detail-img

देश राष्ट्रिय शक्ति निर्माणमा अगाडि बढेको उपनिर्वाचन परिणामको सन्देशः महासचिव पोखरेल 

काठमाडौं । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् सदस्य लोकबहादुर श्रेष्ठको नेतृत्वमा रामेछापको दोरम्बा र सुनापति गाउँपालिकामा क्रियाशील एकसय भन्दा बढी युवा नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । 
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज रामेछाप जिल्ला कमिटी र रामेछाप–काठमाडौं सम्पर्क कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी पृष्ठभूमिका अगुवा कार्यकर्ताहरू एमालेमा प्रवेश गर्नुभएको हो । 
नवप्रवेशी युवा कार्यकर्ताहरूलाई नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, पार्टीका बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला कमिटीका इन्चार्ज गणेश पहाडीले अबीर र खादा लगाएर स्वागत गर्नुभयो । 
नवप्रवेशीहरूलाई स्वागत गर्दै महासचिव शंकर पोखरेलले इलाम र बझाङमा भएका दुई उपनिर्वाचनको परिणाम र युवाहरूको पार्टी प्रवेश सुखद संयोग भएको र निर्वाचन परिणामले बलियो राष्ट्रिय शक्ति बनाउनेतर्फ देश अगाडि बढेको सन्देश दिएको बताउनुभयो । 
देश बनाउनका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको र त्यो सर्वस्वीकार्य राष्ट्रिय शक्ति नेकपा (एमाले) बन्नसक्छ भन्नुहुँदै भर्खर सम्पन्न पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा देशका प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्रीहरू भेला गरेर त्यसका लागि राष्ट्रिय मनोविज्ञान निर्माण गर्न पार्टी पूर्णतः सफल भएको बताउनुभयो । 
महासचिव पोखरेलले युवा विदेश पलायन चिन्ताको विषय भएको बताउँदै युवामा विदेश पलायनको मानसिकता बदलेर राष्ट्र निर्माण लगाउनु आवश्यक छ भन्नुभयो । 
उहाँले देश बनाउनसक्ने दृष्टिकोण, योजना र सामथ्र्य एमालेसँग रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भएको आर्थिक बृद्धिदरले त्यसको पुष्टि गर्ने बताउनुभयो । 
दोरम्बा र सुनापति विगतमा आन्दोलन र बलिदानको भूमिका रूपमा चिनिने स्मरण गर्दै त्यहाँका युवा आज एमालेमा समाहित भएबाट आगामी दिनमा रामेछापका पार्टीको विजय यात्रालाई बल पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नवप्रवेशीहरूलाई योग्यता र क्षमताका आधारमा उचित जिम्मेवारी दिन र पार्टी काममा सक्रिय बनाउन  सम्बन्धित कमिटीका नेताहरूलाई ध्यानाकर्षण गराउनुभयो । 
पार्टी प्रवेशपछि आफ्नो भनाइ राख्नुहुँदै जसपा संघीय परिषद् सदस्य लोकबहादुर श्रेष्ठले अब देशको विकास, सबै खालका समस्याको निकास एमालेले मात्र दिनसक्ने निष्कर्षका साथ एमालेमा समाहित भएको बताउनुभयो । 
एमालेमा प्रवेश गर्नेहरूमा धनबहादुर श्रेष्ठ, गोपालजङ्ग मगर, रेशम श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, प्रज्वल श्रेष्ठ, कुनमाया श्रेष्ठ, तिलकमाया श्रेष्ठ, पूर्ण श्रेष्ठ, चित्रबहादुर श्रेष्ठ, कर्णकुमारी श्रेष्ठ, अजय श्रेष्ठ, छत्रकुमार श्रेष्ठ, पशुपति थापा मगर, सुरेश थापा मगर, जोन राना मगर, हिमाल थापा मगर, सुमन थापा मगर, हिरा थापा मगर, मुना श्रेष्ठ, विदुर श्रेष्ठ, भगवती श्रेष्ठ, पवन श्रेष्ठ, पुष्पलाल श्रृेष्ठ, एकबहादुर श्रृेष्ठ, चेतन श्रेष्ठ, अनिल श्रेष्ठ, स्मार्ट श्रेष्ठ, विशाल प्रधान, शैलेश खड्का, दीपेन्द्र केसी लगायत हुनुहुन्छ । पार्टी प्रवेश गर्नेहरू काभ्रेपलाञ्चोक र सर्लाहीका युवा कार्यकर्ता समेत हुनुहुन्छ ।