अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो । नेकपा फुटाउँदा वामपन्थी एकताको आन्दोलन कमजोर भएको उहाँले बताउनुभयो । 
एमाले वाम एकताकै पक्षमा रहेको भए पनि त्यसका लागि सही समय आउनुपर्ने भन्दै अब वामपन्थी शक्ति बिच एकता गर्दा पनि छानेर गर्नुपर्ने उहाँले बताउनुभयो ।  
अध्यक्ष ओलीले माधव नेपालमा दक्षिणपन्थी अवसरवाद मौलाउँदै गएको बताउनुभयो । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउन माधव नेपालको पार्टी कांग्रेसँग मिल्न जानु यसैको परिणाम भएको उहाँले स्पष्ट पार्नुभयो । 
एकीकृत समाजवादीले कम्युनिष्टको साइन बोर्ड राखेर दक्षिणपन्थीलाई सहयोग गरिरहेको भन्दै उसका गतिविधि समाजवादको पक्षधरलाई कमजोर पार्नेतर्फ लक्षित रहेको अध्यक्ष ओलीको भनाइ छ ।  
उहाँले देश ओरालो बाटोमा रहेकाले त्यसबाट जोगाउनु प्रमुख कार्यभार रहेको हुँदा अहिले मन्त्रालयगत र पदगत प्रश्नमा नअलमलिई नयाँ समीकरणलाई बलियो बनाएर जाने कुरा प्रमुख भएको स्पष्ट पार्नुभयो । 
अध्यक्ष ओलीले सांसदहरूलाई कुनै पनि प्रलोभनमा नफस्न  निर्देश गर्नुभयो । गलत क्रियाकलापमा सहभागी भई अप्ठेरोमा परेमा त्यसको जबाफदेही पार्टी नहुने उहाँले स्पष्ट पार्नुभयो ।